जाडो भगाउन प्रहरी र सेनाले आगो बाले

२०७० पुष २७ गते १३:४७ मा प्रकाशित
२७ पुस, महोत्तरी । चिसो अत्यधीक बढेपछि महोत्तरी जिल्लामा नेपाली सेना र सशस्त्र प्रहरीले आगो बाल्ने व्यवस्था गरेका छन् ।
सदरमुकाम जलेश्वरको खैरा चोक, महेन्द्र चोक, शङ्करचोक, नगरपालिका चोक, अस्पताल चोक, बुद्धिजीवी चोक, जिरो माइलचोकलगायतका ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।
त्यस्तै, जिल्लाको भारतीय सीमा नाकामा रहेको प्रमुख व्यापारिक केन्द्र मटिहानी बजारका विभिन्न ठाउँमासमेत नेपाली सेना र सशस्त्र प्रहरीले सर्वसाधारणका लागि आगो बाल्ने व्यवस्था मिलाएको छ ।
लाखौं मानिस दैनिक आउजाउ गर्ने जलेश्वरको करिब १० ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ । नेपाली र भारतीय दुवै देशका मानिसहरू व्यावसायिक उद्देश्यले दिनहूँ जम्मा हुने गरेको मटिहानीमा पनि पाँच/सात ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार सेना र प्रहरीले आफ्नै खर्चबाट जलेश्वर र मटिहानीमा आगो बाल्ने व्यवस्था गरेका हुन् । रासस