कार्यालय प्रमुखलाई टेरेनन् कर्मचारीले

कार्यालय प्रमुखलाई टेरेनन् कर्मचारीले

महोत्तरी समाचारदाता
जलेश्वर, माघ १३ गते । महोत्तरी जिल्लाको स्थानीय विकास अधिकारीलाई निजका मातहतका कर्मचारी गाउँ विकास समितिका सचिवले नटेर्ने गरेको उदाहरण महोत्तरीमा देखापरेको छ ।
महोत्तरी जिल्लाको गोनरपुरा गाउँ विकास समितिका सचिव जिवछ मिश्रलाई स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईले सो गाविसको परिषद सोमबार दिनको १ बजे सोही गाविस भवनमा गराउन आदेश दिएकोमा सचिवले त्यस वमोजिम नगरेपछि यस्तो रहस्य खुलेको हो ।
स्थानीय विकास अधिकारी भट्टराइले सो परिषदको लागि जिल्ला विकास समितिका योजना अधिकृत राधेश्याम गिरीलाई समेत सोमबार गाउँ विकास समितिमा तोकिएकै समयमा पठाइसक्दा पनि सचिव मिश्रको अत्तोपत्तो थिएन । त्यसपछि योजना अधिकृत गिरी र स्थानिय अधिकारी भट्टराइ समेतले पटक पटक सचिव मिश्रलाई फोन सम्पर्क गरेपनि उहाँले उठाउनुभएन र न त उहाँले परिषद गर्न गाविस भवन जानुभएको स्थानीय विकास अधिकारी भट्टराइले वताउनुभयो । गाविस सचिव मिश्र परिषद गराउन नपुगेपछि स्थानीयहरु आक्रोशित भई योजना अधिकृत गिरीलाई नियन्त्रणमा लिएर गाली वेइज्जती गर्नुका साथै उहाँ पनि सचिवसंग मिलेको आरोप लगाएको थियो ।
गाउँका विभिन्न राजनीतिकदलका सभापति र अध्यक्ष सहितले सोमबार साँझ एक विज्ञप्ति जारी गर्नुहुदै सचिव मिश्रलाई कारवाही गर्नुपर्ने माँग गरेको छ ।
एमालेका सुभान नदाफ, नेपाली काँग्रेसका रामविराजी साह, सदभावनाका सत्यनारायण साह, संघीय सदभावनाका शिवचन्द्र साह, नेकपा माओवादीका विनोद मण्डल, रामसपाका अमित मिश्र, नागरिक वडा मञ्चका महेश साह, नेकपा माओवादीका रामवावु पासमान, तमलोपा नेपालका कमलेश यादव, फोरमका राजनारायण यादव, दलित अगुवा मनमोहन पासमान लगायतकाहरुले हस्ताक्षर गरी परिषद गराउन नआएका गाविस सचिव मिश्रलाई कारवाहीको माँग गर्नुभएको छ । स्थानीयहरुले अधिकृतलाई नटेर्ने कर्मचारीलाई कारवाही हुनुपर्ने माँग राख्दै आएपछि स्थानीय विकास अधिकारीले सचिव मिश्रले गराउने परिषदलाई मान्यता नदिने आश्वासन दिनुभएको स्थानीयहरुले वताएका छन् ।
यता अधिकारी भट्टराईलाई यसबारे सोध्दा उहाँले गाविस परिषदमा भाग लिनको लागि आफुले योजना अधिकृत गिरीलाई पठाएको स्विकार्नुहुदै कार्यालयलाई समेत नटेरेका सचिवलाई कारवाही गरिने वताउनुभयो ।
उहाँसंग तपाईकै मातहतका कर्मचारीले टेरेनन् भनेर सोध्दा उहाँले भन्नुभयो, ‘हेर्दै जानुस न्, कसरी नटेर्नेलाई टेर्ने बनाउँछु’ ।
यता सचिव मिश्रलाई परिषदमा किन जानु भएन्् सोध्दा उहाँले आफुले सोमबार परिषद गराइसकेको जानकारी दिनुभयो । उहाँले कार्यालयलाई चार दिन अगाडी नै खबर गरेर सोमबार गोरनपुरा गाउँ विकास समितिको वडानं. ९ हिरदुवामा परिषद सम्पन्न गरेको दावी गर्नुभयो । उहाँले आफुले चार दिन अगाडी नै जिल्ला विकास समितिका खरिदार रामभगत तमोलीलाई परिषदमा सहभागिताको लागि चिठ्ठि दिइसकेको जानकारी दिनुहुदै स्थानीय संघसंस्था, विभिन्न राजनीतिकदलहरु, बलबा इलाका प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, पशु कार्यालय लगायत गरि करिब साढे ३ सय स्थानीयको उपस्थितीमा परिषद सम्पन्न गरेको वताउनुभयो । उहाँले यस वर्ष ६० लाख रुपैयाको बजेट विनियोजन गरेको जानकारी दिनहुदैं सामाजिक सुरक्षा भत्ता, गाविस कार्यक्रम अनुदान, गाविस संचालन अनुदान, आन्तरिक श्रोत लगायतबाट वजेट विनियोजन गरिएको वताउनुभयो ।
सचिव मिश्रले गाउँमा पशु मर्दा सिनो फाल्ने दलित वर्गले सो काम छाडेपछि सो कामको लागि गाउँको चारवटा टोलमा एक–एक वटा गरी ४ वटा ठेला प्रदान गर्ने निर्णयका साथसाथै लक्षित वर्गका लागि समेत कार्यक्रम गर्नेगरी वजेट विनियोजन गरेको दावी गर्नुभयो ।
उहाँले परिषद नगराएको भन्नु गलत भएको र आफुले प्रमुखलाई नटेरेको कुरा पनि गलत भएको वताउनुभयो ।