महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १६ गते । भारतको विहार राज्यमा मदिरामा पूर्ण प्रतिवन्ध लागेपछि अहिले नेपालको सिमानाकामा मदिरा खान भारतीयहरुको चहपहल बढेको देखिएको छ । तर ति चहलपहलमा अबको एक महिनापछि कमी आउने देखिएको छ ।
भारतसंग सिमा जोडिएको महोत्तरी जिल्लाको दशगजा क्षेत्रभित्रका ५ सय मिटरसम्म अव रक्सी पसल राख्न नपाईने सर्वदलिय निर्णय भएपछि दशगजाक्षेत्रमा यसमा चहलपहलमा कमी देखिने युवा पप्पु साहले जानकारी दिनुभयो ।
जिल्लाका उद्योगी, राजनितिकदल र जिल्ला प्रशासन कार्यालय सहितका सुरक्षा निकायहरु विच बुधवार भएको छलफल पछि सो निर्णय गरिएको हो ।
भारतको विहारमा रक्सीमा पुर्ण प्रतिबन्ध लागेको वेला भारतिय ग्राहकहरु नेपालको सिमामा आई रक्सी सेवन गर्ने गरेको र समय समयमा सोहि कारणले विवादहरु सृजना हुन थालेपछि स्थानिय राजनितिक दल र उद्योगीहरुको आग्रहमा प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले सो निर्णय गरेका हुन ।
जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गदै दशगजाको ५ सय मिटरक्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकोले मदिरा पसलहरु एकमहिना भित्र हटाउने अल्टिमेटम दिएको हो । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी गरिएको यो सुचनालाई अवज्ञा गरि रक्सी पसलहरु नहटाइए कडा कानुनी कार्यवाही गर्ने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शम्भुप्रसाद यादवले हस्ताक्षर गर्नुभएको यो सुचनामा एक महिना भित्र मदिरा पसल नहटाइए स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गरिने समेत उल्लेख छ ।
यता, प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले जिल्लाको प्रसिद्ध पडौल स्थानको वरिपरि अर्था २ सय मिटरसम्म पनि मदिरा निषेधित क्षेत्र घोषणा गरिसकिएको वताउनुहुदै यो कार्यान्वयन तर्फ उन्मुख रहेको बताउनुभयो ।
हाल धार्मिक स्थल पडौल स्थानमा गरिएको २ सय मिटरको निर्णय पुर्ण सफल भएपछि त्यहा ५ सय मिटरसम्मको सिमा निर्धारण गर्ने प्रजिअको कथन छ ।