
महोत्तरी समाचारदाता
जलेश्वर, असोज ९ गते । अस्थाई शिक्षक आन्दोलन समिति महोत्तरीले आफ्ना विभिन्न माँगहरुसहित जिल्ला शिक्षा कार्यालयको कामकाज ठप्प पार्दै धर्ना दिएका छन् ।
आफ्ना माँगहरुप्रति शिक्षक सम्बद्ध संघ, संगठनहरु समेत गम्भीर नभएको भन्दै शिक्षक संघ, शिक्षक संगठन, अखिल शिक्षक संघलगायतका कार्यालयमा समेत तालावन्दी गरिएको अस्थाई शिक्षक आन्दोलन समिति महोत्तरीका अध्यक्ष राधेश्याम झाले जानकारी दिनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालयमा आईतबार र सोमबार कामकाज ठप्प गरी धर्ना दिइने जानकारी दिनुभयो ।उहाँले आफुहरु विभिन्न माँगसहित आन्दोलनमा रहेपनि माँग पुरा गर्नुको साटो शिक्षा विभागले यही समयमा आफुहरुलाई धम्क्याउनको लागि अवकाश फाराम समेत भर्न उर्दि जारी गरेकोले आन्दोलनमा उत्रनुपरेको वताउनुभयो ।
आफुहरुले यी फारामलाई जलाएर विरोध जनाएको जानकारी दिनुहुदै आन्दोलन समितिका अध्यक्ष झाले भन्नुभयो, ‘आफुहरुलाई सरकारले अवकाश फारामको नाममा तमसुक र दृष्टिबन्धक भर्न दिएको छ जो आफुहरुलाई मान्य छैन् ।’ नगरको विभिन्न भागको परिक्रमा गर्दै अगाडी बढेको विरोध जुलुस जिल्ला शिक्षा कार्यालयको अगाडी आएर अवकाश फाराम जलाएका थिए ।
शिक्षा विभागले अस्थायी शिक्षकले गोल्डेन ह्यान्सेक लिने वा आन्तरिक प्रतिस्पर्धामा भाग लिने भन्ने सुचना प्रकाशित गरेपछि अस्थायी शिक्षकहरु एकपल्टको लागि स्थाई परिक्षा दिन पाउनुपर्ने माँग गर्दै आन्दोलन गर्दै आएका थिए तर पुनः अहिले असोज १० गते भित्र अवकाश फाराम भरिसक्नुपर्ने भन्ने सुचना प्रकाशित गरेपछि अस्थायी शिक्षकहरु रुष्ट भई सशक्त आन्दोलन शुरु गरेका छन् ।
विगतमा अस्थायी शिक्षकको समस्या समाधानका लागि शिक्षा ऐन नियमावली संशोधन गरि सोही अनुसार व्यवस्था गर्ने भन्ने भएको तर शिक्षा विभागले अहिले शिक्षा नियमावली संशोधन भई नसकेको अवस्थामा विगतको सहमतिलाई वेवास्ता गर्दै एकतर्फी अवकासको फाराम भर्न लगाउनु र शिक्षक सेवा आयोगलाई विज्ञापनको प्रकिया अगाडि बढाउन खोज्नु आपत्तीको विषय भएकोले सो फाराम भराउने र विज्ञापनको प्रक्रिया अगाडि बढाउने कार्य तुरुन्त रोक्न शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् ।
शिक्षक महासंघले समेत यी सूचनालाई सच्याउन सरकारलाई आग्रह गरिसकेका छन् ।