पूर्व शिक्षामन्त्री पोखरेलले गरे प्राविधिक शिक्षाको अवलोकन

पूर्व शिक्षामन्त्री पोखरेलले गरे प्राविधिक शिक्षाको अवलोकन
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेलले महोत्तरी जिल्लाको सुगास्थित शुक्देव उच्च माध्यमिक विद्यालयमा भइरहेको प्राविधिक शिक्षाको पठनपाठनको अवलोकन गर्नुभएको छ ।
शिक्षामन्त्री भएको बेलामा जिल्लाको सदरमुकाम जलेश्वर र सुगामा प्राविधिक शिक्षा शुरुवातको पहल गर्नुभएका नेता पोखरेलले पठनपाठनको अवस्थाबारे बुझन बिहीबार विद्यालय समयमा पुग्नुभएको थियो ।
सो अवसरमा उहाँसंगै जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहाल, माओवादी केन्द्रका नेता रामआधार कापरसहितका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
विद्यालयमा पुग्नुभएका पूर्व शिक्षामन्त्री पोखरेललाई प्राविधिक शिक्षाको प्रगती विवरण विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले प्रस्तुत गर्नुभएको थियो । प्रधानाध्यापक चौधरीले कक्षाको शुरुवात भइसकेको जानकारी दिनुहुदै केही दिन भित्रै पुस्तकालयको पनि शुरुवात गरिने जानकारी दिनुभएको थियो ।
प्राविधिक शिक्षाको प्रगती विवरण अवलोकन पश्चात पूर्व शिक्षामन्त्री पोखरेलले खुशी व्यक्त गर्नुहुदै नेपालमा शिक्षा क्षेत्रमा दुई नम्बर प्रदेशमा पनि खास गरेर महोत्तरी पिछिडिएको जानकारी दिनुहुदै आफु शिक्षाको स्तर उकास्न लागिपरेको वताउनुभयो । उहाँले शिक्षाको स्तर बढाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुहुदै शिक्षक, शिक्षिकाहरुलाई ईमान्दार भई पठनपाठनको लागि अनुरोध समेत गर्नुभयो ।
उहाँले शिक्षाको स्तर बढाउन आफुले पहिला पनि सहयोग गरेको र आउने समयमा पनि सहयोगको लागि उत्तिकै सक्रिय रहने आश्वासन समेत दिनुभयो ।
सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरुको उपस्थिती रहेको थियो ।
प्रअ चौधरीले उपस्थित हुनुभएका पूर्वमन्त्री पोखरेल सहित अन्य महानुभावहरुलाई दोसल्ला र मिथिलाको पागलगाएर स्वागतसहित सम्मान गर्नुभएको थियो ।