निशुल्क स्वास्थ्य शिविर गरियो


निशुल्क स्वास्थ्य शिविर गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २२ गते । महोत्तरी जिल्लाको सुगाभवानीपट्टीमा सोमबार विभिन्न विरामीहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
छठको अवसर पारेर मैथिल ब्राहमण समाज सुगाले नेशनल किड्नी हस्पीटल बिराटनगरको सहयोगमा सुगामा स्थित शुक्देव उच्च माविको प्राँगनमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।   
सो स्वास्थ्य शिविरलाई एक समारोहका बीच बरिष्ठ राजनीतिक विश्लेषक सिके लालले उदघाटन गर्नुभयो । उहाँले उदघाटनको क्रममा अहिलेको २१ औं शताब्दीमा जातिय उत्थानको लागि मात्रै गठन गरिने संघसंस्थाको औचित्य नहुने बताउनुहुदै समग्र विकासको लागि समग्र रुपमा सोच्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
मधेशको समस्याको हल जातिय संगठनहरु मजवुत भएर मात्रै नहुने तर्क राख्नुहुदै विश्लेषक लालले भन्नुभयो, ‘जातिय संघसंस्थाहरुले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु र स्वच्छता फैलाउने कार्यक्रमहरु अगाडी बढाउनु जरुरी छ ।’
    सो शिविरमा किड्नी रोग विशेषज्ञ डा.सन्तोष कुमार झा, डा.उज्जवल झा, स्त्रीरोग विशेषज्ञ डा.श्रुति साह, डा.भोगेन्द्र खडका, डा.कर्म चौधरी, डा.विनय कुमार झा, डा.पुजा चौधरी, डा.सुजाता खडकालगायतका चिकित्सकहरुले बिरामीहरुलाई निःशुल्क उपचार तथा औषधी वितरण गर्नुभएको थियो ।
सुगा गाउँमा ४ सय भन्दा बढी बिरामीहरुलाई निःशुल्क उपचार गरिएको ब्राहमण समाज सुगाका अध्यक्ष शम्भुचन्द्र झाले जानकारी दिनुभयो ।
    स्वास्थ्य शिविर पूर्व अध्यक्ष झाले प्रमुख अतिथी राजनीतिक विश्लेषक लालसहित चिकित्सकहरुलाई दोसल्ला र मिथिलाको पागसहित स्वागत र सम्मान गरिएको थियो ।