सीमामा अपराध, नेपाल–भारत दुवैको टाउको दुखाइ

सीमामा अपराध, नेपाल–भारत दुवैको टाउको दुखाइ

- भूषण यादव, जितेन्द्र साह, वीरगन्ज/विराटनगर
मंसिर २५, २०७३-
  • दुई साताअघि वीरगन्जमा प्रहरीले भारतको उत्तर प्रदेश हरदोई जिल्लाका एसपी चढ्ने सरकारी गाडी नै चोरी गरी नेपाल ल्याएका भारतीय नागरिक मो. समिम अख्तरलाई पक्राउ गर्‍यो । विहारको पूर्वी चम्पारण ढाका थाना निवासी अख्तरबाट दुई थान हतियार र २३ राउन्ड गोलीसहित बरामद भयो । अख्तरले लखनउ नजिकैको हरदोईका एसपी चढ्ने यूपी ३० जी ०२१९ नम्बरको सेतो गाडी रेडियो सेट र बत्तीसहित चोरी गरी कात्तिक २० गते नेपाल ल्याएका थिए । यो गाडी रौतहटबाट बरामद भएको थियो । ६ वर्ष जेल सजाय काटिसकेका अख्तर पुन: भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा परेपछि वीरगन्जमा बसेर पारि अपराध गर्ने गरेका थिए । 
  • कात्तिक ३० गते । झिसमिसेमै बाराको इनर्वा– १ स्थित लालबकैया खोला किनारमा प्रहरी र हतियारधारीबीच भिडन्त भयो । भिडन्तमा एक भारतीयको मृत्यु भयो । विहार ढाका थाना कोरैयालौखान निवासी ४४ वर्षीय तेजीलाल साहको गोली लागेर ज्यान गयो । घटनास्थलबाट एक थान आधुनिक इन्सास राइफल, त्यसमा लोडेड १५ थान गोली र २ थान पेस्तोल बरामद भएको थियो । भारतीय हतियारधारी समूह नेपाल प्रवेश गरेको सूचनाका आधारमा विशेष टोली सीमा क्षेत्रमा तैनाथ गरिएको थियो । 
  • गत असोज २३ गते राति करिब ८ बजे वीरगन्ज उपमहानगरपालिका– १८ शिरोमणि टोलको पूर्वपट्टि रहेको नहर चोकमा प्रहरी कारबाहीमा भारत विहार पूर्वी चम्पारणको समस्तीपुर निवासी २८ वर्षीय दिलसाद अहमदको मृत्यु भयो । अहमदले अपराधको योजना बनाइरहेको सूचना पाएपछि प्रहरीले मोटरसाइकलमा सवार उनलाई रोक्न खोज्दा गोली चलाएका थिए । गोली हानाहानपछि मोटरसाइकलबाट लडेका अहमदको घनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक फरार भए । अहमदको साथमा भारत सरकारको आधार कार्ड र गोली लोड भएको एक थान पेस्तोलसहित ४ राउन्ड गोली बरामद भएको थियो । अहमद ६ महिनाअघि मात्र वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न थिए । केडिया अर्गनाइजेसनका सुरेश गत जेठ १३ गते साँझ वीरगन्जतर्फ फर्किने क्रममा पसाहा पुल नजिकैबाट अपहरणमा परेका थिए । भारतको मोतीहारी जेलमा रहेका कुख्यात अपराधी बब्लु दुबेको योजनामा अहमद र उनको समूहले केडियालाई नेपालबाट उठाउने र नाका कटाएर विहार पुर्‍याउने जिम्मा पाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । नेपाल र भारतका प्रहरीको सक्रियतामा केडिया चार दिनपछि मोतीहारी नजिकबाट मुक्त भएका थिए । विहारको समस्तीपुरका अहमदले केडिया अपहरण प्रकरणभन्दा अगाडि हातहतियार तथा खरखजाना र डाँका मुद्दामा झन्डै साढे ३ वर्ष वीरगन्ज कारागारमा कैद सजाय भोगिसकेका थिए । 
खुला सीमाका कारण नेपालका अपराधी भारतमा र भारतका अपराधी नेपालमा लुकेर बस्दै आएका छन् । सीमापार अपराध नेपाल र भारत दुवै देशका लागि टाउको दुखाइको विषय बन्दै आएको छ । एसपीकै गाडी चोरी भएपछि विहार मोतीहारीका एसपी जितेन्द्र राणा र हरदोईका एसपी राजीव मल्होत्रा वीरगन्ज आएका थिए । खुला र अव्यवस्थित नाकाले दुवै देशका अपराधीलाई फाइदा पुर्‍याएको भन्दै उनीहरूले सीमामा हुने अपराध नियन्त्रणका लागि निगरानी प्रहरीबीच समन्वय हुन आवश्यक रहेको बताएका थिए ।
सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि यहाँका उद्योगी व्यवसायीले अन्तरदेशीय सुरक्षा टोली गठनको माग गर्दै आएका छन् । दुई देशका सुरक्षा अधिकारीबीच स्थानीयस्तरमा हुने सुरक्षा बैठकमा यो सवाल उठ्दै आएको छ । ३ वर्षअघि भारतीय प्रहरीसँग समन्वय गरी नेपाल प्रहरीले सीमावर्ती सहरमा लुकेका आधा दर्जन नेपाली अपराधीलाई नियन्त्रणमा लिएको थियो । नेपालमा लुकेर विहारमा अपराध गराइरहेका बब्लु दुबेलाई एसएसपी सर्वेन्द्र खनालको टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो । भारतमा आतंकवादी गतिविधिमा संलग्न करिम टुन्डा, यासिन भटल २ वर्ष अगाडि नेपालमै पक्राउ परेका थिए ।
पछिल्ला दिनमा प्रहरी अधिकृतहरू भन्न थालेका छन्, सीमा व्यवस्थित गरी यताबाट उता र उताबाट यता आउने व्यक्तिको विवरण संकलन गर्न आवश्यक छ । पाकिस्तान र भारतबीचको बढदो तनावले भारतीय सीमा सुरक्षा बलले नेपालसँग सीमा जोडिएका ग्रामीण नाकामा पछिल्ला दिनमा पहिचानपत्र हेरेर आवतजावत दिने गरेको छ ।
केही वर्षअघिसम्म उद्योगी व्यापारीबाट फिरौती असुल्नका लागि अपहरण गरिने भए पनि अहिले फोनबाट धम्की दिएर त्रास फैलाउने अपराधीको संख्या बढेको प्रहरीको भनाइ छ । विहारमा लालु यादवको सरकार हुँदा एक/डेढ दशकअघि वीरगन्जका थुप्रै व्यापारी भारतीय अपराधीको निसानामा परेका थिए । दुवैतिरका अपराधी मिलेर अपहरणको शृंखला नै चलाएका थिए । उद्योगी मनोज दास र वीरहर्ष शाक्य अपहरणमा परे । रत्नलाल अग्रवाल र रमेश केडियामाथि बम प्रहार भयो । वीरगन्ज उद्योग वाणिज्य संघका तत्कालीन महासचिव गोपाल केडियामाथि गोली प्रहार भएको थियो ।
यस्ता गतिविधिमा राजनीतिक व्यक्तिहरू पनि संलग्न हुने वा उनीहरूलाई उपयोग गरिने एक व्यापारीले दाबी गरे । ‘अपराधीलाई संरक्षण दिने मात्र होइन, कतिपय उद्योगीको फोन नम्बर उपलब्ध गराउनेसम्मका काम भएका छन्,’ एक व्यापारीले भने, ‘पछि उनीहरू नै मध्यस्थकर्ता बनेर लेनदेनमा कुरा मिलाउँथे ।’

अपराध शृंखला निकै बढेपछि वीरगन्ज आसपासमा हुने प्रहरी इन्काउन्टर पनि बढेको थियो । बढेको हत्या, हिंसा र चन्दा आतंकका कारण सुरक्षा निकायले गर्ने गैरन्यायिक हत्याले समेत आर्थिक नगरीमा मौन स्वीकृति पाएको थियो । अपराधी मारिँदा यहाँका उद्योगी व्यापारीलगायत नागरिक समाजले खुसी जाहेर गर्ने गरेको प्रहरी अधिकृतले दाबी गर्थे । २०६२/६३ मा हत्या, चन्दा आतंक र लुटपाट बढेर व्यापारी, उद्योगी र नागरिक समाजको दबाब बढ्न थालेपछि भारतीय अपराधीको आतंक निस्तेज पार्न प्रहरीले पर्सामा इन्काउन्टर सुरु गरेको बताइन्छ ।
प्रहरी अधिकारीहरूले कतिपय अवस्थामा भने आफू र आफ्नो संगठनको अपराध ढाकछोप गर्न पनि इन्काउन्टर चलाउने गरेको आरोप लाग्ने गरेको छ । भारतीय अपराधी छोटेलाल सहनीको समूहमा रही प्रहरीको सुराकीको काम गरेका अपराधी सदरे आलमलाई पर्साका तत्कालीन प्रहरी प्रमुख जयबहादुर चन्दको निर्देशनमा ०६४ कात्तिक २१ गते सादा पोसाकमा रहेका प्रहरीले वीरगन्जको मुख्य सडकमा गोली प्रहार गरी मारेका थिए । स्रोतका अनुसार आलम प्रहरीसँग साँठगाँठ गरेर स्थानीय उद्योगीसँग फिरौती लिने काममा संलग्न थिए ।
दसकौंअघि सीमावर्ती गाउँमा नेपाल प्रहरी संगठित नहुँदासम्म भारतीय डाँकाले डकैती, हत्या, लुटपाट मच्चाउने गर्थे । केही डाँकाहरू भने नेपालमा बसेर भारतमा डकैती पनि गर्थे । सन् १९५० ताका तराईमा प्रहरी संगठित नभएका बेला शान्ति व्यवस्था कायम गर्नका लागि नेपालले भारतीय सेनाको सहयोगसमेत माग्नु परेको थियो । नेपालले यस्तो सहयोग मागेपछि भारतीय सेनाले सन् १९५१ मा दुई पटक र १९५३ मा एक पटक हस्तक्षेप गरेको थियो । सन् १९७१ मा बारा र रौतहटमा भएको घटनालाई प्रशासनिक कमजोरी र सामूहिक लुटपाट तथा आतंकको असामान्य उदाहरणका रूपमा लिन सकिन्छ । यस घटनामा डाँकाहरूले ती जिल्लाका धेरै गाउँमा आतंक मच्चाउनुका साथै ५१ जना मानिसको हत्या गरेर भारत फर्किएका थिए । प्रहरी सुरक्षा पर्याप्त नहुँदा यस्ता आक्रमणहरूबाट बच्नका लागि तराईका गाउँलेले कहिलेकाहीं भिजिलान्ते समूह गठन गर्ने गरेका थिए । भारतीय डाँकाको प्रतिकारका लागि गाउँका जमिन्दारले हतियार राख्ने गरेका थिए ।
खुला सीमाले अपराधीलाई सहज
एक आपराधिक गिरोहले १९ साउनमा भारत विहारको कटिहारस्थित एनबीआर स्कुलमा अध्ययनरत ६ वर्षीया छवि भनिने स्पर्स अग्रवालको अपहरण गर्‍यो । कटिहार कुर्सिदा निवासी उनका पिता भानु पेट्रोल पम्प सञ्चालक हुन् । उनलाई भारतबाट सुनसरीको कप्तानगन्ज हुँदै नेपाल ल्याइएको सूचना पाएपछि नेपाल प्रहरीले खोजी थाल्यो । लगातार पाँच दिनको खोजीपछि प्रहरीले मोरङ पथरी–३ स्थित एक घरबाट ती बालिकालाई अपहरणमुक्त गर्‍यो । अपहरणमा संलग्न सुनसरी इनरुवा–५ का ४५ वर्षीय दिनेश गुप्ता, कप्तानगन्ज–२ का ३१ वर्षे बद्री मेहता, श्रीपुरजब्दी–५ का २४ वर्षीय रामविलास मेहता र नरसिंह–५ का रजित यादव पक्राउ परे ।
भारतबाट अपहरण गरी नेपाल ल्याएर फिरौती असुल्न खोजिएको यो घटनामा दुवैतिरका अपराधी संलग्न थिए । खुला सीमाको फाइदा उठाउँदै एकातिर बसेर अर्को देशमा अपराध गर्ने/गराउने क्रम लामो समयदेखि चल्दै आएको छ । अपहरण, हत्या, मानव बेचबिखन र लागू पदार्थ ओसारपसार सीमामा हुने अपराध हुन् । यसबाहेक पूर्वाञ्चलको भारत–नेपाल सीमा क्षेत्रमा हतियार किनबेच, डकैती, तस्करी, चौपाया चोरी र जाली नोटको कारोबारसमेत प्रमुख अपराधका रूपमा देखिएको छ । भारतीय बजारमा सहज उपलब्ध भएकाले हतियार एवं लागूऔषधको कारोबार र खुला सीमाका कारणले खेतको बाटोबाट समेत ओहोरदोहोर गर्न सक्ने हुनाले मानव बेचबिखन रोक्न नसकिएको प्रहरीले जनाएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) केशरीराज घिमिरे विराटनगर र काँकडभिट्टा लागूऔषध तस्करीको मुख्य नाका बनेको बताउँछन् । ‘यी नाकाबाट भित्रिएका लागूऔषध धरान र काठमाडौंको बजारमा पुग्ने गर्छ,’ उनले कान्तिपुरसँग भने । पूर्व क्षेत्रीय कार्यालयका प्रवक्ता गंगा पौडल नेपालमा लागूऔषधको सूचीमा राखिएका प्रतिबन्धित औषधि भारतीय बजारमा खुला बिक्री भइरहेकाले नियन्त्रण चुनौतीपूर्ण भएको ठान्छन् । यस्तै, मानव तस्करको विश्वासमा परेर पीडितहरूले सहमतिमा रोजगारका लागि भारत जान लागेको बताउने गरेको पनि उनले खुलाए । खुला सीमाका कारण सहजै भाग्न सकिने, ऐनमा थोरै सजाय र न्यून जरिवानाले गर्दा जोखिम कम भएकाले आपराधिक गिरोह उत्साहित हुने गरेको पौडेलको भनाइ छ ।
फरक–फरक अपराध
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार नेपाल सीमाभित्र चोरीका सवारीसहित पक्राउ पर्नेमा भारतीय बढी हुन्छन् । बढीजस्तो यस्ता बाहनहरू नक्कली नेपाली नम्बर प्लेट राखेर चलाउने गरेको पाइन्छ । ‘मोडेल नयाँ र नम्बर प्लेट पुरानो देखेर शंका लागी खोजबिन गर्दा यस्तो चोरीको रहस्य खुल्छ,’ प्रवक्ता पौडेलले भने । यता बरामद भएका बाहनबारे उताको समकक्षीलाई नेपाल प्रहरीले जानकारी गराउँछ ।
कर्तव्य ज्यानमा सजाय पाएकाहरूमध्ये धेरैजसो पारि पक्राउ पर्छन् । ‘दुवैतिरका सुरक्षा निकायको सहमतिमा दसगजा क्षेत्र, रेल्वे प्लेट फर्म र बसपार्कसम्म गएर समात्छौं,’ उनले भने, ‘अपहरणसम्बन्धी घटनामा दुवैतिरकाले मिलेर कारबाही गर्छौं ।’ दक्षिणी खुला सीमावर्ती भेकमा पारिका सशस्त्र गिरोहद्वारा डकैती र चौपाया चोरी हुने गरेको प्रहरीले जनाएको छ । यसबाट मोरङ, सुनसरी र झापाका नागरिक बरोबरी प्रताडित भएको पौडेलले औंल्याए ।
विगतको तुलनामा यो वर्ष पूर्वी सीमा क्षेत्रमा अपराध संख्या घटेको प्रहरीको दाबी छ । पूर्वाञ्चलका १६ जिल्लामा आर्थिक वर्ष २०७०/७१ मा भएका कुल ५ हजार ९ सय १२ अपराधमध्ये १ हजार ३ सय ८० अर्थात् २३.३४ प्रतिशत मानव बेचबिखन, लुट, हत्या अपहरण र लागूऔषध लगायतका थिए । तर, यस वर्ष यी मुख्य अपराधको संख्या घटेको छ । ‘२०७२/७३ मा भएका ६ हजार २ सय ५१ मध्ये १ हजार ४ सय १३ (२२.६० प्रतिशत) मात्रै मुख्य अपराध छन्,’ पौडेलले भने ।
अपराध खुल्न र पक्राउ गर्न कठिन
प्रहरीका अनुसार पीडित भारतीय भएको अपराधमा कमै दाबी वा उजुरी पर्ने गर्छ । पीडितकै पहिचान नभएर अनुसन्धान सुरु हुन समय लाग्छ । पारिबाट आएर अपराध गर्नेहरूको पहिचान खुल्न निकै गाह्रो हुने गरेको प्रहरीको भनाइ छ । ‘समातिएकाहरूले अर्को चार जना पनि छन् भनेर भन्छन् तर पूरा नाम, थर र ठेगाना भन्दैनन्,’ एक प्रहरी अधिकृतले भने, ‘आरोपीको नाम कान्छा वा आलम आदि बताउँछन्, उनीहरूलाई कहाँ गएर खोज्ने ?’
प्रहरीका अनुसार हत्या र बलात्कारमा संलग्न नेपालीहरू भागेर अन्य मुलुकमा गएर काम गर्छन् । तेस्रो मुलुक जानलाई पनि भारतीय भूमिकै प्रयोग गर्छन् । मन्त्रालय वा इन्टरपोलजस्ता औपचारिक च्यानलबाट उनीहरूलाई पक्राउ गर्न वर्षौं लाग्ने गरेको छ । ‘सीधै उता गएर कारबाही गर्न सकिन्न,’ एक प्रहरी अधिकृतले भने, ‘यता आउलान् भनेर पर्खेर बस्नुपर्छ ।’ उनका अनुसार कर्तव्य ज्यानमा संलग्न भारतीय भएमा यता ल्याउनै कठिन हुन्छ ।
साक्षीलाई संरक्षण छैन
सीमामा डिजिटल निगरानीको पनि कमी छ । धेरैजसो भन्सार नाकामा सीसीटीभी जडान गरिए पनि राम्ररी काम गरिरहेका छैनन । वारिपारिको उस्तैखाले भाषा, संस्कृति तथा रहनसहन र माहोलले पनि कारबाही कठिन हुने गरेको छ । साक्षी र पीडितलाई प्रहरीले संरक्षण दिन सक्ने स्थिति नभएकाले स्थानीयवासी सहयोग गर्नेभन्दा ज्यान जोगाउनेतिर बढी लाग्छन् । रोटीबेटी सम्बन्धका कारणले पनि अपराधमा संलग्नको यता र उतासँग नाता हुनाले आफ्नो मान्छेलाई किन फसाउने भन्ने मनोविज्ञानले पनि अपराधी उम्किरहेको प्रहरीको विश्लेषण छ ।
सीमा क्षेत्रमा प्रहरीको गतिलो उपस्थिति छैन । पर्याप्त जनशक्ति र अपराध अनुसन्धानमा वैज्ञानिक प्रक्रियाको अभाव प्रहरीका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन् । ‘छुट्टै समर्पित जनशक्ति चाहिन्छ, एउटै जनशक्तिले सबै काम गर्दा अनुसन्धान र कारबाही प्रभावकारी हुन सक्दैन,’ प्रवक्ता पौडेलले भने, ‘राज्य र प्रहरी छ भन्नेसम्म हो तर तत्कालै घटनास्थलमा पुग्ने गरी जनशक्ति र स्रोत छैन ।’
विराटनगरकै रानी सीमामा जोडिएको बुधनगरको इलाका प्रहरी कार्यालयमा जम्मा ७ प्रहरी तैनाथ छन् । झन्डै ७/८ किमि क्षेत्रमा निगरानी राख्ने दायित्व पाएका उनीहरूसँग मोटरसाइकल र साइकलसमेत छैन, जबकि उनीहरूले सबैखाले अपराध एवं घटना हेर्नुपर्छ । बाटोघाटो र साधनलाई हेर्दा बुधनगरमा घटनाको सूचना पाएको २/३ घण्टामा मात्र प्रहरी पुग्न सक्छन् । ‘वर्षायाममा बाटो हिलाम्य भएर कार्यालयबाट प्रहरी बाहिरै निस्कन सक्दैनन्, यो त एउटा उदाहरण मात्र हो, यस्ता थुप्रै गाउँहरू छन्,’ उनले भने । आवश्यक नभए पनि नेता र पहुँचवालाको भनसुनका आधारमा स्थापना गरिएका पूर्वका १ सय ६१ अस्थायी प्रहरी चौकीमा भने १ हजार १ सय ६८ जनशक्ति कार्यरत रहेको डीआईजी घिमिरेले बताए । अस्थायी चौकीसहित पूर्वाञ्चलभरि ५ सय २० प्रहरी कार्यालयमा ११ हजार ८ सय ७८ प्रहरी कार्यरत छन् ।


http://kantipur.ekantipur.com/news/2016-12-10/20161210075904.html