जिविसको मिलोमतोमै बालुवा गिट्टी–ग्राभेलमा अवैध असुली

२०७३-०५-२० मा प्रकाशित     १९५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ठेक्का महोत्तरीको, असुली धनुषामा

जिविसको मिलोमतोमै बालुवा गिट्टी–ग्राभेलमा अवैध असुली
भदौ १९, जनकपुरधाम । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिकाको लालगढमा ठेकेदारले नियमविपरीत ढाट राखेर अवैध कर असुल्दै आएका छन् । ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेललगायतका नदीसम्बद्ध पदार्थको निकासी करमा ठेकेदार कम्पनीले सरोकारवाला निकायको मिलोमतोमा मनोमानी तरीकाले सरकारले तोकेको भन्दा बढी रकम असुल्ने गरेको तथ्य बाहिर आएको हो ।
जिल्ला विकास समिति महोत्तरी र जिल्ला विकास समिति धनुषाको मिलोमतोमा ठेकेदार कम्पनी पौडेल निर्माण सेवा बर्दिवासले विक्री तथा निकासी कर भन्दै बालुवा, गिट्टी तथा ग्राभेलमा उठाउँदै आएको कर गैरकानूनी रूपमा बढी असुल्न थालेपछि उपभोक्ता र व्यवसायी समस्यामा परेका हुन् । पौडेल निर्माण सेवाले निकासी करको नाउँमा जथाभावी रकम असुल्दा पनि राज्य निकाय भने बेखबर बनेको उपभोक्ताको गुनासो छ ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले एक ट्रिपरको ८ सय रुपैयाँसम्म मात्र कर लिनुपर्ने हो । तर, १ हजार २ सय रुपैयाँ असुल्दै आएका छन् । नाम उल्लेख नगर्ने शर्तमा जनकपुरका एक ट्रिपर व्यवसायी भन्छन्, ‘ठेकेदार कम्पनीले खुलेआम तोकिएको भन्दा ४ सय रुपैयाँ बढी असुल्दा पनि प्रशासन मौन छ ।’ ठेकेदारले रसिदमै ८ सयसम्म लिनुपर्ने भए पनि १ हजार २ सय रुपैयाँ राजस्व भनेर स्पष्ट काटिएको छ । यद्यपि, प्रशासन मौन बस्नु राज्य निकायको लाचारीपन भएको व्यवसायी विनय महासेठले बताए ।
ठेकेदारले भ्याट बिलमा प्रतिट्रिपर ८ सयका दरले काट्दै आएका छन् । तर, व्यवसायीसँग एस्टिमेट बिलमा भने १ हजार २ सय रुपैयाँका दरले रकम उठाउने गरेको स्थानीय रवीन्द्र अगरगडियाको भनाइ छ । व्यवसायीले गाडी भाडा, सामानको मूल्य र कर जोडेर उपभोक्तालाई विक्री गर्ने भएकाले यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्दै आएका छन् । नदीसम्बन्धी पदार्थ ढुवानी गर्दै आएका ट्रिपरले प्रतिटिप २ सय ५० देखि २ सय ७० सेप्mटीसम्म ल्याउने गरेका छन् ।  
ठेकेदार कम्पनीले सम्झौताभन्दा बढी रकम उठाएको गुनासो नआएको महोत्तरीका स्थानिय विकास अधिकारी कृष्ण चापागार्इंले बताए । सम्झौताविपरीत तोकेको भन्दा बढी रकम असुले कानूनबमोजीम कारबाही गर्ने उनको भनाइ छ । यता, ठेकेदार विश्व बस्नेतले जिविससँगको सम्झौताअनुुुसार ८ सयका दरले मात्र रकम लिने गरेको दाबी गरे । जिविस र पौडेल निर्माण सेवाबीच साउन १ गतेदेखि निकासी कर उठाउने सम्झौता भएको हो ।
ठेक्का महोत्तरीको, असुली धनुषामा
जिल्ला विकास समिति महोत्तरीले जिल्लामा निकासी करका लागि आह्वान गरेको टेण्डरअनुसार पौडेल निर्माण सेवा बर्दिवासले ऐनकानूनविपरीत धनुषामा रकम असुल्दै आएको देखिएको छ । धनुषा र महोत्तरीको सीमामा पर्ने रातुनदी, चुरेक्षेत्र तथा क्रशरबाट नदीसम्बन्धी पदार्थ ढुवानी गर्ने ट्रिपरबाट धनुषाको मिथिला नगरपालिकाको लालगढमा ढाट राखेर रकम असुल्दै आएको व्यवसायी बताउँछन् । तर पनि जिविस धनुषा मौन बस्नु मिलोमतो हुन सक्ने उनीहरूको तर्क छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागार्इंले बालुवा, गिट्टी र ग्राभेलको अवैध उत्खनन तथा निकासी सम्बन्धमा अनुगमन गरेको जानकारी दिए । अनुगमन हुँदा पनि महोत्तरीको ठेक्का पाएको ठेकेदारले धनुषाको लालगढमा उठाइरहेको अवैध असुली भने बन्द हुन सकेको छैन ।  
स्टक भन्दै चुरे दोहन धनुषा र महोत्तरीमा
स्टकको बालुवा, गिट्टी र ग्राभेल रहेको भन्दै राज्य निकायकै मिलोमतोमा चुरेक्षेत्रबाट अवैध उत्खनन भइरहको छ । क्रशर उद्योगको स्टकबाट ल्याएको बालुवा, गिट्टी र ग्राभेलको निकासी कर मात्र पौडेल निर्माण सेवाले उठाउन पाउने जिविससँग सम्झौता भएको छ । तर, बालुवा, गिट्टी र ग्राभेल ढुवानी गर्ने व्यवसायीले चुरेक्षेत्रबाट अवैध उत्खनन गरेर स्टकबाट ल्याएको भन्दै ओसारपोसार गरिरहेका छन् ।
जिल्ला विकास समिति, महोत्तरीले जिल्लामा रहेका क्रशर उद्योगहरूको स्टक प्रमाणित नै गरेको छैन । स्थानीय विकास अधिकारी चापागाईका अनुसार जिविसको टोलीले अनुगमन गरिसकेको छ । छिट्टै स्टक प्रमाणित हुन्छ । सरकारले साउन र भदौमा नदीनालाबाट बालुवा, गिट्टी र ग्राभेल उत्खनन तथा ओसारपोसारमा रोक लगाएको छ । तर पनि राज्य निकायकै मिलोमतोमा स्टक भनेर चुरेक्षेत्रबाट ग्राबेल, बालुवा र गिट्टी निकासी भइरहको नेपाली काङ्ग्रेसका नेता श्यामलाल महतोको भनाइ छ । Source
http://www.abhiyan.com.np/new/Articles/view/84463