चित्रकलाले गाउँदेखि अमेरिकासम्म पु¥यायो सुनैनालाई


चित्रकलाले गाउँदेखि अमेरिकासम्म पु¥यायो सुनैनालाई
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर २६ गते । दृढ अठोट र निरन्तरको लगनले मानिसलाई सफलता तर्फ डो¥याउने उदाहरणको पात्र बनेकी छिन् सुगाभवानीपट्टीकी सुनैना ठाकुर । मिथिला चित्रकलाको व्यवसायीकरणको माध्यमबाट गाउँबाट अमेरिकासम्मकी यात्रा गर्न सफल भएकी सुनैना ठाकुरले भनिन्, ‘परिवार र साथीभाईहरुको सहयोग र आफ्नो लगनले गाउँको मात्रै होइन देशकै नाम चिनाउन सफल भएकी हुँ ।’
अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउण्ड अर्वाडस द फेस अफ पिस’को उपाधि प्राप्त गरेर घर फर्केकी ठाकुरले जलेश्वरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले अन्तराष्ट्रियस्तरमा नेपालको नाम चिनाउन सफल भएको बताइन । मिथिला चित्रकलालाई व्यवसायीकरण गर्नुका साथसाथै यसक्षेत्रका महिलाहरुलाई पनि यसक्षेत्रमा लाग्न प्रेरणा र हौसला दिएको कारणले सुनैनालाई यो अवार्ड प्रदान गरिएको हो ।
बच्चैदेखि आमाले बनाउने पेन्टिङ्ग देखेर हुर्केकी सुनैनाले आफुले पनि सोही अनुसार चित्र बनाउने गरेको बताइन । सानैदेखि चित्रहरु अरुको पर्खालमा बनाउँदा कतिपयको खप्की र परिवारको गाली खानुपरे पनि अन्ततः सोही चित्रकै व्यवसायीकरणबाट अहिले आफु सम्मानित हुन पुगेकी वताइन ।
गाउँकै विद्यालयमा कक्षा ८ मा पढिरहेको बेला चित्रकला प्रतियोगितामा प्रथम भएपछि आफुले भविष्यमा यसलाई नै व्यवसायीकरण गर्ने सोच बनाएपनि विवाहको केही वर्षसम्म यसमा अवरोध श्रृजना भएको बताइन । आफु भित्रको कलालाई जिवन्त राख्न उनी घरकै पर्दा, वेडसिट, तन्ना लगायतहरुमा चित्रहरु कोर्ने गरेको सुनैनाले बताइन ।
सर्लाही जिल्लाको श्रीनगर ५  माईत भएकी सुनैनाको एक दशक अगाडी जलेश्वर नगरपालिका वडानं. १५ सुगा बस्ने शम्भु ठाकुरसंग विवाह भएको हो । बुहारीलाई बाहिर निष्कनु र काम गर्नु भनेको नकारात्मक दृष्टिकोणले हेर्ने समुदायमा सुनैनाको व्यस्तता र उनीप्रति सामाजिक भरोसाले घरका सासु–ससुरा र श्रीमान् पनि अहिले खुशी छन् । आजभोली बुहारीको हरेक क्रियाकलापमा घरपरिवारले पूर्ण सहयोग गर्दै आएका छन् । समाजको कुदृष्टीे धारणालाई आत्मसात गर्ने उनका परिवारका सदस्यहरु अहिले बुहारीको कामले नाम चलेपछि दङ्ग छन् ।
सुनैना जुन समुदायबाट सम्बन्ध राख्छिन ति समुदायका महिलाहरुले हुने खानेको घरका महिलाहरुको नङ्ग काटने, पुजा प्रतिष्ठा र विवाहका विधिका समाग्रीहरु जोरजाम गरेर जिवकोपार्जन गर्ने मानिन्छ । तर सुनैनाले आफ्नो पारम्परिक कार्यभन्दा चित्रकलालाई नै पेशा वनाउने दृढ संकल्प गरिन । उनको श्रीमान शम्भु ठाकुर पेशाले शिक्षक भएका कारण उनलाई पनि पारम्परिक काम गर्नुपर्ने बाध्यता थिएन ।
सानैदेखिको लगाव र सन् २००८ मा सर्च फर कमन ग्राउण्डले दिएको अवसरको उपयोग गदै सुनैना अहिले यहाँसम्म आउन सफल भएकी छिन् । उनले सर्चकी मिना शर्मा, श्रीमान, घरपरिवार र साथीभाईको सहयोगले यहाँसम्म आइपुगेकी सगर्व वताइन ।
सर्चसंग सम्बन्ध गाँसिएपछि उनले चित्रकलाको व्यवसायीकरण र महिलाहरुलाई तालिम दिनको लागि विं.सं. २०६६ मा महिला क्षमता विकास केन्द्र दर्ता गराइन र मिथिला पेन्टिङ्ग गर्ने कार्यलाई अघि वढाउँदै लगिन ।
सुगाका महिलाहरुले बनाएका चित्रहरु काठमाडौंका अतिरिक्त अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका देशहरुमा समेत पुगिसकेका छन् । विभिन्न पत्रपत्रिकामा उनको अगुवाइमा बनेको मिथिला आर्टको बारेमा चर्चा पनि उत्तिकै छ । यही निरन्तरको प्रयास र अगुवाईलाई सलाम गर्दै युएनडीपीले पनि सन् २०१२ को शान्ति सेवा अवार्ड पत्र समेत सुनैनालाई प्रदान गरिसकेको छ । मिथिला आर्टकै बारेमा जापान, अमेरिका सहितका ७ देशका नागरिकहरुले समेत स्थलगत रुपमा अवलोकन गरिसकेको बताउँदै सुनैनाले भनिन्,“नियमित बजार छैन, माग अनुसार जति पनि उत्पादन गर्न सक्छौं, बजारको पनि खोजीमा छौं ।”
घुम्टो ओढेर मात्रै मधेशका महिलाहरु बस्छन् भन्ने सोच्नु गलत रहेको बताउँदै सुनैनाले भनिन् अवसर पाउने हो भने मधेशका महिलाहरु पनि सक्षम छन् । आफु महिलाहरुको क्षमता विस्तार र व्यवसायीकरणको लागि काम गर्ने बताउनुहुदै यसमा सबैको सहयोग उत्तिकै जरुरी रहेको समेत बताइन । उनले भनिन्, ‘मिथिला चित्रकलाको जति व्यवसायीकरण हुनुपर्ने हो त्यत्ति भइसकेको छैन् तर हामी आशावादी छौं ।’
                नागेन्द्रकुमार कर्ण÷महोत्तरी