डा.बाबुराम भट्टराई रात काटेको मुसहरबस्तीको पीडा अझै उस्तै
आरके महतो/आरएन महतो
बर्दिबास/गौशाला, मंसिर २७ गते ।
चार वर्षअघि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई तामझामका साथ महोत्तरीको फुलकहा–६ मनहरवास्थित मुसहर बस्तीमा पसे । तराईका मुसहरको दिनचर्चालाई नजिकसंग बुभ्mन उनी मुसहर बस्तीमै रात बिताए । स्थानीय विष्णु सदाको सानो झुपडीमा भुईमै पराल ओछ्याएर सुतेर गरिबले भोग्दै आएको पीडा महसुस गर्न खोजे ।
मुसहर बस्तीमा देशकै प्रधानमन्त्री पुगेपछि सिंगो दलित (मुसहर) समुदायले शिर ठाडो भएको अनुभूति गरे । प्रत्येक महिनाको अन्तिम शनिवार दलित बस्तीमा रात बिताउने योजना अनुसार तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई २७ असोज २०६९ मा मुसहरको घरमा बास बसेका थिए ।
विष्णु सदाले ६ हजार ऋण काडेर भएपनि त्यो दिन प्रधानमन्त्री डा. भट्टराईलाई भव्य स्वागत–सत्कार गरेका थिए । मुसहर समुदायले आफुले खाने घोघिको तरकारी, गंगटाको अचार, ढिकीमा कुटेको चामलको भातलगायत जातीय परिकार खुवाए । प्रधानमन्त्री भट्टराईको आगमनले मुसहरहरुकोे घाउमा मल्हम लाग्ने आशा संगालेर बसेका थिए । तर, त्यसो हुन सकेन । मुसहर बस्तीका मुसहरले देखेका सपना केवल सपनामै सीमित रह्यो । पहिले भन्दा हिजोआज मुसहरको पीडो झनै बल्झिएको छ ।
४ वर्षको अन्तरालमा मुसहरको अवस्था ज्यूँका त्यूँ रहेको छ । समाजिक, आर्थिक र शैक्षिक रुपमा मुसहरको जीवनमा देखिने र अनुभूति गर्ने कुनै ठोस परिवर्तन भएको छैन । बस्तीमा गरिवी, अशिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली वत्ति जस्ता कैंयन समस्या ज्यूँका त्यूँ रहेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडि रहेको मुसहर बस्तीमा देशका प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा जति मुसहरहरु खुशी थिए । अहिले त्यो भन्दा पनि बढी दुःखी छन् । चार वर्षको अन्तरालमा मुसहर बस्तीको अवस्था जस्ताको त्यस्तै छ ।
एक सय पच्चिस मुसहरहरुको थातथलो गुमने खतराले उनीहरु पिरोलिएका छन् । सय वर्षभन्दा बढीदेखि बसोबास गर्दै आएका सो बस्तीका मुसहरहरुको २२ कठ्ठा १२ धुर जग्गा ४२ वर्षअघि सोनफी राय (यादव) नामक जमिन्दारले आफ्नो नाममा लालपुर्जा निकाली बेचबिखन गर्न थालेपछि सबैभन्दा ठूलो समस्या थातथलोको रहेको छ ।
‘प्रधानमन्त्रीले सबैभन्दा पहिले हाम्रा पुर्खादेखि बसोबास गर्दै आएको थातथलोको लालपुर्जा दिलाइदिऊन,’ त्यति खेरनै एकै स्वरमा डा. भट्टराइलाई मुसहरहरुले भनेको सोही बस्तीका ६५ वर्षीय वृद्ध बृहस्पत्ति सदा मुसहरलेभने,
‘प्रधानमन्त्री आएपछि हामीले जग्गा रोक्का हुने सोंचेका थियौं । प्रधानमन्त्री आएर गए । त्यपछि त मुसरहरु बसोबास गरेको जग्गा साहुले किनबेच अझ बढायो । अहिले एउटै जग्गा तीन चार पटक बिक्री भइसक्यो ।’ मुसहरहरुको जीवन ‘१२ माँस ३६ औं दिन’ पीडै–पीडाको चाङ्गले थिचिदै गएको उनीहरु बताउँछन् ।
मंसिरको जाडोमा परालको ओछ्यानमा परालको गुन्द्री ओढेर सुतेका बृस्पत्तिले भावुक हुँदैं भने, ‘जाडोमा चलेको शितलहर घर भित्रै पस्छ । भोकैपनि सुत्न दिर्दैन यो गरिवलाई । पानी पर्दा घरको छानो चुहिन्छ, जाग्रामै बसेर रात बिताउँछौं । रात विताउने र बस्ने राम्रो घर छैन ।’ मुसहरहरुलाई लगाउने वस्त्रको पनि अभाव छ । बच्चाहरु जाडो मौसममा पनि एउटा सर्ट लगाएर बसेका छन् । कतिको त जीउमा लगाउने लुगापनि छैन ।
यता, प्रधानमन्त्री आए मुसहरहरुले आप्mनो घर बनाउन सहयोगको अपेक्षा गरेर बसेका थिए । तर, पूर्व प्रधानमन्त्री भट्टराईले मुसहर बस्तीमा पुगेपछि मुसहरहरु अहिले साहुबाट त्रस्ति भएर बसेको उनले दुखेसो पोखे । बाउबाजेले जंगल फाँडेर बसोबास गरेको स्मरण गर्दागर्दै उनी एकैछिनमा भक्कानिए । ‘हामी बसेको जग्गा ऐलानी थियो । ढुक्कसंग बसेका थियौं । प्रधानमन्त्री आएर मुसहरहरु अगाडी बढ्छ भनेर साहुले थाहा पाएपछि अहिले लालपूर्जा देखाएर उठिबास लगाउन खोजेको छ ।’ उनले भने ।
‘सरकारले घर बनाइदिने के आश गर्नु, अब त जमिन्दारले हामीलाई घर उखेलिदिएर उठिबास लगाउँछ भनेर हल्ला चलेको छ,’ बस्तीका अगमलाल सदाले बृस्पत्तिको कुरो नसकिदै भने, ‘घर न घडारी छ । कहाँ जाने, कहाँ बस्ने मुसहरहरु चिन्तामा छन् । मुसहरहरु प्रधानमन्त्री आउँदा खुसी भए । अहिले घरबारविहीन हुने पो हो कि भन्ने चिन्ताले दुःखी बनाएको छ ।’ मुसहरको घर रहेको जग्गा कठ्ठाको ४–५ लाखमा जग्गा बिक्री भइरहेको छ । आफ्नै घर रहेको जग्गा किन्ने आँट मुसहरहरुसंग छैन । दिन कमाए राति खान्छन् । भोलि खान सोंच्नु पर्ने गरिवी र विपन्नताकाबीच मुसहरहरु जीवन चलिरहेको छ ।
यस्तै, मुसहर बस्तीको जग्गा अहिले साँहुसंग अन्यले धमाधम खरिद गरिरहेका छन् । जग्गा किन्नेहरुले ‘धेरै बोलिस् भने उठाएर भगाई दिन्छु’ भन्दै हप्काई रहेका एक मुसहरले डराउँदै भने, ‘मेरो नाम नलेख्नु हैं । धनीले लालपूर्जा देखाएर धेरै कराइस् कि भागाई दिन्छु, भन्छन् ।’ जग्गाको लालपूर्जा देखाउँदै धम्काउँदै टाठाबाठाले गरिव तथा विपन्न मुसहर समुदायलाई फुटाएर उनीहरुमाथि राज गरिरहेका छन् । देशमा तन्त्र फेरिएपनि मुसहर जस्ता गरिवको अझैं पनि जीवन स्तर फेरिएको छैन । मुसहर जस्ता गरिबहरु गरिवी र अशिक्षाका कारण मालिकको दास बनेर बसेका छन् ।
साहुको खेत खनेर काँधमा कोदालो लिएर बस्ती फर्किदैं गरेका हरी सदाले भने, आफुहरुको हालखबर बेहाल रहेको दुखेसो पोखें । उनले प्रधानमन्त्री राति सुतेको घर देखाउँदै भने, ‘प्रधानमन्त्री आउनु भयो । राति सुतेर जानुभयो, त्यसको अलावा अरु केही भएन ।’ गरिबहरु धनीको खुट्टा मुनी कहिले सम्म बस्ने ? उनले चिन्ता जाहरे गरे ।
यस्तै, चेतना स्तरबाट पछाडी परेका मुसहर समुदायका बच्चा पढ्ने नेपाल राष्ट्रिय जनजाति प्राथमिक विद्यालयको अवस्था झ्नै नाजुक रहेको छ । मुसहर वस्तीमा करिव पाँचसय स्कुले उमेरका बालबालिका रहेका छन् ।
तर, उनीहरु विद्यालय बाहिर रहेका छन् । करिब एक हजारको बसोबास रहेको मुसहर बस्तीमा कक्षा ४ सम्म पढ्ने कृष्ण सदा भन्दा अरु गाउँमा धेरै पढेको खोज्दा बिरलै भेटिन्छ ।
‘स्कूलमा नाम लेखाउने समयमा मुसहरका बच्चाहरुलाई मास्टरहरुले स्कूल लैजान्छन् । नाम लेखिदिन्छ । स्कूल ड्रेस दिन्छु भन्दै जीउको नाप पनि लिन्छन् । तर, स्कूल ड्रसे दिर्दैन,’ बस्तीका अनुपीया देवी सदाले भनिन्, ‘पढाउने बेलामा धनी मान्छेहरुले आफ्ना बच्चाहरुलाई सुविधा सम्पन्न सोनमाको बोडिङ्ग स्कूलमा पढाउँछ । ड्रेस वितरण हुने समयमा गरिव बच्चाको स्कूल ड्रेस बोडिङ्ग पढाउने धनीमनीले जर्बजस्ती खोसेर लिइदिन्छन् । उनीहरको बच्चा स्कूल ड्रेस लगाएर बाहिर पढ्न जान्छ । गरिवका बच्चाहरु ड्रेस नभएपछि स्कूले जान मान्दैन ।’ अहिलेसम्म मुसहरका बच्चाले छात्रवृत्ति नपाएको उनले गुनासो गरिन् । उनले अघि थपिन्, ‘नुन रोटी खान नपाएर भोकभोकै स्कूल जाने मुसहरका बच्चाहरुलाई शिक्षकहरुले राम्रोसंग रेखदेख गर्दैन । बरु हप्काएर पाठाउँछन् ।’
स्कूलमा नियमित पढाई पनि नहुने गरेको गीता देवी सदाले बताइन् । उनका अनुसार, शिक्षकहरु विद्यार्थीलाई पढाउनुको सट्टा राजनीति गर्छन् । १२ बजे स्कूल खोल्छन् । २ बजे स्कूल बन्दै गर्छन् । त्यसपछि गाउँ घुमेर गफ गर्छन् । स्कूलको पढाई लथालिङ्ग छ ।
बस्तीमा खानेपानीको पनि अभाव उस्तै छ । गाउँमा नजिकै रहेको अटोमेटिक पानी आउने बोडिङ्गबाट उनीहरु खानेपानी थाप्छन् । ६ महिना खानेपानी सजिलै पाइन्छ । तर, वैशाख लाग्ने वित्तिकै बस्तीमा खानेपानीको चरम समस्या हुने गरेको लालवत्ति सदाले बताइन् ।
‘भग्वानले पनि हामीलाई कति दुःख दिन्छ । जाडोमा ओढ्ने र ओछ्याने नहुँदा परालको चटाई औढेर सुत्छौं । वैशाखको गर्मि आउन साथ खानेपानीको अभाव खेप्नु पर्छ । वर्षात लागेपछि खानेपानी पाउँदा घर चुहिन थाल्छ ।’ जमिन्दाहरुले आफ्नो खेतमा सिंचाइको लागि बोडिङ्ग गाडेका छन् । उनलाई सिंचाइको आवश्यकता भएको बेला बोडिङ्ग खोल्छन् । अनि पानी सहजै पाइन्छ । सिंचाइको काम सकिएपछि बोडिङ्गको मुखै बन्द गरिदिन्छन् । त्यपछि मुसहरले खानेपानीको अभाव खेप्छन् ।
यस्तै, गाउँमा स्वास्थय चौकी नहुँदा मुसहरहरु स्वास्थ्य सेवाबाट पनि वञ्चित हुनु परेको छ । सरकारले वितरण गर्ने सिटामोल पनि मुसहरको पहुँचमा छैनन् । अस्पताल गाउँमा नहुँदा मुसहर समुदायका महिलाहरु घरमै बच्चा जन्माउँछन् । ‘मुसहरहरुसंग एम्बुलेन्सलाई तिर्ने भाँडा हुदैंन । त्यस कारणले बस्तीभन्दा टाढा रहेको अस्पतालमा सुत्केरी गराउन मुसहर महिलाहरु जान सक्दैनन्,’ सविता सदा भन्नि, ‘अहिलेसम्म मुसहर समुदायका महिलाहरु गर्भवत्ति जाँच पनि गराउन अस्पताल जानसकेको छैन ।’ अस्पतालमा उनीहरुको पहँुच नहँुदा धामीझाँक्रीको भरमा मुसहरहरु बाँचेका छन् ।
यस्तै, बस्तीमा बिजुलीको पोल गाडिएको छ । तार पनि झुन्डिएको छ । कागको लागि बेल पाक्यो हर्ष न विस्मात झंै भएको छ मुसहरको लागि बस्तीमा टाँगिएको विद्युतीय तार । जयकलादेवी सदा भन्छिन्,‘ विद्युतीय मिटर किनेर बिजुली बत्ति बाल्न रुपैंया हामीसंग छैन । चोरेर बिजुली बाले पक्राउ पर्ने डर छ । त्यसैले अन्धकारमै रात बिताउँछौ ।’