प्रचण्डको 'यु टर्न’ र करिम बक्सको जुत्ता
04/02/2011 07:46:00
युग पाठक NAYA PATRIKA 2067-10-21
झलनाथलाई प्रधानमन्त्री बनाउन माओवादीले देखाएको तदारुकता र प्रचण्डले देखाएको साहस उल्टो बाटोमा हिँड्न थालेको इतिहासलाई ठीक बाटोमा अवतरण गराउने एक सफल प्रयास हो
अप्रत्याशित रूपले झलनाथ खनाल प्रधानमन्त्री भए । यो 'अप्रत्याशित' स्थितिको निर्माता माओवादी थियो । व्यक्तित्वको तहमा पुगेर हेर्ने हो भने यो चमत्कारका रचयिता प्रचण्ड थिए । चामत्कारिक निर्णयमार्फत तत्काल 'यु टर्न' लिन सक्ने खुबी भएका प्रचण्डले प्रधानमन्त्री पदको आफ्नो उमेदवारी फिर्ता लिने निर्णय गर्नासाथ नेपाली राजनीति तरंगित भएको थियो । बिहीबारको व्यवस्थापिका संसद्मा आश्चर्यको सञ्चार भएको स्पष्ट अनुभूत गर्न सकिन्थ्यो । आश्चर्य यसप्रकार व्याप्त थियो कि प्रधानमन्त्री पदका प्रत्यासीहरू रामचन्द्र पौडेल र विजय गच्छदार आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्नभन्दा पछिल्लो राजनीतिक समीकरणप्रति रोषपूर्ण प्रतिक्रिया दिनमै सीमित भए । पौडेलले प्रचण्डको यो कदमलाई घुमाउरो भाषामा 'षड्यन्त्र' भने । गच्छदारले भने प्रचण्डलाई झलनाथको 'भाग्यविधाता' नै बनाए ।
राजनीतिक तहमा जे-जसरी लिइए पनि लामो अनिर्णयको स्थितिबाट मुलुकले मुक्ति पाएको अनुभूति सर्वत्र भएको छ । आमजनतामा राजनीतिले गति लिन सक्ने आशा पनि सञ्चार भएको छ । शान्तिप्रक्रिया र संविधान निर्माणको महायज्ञ बीचैमा अवरुद्ध हुने पो हो कि भन्ने शंकाको घैँटो फुटेको छ । प्रतिगमनको स्रोतमा कायापलट हुन सक्ने नकारात्मक परिस्थिति टरेको छ । लौका वा घिरौँलाकै भए पनि देशले एक प्रधानमन्त्री पाउनुपर्ने आग्रहसम्म विकसित भएको राजनीतिक नकरात्मकताको ज्वरो ओर्लेको छ । झलनाथ खनालले यो मौकालाई कसरी उपयोग गर्लान् भन्ने विषयमा दर्जन अनुमान र प्रक्षेपण आजैदेखि सञ्चारमाध्यममा छाउने नै छन् । हालसम्म निर्माण भएको उनको कमजोर राजनीतिज्ञको छविले शंकाको लाभ भने प्रदान गरिरहने नै छ । आफ्नो काम र क्रियाशीलताले इतिहासकै संवेदनशील घडीमा प्रधानमन्त्री हुनुको अर्थवत्ता प्रमाणित गरून्, उनका निम्ति पहिलो टिप्स यही हुन सक्छ ।
झलनाथका सीमा र सम्भाव्यताले नेपाली राजनीतिका आगामी दिन प्रभावित हुने नै छन् । साथै माओवादी र प्रचण्ड स्वयंका लागि समेत झलनाथको प्रधानमन्त्रीत्व टाउकोमाथि हल्लिरहेको तरबारसरह भइरहनेछ । कटवालकाण्डमा प्रचण्डलाई श्यामश्वेत धोका दिएका झलनाथले माओवादीबाट पाएको अप्रत्याशित र ठूलो परिमाणको समर्थनलाई कसरी व्यवस्थापन गर्छन्, त्यो नै उनको राजनीतिक इमानदारी मापन गर्ने आधार हुनेछ । तर, हाललाई भन्न सकिने कुरा के हो भने झलनाथलाई प्रधानमन्त्री बनाउन माओवादीले देखाएको तदारुकता र प्रचण्डले देखाएको साहस उल्टो बाटोमा हिँड्न थालेको इतिहासलाई ठीक बाटोमा अवतरण गराउने एक सफल प्रयास अवश्य हो ।
बिहीबारको संसद् बैठकमा प्रचण्डले आफ्नो सरकार ढल्दाको परिदृश्य स्मरण गर्नु अर्थपूर्ण थियो । कटवालकाण्डबाटै शान्तिप्रक्रिया, संविधान निर्माणलगायतका मुलुकका प्रमुख एजेन्डा अलपत्र भएका थिए, अनि माधव नेपालको प्रधानमन्त्रीत्वले त्यो 'अलपत्र'माथि कालोपत्र लगाउनमै योगदान गरिरह्यो । राजीनामा दिएपछि अझ 'बलियो' प्रधानमन्त्री बनेका नेपालले कामचलाउ हैसियतलाई प्रशस्त दुरुपयोग गरिसकेपछि सेना समायोजन प्रक्रिया पूरा गरेर नाम कमाउने कुटिल सदासयता देखाएका थिए । आन्तरिक विवादको घेरामा परेका प्रचण्डले त्यतिवेला पनि निकै साहसपूर्ण र चामत्कारिक निर्णय लिँदै शक्तिखोरको समारोहमा जनसेनालाई विशेष समिति मातहत ल्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । अर्को आइसब्रेकमार्फत प्रचण्डले संविधानसभाको औचित्य र अर्थपूर्ण राजनीतिको सम्भावनालाई एकैपटक उजागर गरिदिएका छन् । संविधानसभालाई 'फेल्ड डोमेन' अर्थात् असफल स्थल बन्नबाट माओवादीको यही निर्णयले जोगाएको छ ।
सेना हस्तान्तरणपछि माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्ने अपेक्षा थियो । एकप्रकारको मौन सम्मति शक्तिखोर समारोहमै उब्जिएको पनि हो । तर, कैयौँ बैठक र द्विपक्षीय तथा त्रिपक्षीय वार्ता एकपछि अर्को गर्दै असफल हुन थालेपछि प्रधानमन्त्रीको निर्वाचन पुनः अर्थहीन हुने सम्भावना बढेको थियो । सायद यही स्थितिको छनक पाएर हुन सक्छ, माधव नेपाल र केपी ओलीले झलनाथ खनाललाई पुनः एकपटक प्रधानमन्त्रीको उम्मेदवार बनाए । माओवादीले अन्तिम घडीमा लिएको निर्णय त्यसैले पनि एकप्रकारको झट्का बन्न पुग्यो र स्तब्धताकै बीचमा झलनाथ प्रधानमन्त्री घोषित भए । 'नेपालीको सरकार' बन्नुपर्ने आशय व्यक्त गर्दै आएको माओवादीका लागि यो 'यु टर्न' रणनीतिक सफलता पनि हो ।
चामत्कारिक निर्णयमार्फत देशलाई प्रधानमन्त्री दिन र लामो भद्दा राजनीतिक खेलको पटाक्षेप गर्न त माओवादी सफल भयो । तैपनि कतै उसको यो कदम करिम बक्सको जुत्ताजस्तो हुन पुग्ने त होइन भन्ने प्रश्नले पछिसम्म पनि उसलाई तर्साइरहनेछ । करिम बक्स लोककथाका एक पात्र हुन् । अत्यन्त लोभी करिम पुरानो जुत्तालाई टालिरहन्थे, तर नयाँ जुत्ता किन्ने कुनै उत्साह राख्दैनथे । टाल्दाटाल्दै उनको जुत्ता विरूप, भद्दा र गह्रौँ हुँदै गयो । फाटेको ठाउँमा टाँसिएका रबरका टुक्रा, मर्मत गर्दा प्रयोग गरिएका काँटी इत्यादिका कारण करिम बक्सको जुत्ता अत्यन्त मोटो पनि भइसकेको थियो । तैपनि, उनले त्यो जुत्ता फाल्न सकेनन् । एकदिन त्यही जुत्ताका कारण चिप्लिएर उनी लडे र मरे ।
पछिल्लो समयको माओवादी करिम बक्सकै हालतमा छ । ऊ आफैँभित्र र आफूबाहिरको प्रतिकूलतालाई टालेर काम चलाउने निरन्तर यत्नमा छ । व्यापक ठूलो संगठन, आन्दोलनजस्तो जनसमर्थन र ऊर्जायुक्त पार्टीका रूपमा उसको उदयले पुराना दलहरूको अस्तित्वमाथि प्रश्नको पासो तेस्र्यायो । संविधानसभा निर्वाचनको व्यापक जितपछि उसले सम्पूर्ण राजनीतिमा एकछत्र प्रभाव मात्र जमाएन, अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव स्थापित गर्यो । तर, संविधानसभाको शक्तिसंरचनामा स्पष्ट बहुमत नभएको र आफ्नो छोटो शासनकालमा पुरानो सत्तामाथि हस्तक्षेप गर्ने प्रयत्न गरेकै कारण पुराना दलहरू नयाँ खोल फुकालेर उसको विरुद्ध मोर्चाबन्दी गर्न पुगे । नयाँ ध्रुवीकरणले प्रगतिशील र यथास्थितिवादी शक्तिको स्पष्ट रेखांकन गरेपछि ऊ एक्लियो । विशेषतः भारतीय भूमिका अत्यन्त भद्दा र खुला हुँदै गएपछि माओवादी ट्याक्टिकल मेनुभरिंग अर्थात् कार्यनीतिक चक्कर सिर्जना गर्ने आफ्नै योजनामा आफैँ फन्का मार्न बाध्य भयो ।
त्यतिवेलादेखि माओवादी आफ्नो राजनीतिलाई तीव्र हस्तक्षेपमार्फत अघि बढाउन असफल हुँदै गयो । अनि उसले करिम बक्सको जस्तो टालटुले नीति लिन थाल्यो । हस्तक्षेपकारी चरित्र गुमाउँदै गएपछि बनेको नकारात्मक राजनीतिक ग्राफले उसलाई क्रमशः आन्तरिक संघर्षमा झोसिदियो । तर, आन्तरिक संघर्ष व्यवस्थापनमा पनि माओवादी टालटुले नीति अख्तियार गरिरहेको छ । माधव नेपालको राजीनामापछि जसरी पनि सरकारको नेतृत्व लिने उसको दाबी जुन हदसम्म टालटुले थियो, पछि उम्मेदवारी फिर्ता लिने प्रचण्डको निर्णय पनि धेरै हदसम्म प्रतिक्रियात्मक र परिस्थितिजन्य थियो । परिस्थितिमाथि हावी हुने प्रचण्डको शैली पछिल्लो शक्तिखोर हस्ताक्षरसम्म पुगेपछि केही अफेन्सिभ देखिएकै हो । तर, त्यो हस्ताक्षर अनमिनको अधुरो फिर्तीसँगै उत्पन्न परिस्थितिको बाध्यता थियो कि परिस्थितिमाथि प्रचण्डको हस्तक्षेप भन्ने प्रश्नले तदनुपरान्त जवाफ हासिल गर्न सकेन ।
जनसेनालाई विशेष समितिमातहत ल्याउने निर्णय अरू दलसँगको राजनीतिक लेनदेनका आधारमा भएको देखिएन । राजनीतिक लेनदेनविना त्यसो गर्नु परिपक्वता थिएन । यदि, त्यतिवेलाको राजनीतिक लेनदेनमा धोका भएको हो भने झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने अप्रत्याशित निर्णय करिम बक्सकै जुत्ताजस्तो भद्दा र विरूप नहोला भन्न सकिन्न । प्रचण्डले पछिल्लो समय प्रदर्शन गरिरहेको लचकता, हिम्मत र क्रमभंगप्रेमले राजनीतिमा परेका भ्वाङ टाल्ने मात्र अभिप्राय राख्छन् भनेर घोषणा गर्न त सकिन्न । तैपनि, परिवर्तनको सबैभन्दा प्रमुख बाहकशक्ति भएको हुनाले उसका असफलताहरूले इतिहासलाई प्रभावित गर्ने हुनाले झलनाथलाई समर्थन गर्ने उसको निर्णय करिम बक्सको जुत्ताजस्तो क्षणिक लाभका आधारमा बनेको स्थुल निर्णय नबनोस् भन्ने शुभकामना मात्र अहिले दिन सकिन्छ । आगे झलनाथ खनालकै भर !