NAYA PATRIKA
भारतीय सिनेजगतका चर्चित कलाकार बलराज साहनी आफ्नो विख्यात फिल्म 'दो बिघा जमिन' का लागि तयारी गरिरहेका थिए । त्यसमा उनले एक रिक्साचालकको भूमिका गर्नुपर्ने थियो ।
उनी परे पढेलेखेका सहरी बाबु, रिक्साचालक हुन्छन् अनपढ र देहाती । उनलाई मनमनै डर लाग्यो, कतै उनको भूमिका दर्शकलाई बनावटी लाग्ने पो हो कि ?
उनले रिक्साचालकले लगाउने लुगा लगाए र यताउता घुम्दै एक पानपसलनजिक पुगे । केहीबेर चुपचाप एकछेउमा उभिएपछि तिनले पानपसलेसँग देहाती शैलीमा भने, 'भाइ, एक प्याकेट चुरोट दिनुस् न ।'
पानपसलेले नियालेर हेर्यो, टाउकोमा गम्छा बाँधेको, देहातीले लगाउने लुगा लगाएको एउटा मान्छे अगाडि उभिएको छ । उसले हकारेर भन्यो, 'जा जा ! बडो आयो चुरोट खाने !'
बलराज पसलेको छुद्र व्यवहारबाट प्रसन्न भए । उनलाई भरोसा भयो कि उनी रिक्साचालकको भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्छन् ।
पछि त्यो फिल्म अत्यन्त सफल भयो । त्यसको श्रेय रिक्साचालकको भूमिका निर्वाह गर्ने तिनै बलराज साहनीलाई मिल्यो ।