Koitilya sharma Giraftar

संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष गिरफ्तार
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन १ गते । संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष कौटिल्य शर्माले आइतबार महोत्तरी जिल्लाको सिमावर्ती भिठामोडमा सार्वजनिक भई गिरफ्तारी दिएका छन् ।
सशस्त्र समुहका तर्फबाट पूर्व वार्ता टोलीका संयोजक समेत रहनुभएका शर्मा उपनामका संजय गुप्ताले ८ जना सहकर्मी सहित गिरफ्तारी दिएका हुन् ।
शर्मा सहित मोरंगका राजिव, आशिक अलि, विश्वजित, रौतहटका विक्रम यादव, रुपन्देहीका अर्जुन, सर्लाहीका सुखदेव सहित ८ जनाले जनजागरण अभियानका लागि भूमिगत क्रान्तिकारी जीवन परित्याग गरी सार्वजनिक क्रान्तिकारी जीवन अंगाल्नका लागि सार्वजनिक भइ गिरफ्तारी दिएका हुन् ।
उनीहरुलाई सिमावर्ती भिठामोडबाट बा१झ ७८७८ नम्बरको प्रहरीको भ्यानबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । हाल उहाँहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ ।
शान्तिपूर्ण बाटोको अस्तित्व समाप्त भइसकेको अवस्थामा क्रान्तिको अग्र भागलाई बचाउन तथा सबैले आ–आफ्नो राष्ट्रियता ससम्मान फिर्ता पाउनुपर्ने अडान सहित गिरफ्तारी दिएको शर्माले पत्रकारसम्मेलन गर्दे वताएका थिए । नेताहरु सत्ता लिप्सामा लागेकाले समयमै संविधान निर्माण नहुने समेत शर्माले दावी गरे । नेताहरुले आफुहरुले आ—आफ्नो मातृभाषामा मात्रै बयान दिने वताउनुहुदै नेपाली भाषामा आफुहरुले कुनै पनि हालतमा बयान नदिने अडान व्यक्त गर्नुभएको थियो । उहाँहरुले आफुहरुलाई पक्राउ गरी जेलमा राखे पनि त्यहाँबाट मुक्त हुने वित्तिकै दशवर्षे जनजागरण अभियान शुरु हुने वताउनुभयो । उहाँहरुले अबको आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिनुहुदै सबैलाई राष्ट्रिय एकतामा बाँधे अनुकरणीय हुने वताउनुभयो । आफुहरुले सार्वभौमसत्तासम्पन्न तराईको आँकाक्षा राखेको जानकारी दिनुहुदै आफुहरुको लडाई पहाडी र मधेशी समुदायबिचको साम्प्रदायिकता फैलाउन नभएको समेत जिकिर गर्नुभयो । उहाँहरुले सरकारले बढी दमन गर्न खोजे आफुहरुले आमरन अनसनमा समेत बस्न सक्ने वताउनुभयो ।
भारतको सितामढीबाट भारतीय टाटा सुमोबाट आई भिठामोड नाकामा प्रवेश गरी नाराबाजी गर्दे सिमा प्रहरी चौकी भिठामोडमा सार्वजनिक भएका थिए ।