महोत्तरीको बलात्कार काण्ड (अपडेट)
महोत्तरी समाचारदाता
जलेश्वर, माघ १७ गते । सामुहिक बलात्कारमा परेकी महोत्तरीको एक महिलालाई पुर्नस्थापित गराउन र दोषीलाई कारवाही गर्न आफुहरु पहल गर्ने राष्ट्रिय महिला आयोगले जनाएको छ ।
महोत्तरी जिल्लाको कोल्हुवावगेया—४ बस्ने सायरा (नाम परिवर्तन)लाई उनकै गाउँका दुईजनालाई पुस २८ गते सामुहिक बलात्कार गरेका थिए ।
महोत्तरीमा सोही घटनाको अनुगमनमा आएकी राष्ट्रिय महिला आयोगकी सदस्य मन्जु यादवले मानवअधिकार संरक्षण केन्द्रको कार्यालयमा आएर पत्रकारहरुसंग कुराकानी गर्नुुहुदै पिडितलाई पुर्नस्थापित गराउन र दोषीलाई कारवाही गर्न आफुहरुले पहल गर्ने जानकारी दिनुभयो । उहाँले कोल्हुवावगेयाका स्थानीयबासीहरु ती महिलालाई आफुहरुले यहाँ बस्न नदिने अडान राखेको जानकारी समेत दिइन । अनुगमनको क्रममा स्थानीयहरुले आफुहरुले पिडितलाई कुनै पनि हालतमा यहाँ बस्न नदिने, उसलाई राख्ने कोशिश गरिए आफुहरु भारत पस्छु’ वताएको जानकारी दिनुहुदै सदस्य यादवले भनिन्, ‘स्थानीयहरुले कि त उ बस्छ, कि हामी बस्छौं’ अडानमा छ’ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दश दिन भित्र दोषीहरुलाई ल्याउने गरी कागज गराएको कारण आफुहरु दश दिन पर्खिने वताउनुहुदै उहाँले त्यसपछि पिडितलाई पुर्नस्थापित गराउन आफुहरुले पहल गर्ने जानकारी दिइन ।
सायरालाई दुई जनाको समुहले पुस २८ गते गाउँ भन्दा परैको एक उखु खेतमा सामुहिक बलात्कार गरेका थिए । फलफुलको व्यवसाय गर्दे आएकी उनलाई पुस २८ गते साँझ एकडारा बाजारबाट फर्कदै गर्दा गाउँ भन्दा परैको एक उखु खेतमा लगी स्थानीय फरमुद अन्सारी र मुरतुज दफालीले जवरजस्ती गरेका थिए । सोही साँझ र त्यसको भोलीपल्ट गाउँलेहरुको बसेको भेलाले दुईवटा छुटाछुटै कथित माइन्युट गरी समुदायको रितिरिवाज उल्लंघन गरेको भन्दै पिडकलाई तीसहजार जरिवाना, पिडितलाई वडानं. ४ इस्लामपुरबाट बाहिर निकाला गर्ने, र दण्ड स्वरुप लिइएको रकम गाउँको विकासमा खर्च गर्ने निर्णय गरिएको थियो । पुस २८ गते वुधबारको दिन मो.कारी अंसारीको अध्यक्षतामा ३७ जनाले हस्ताक्षर गरेको छ भने २९ गते बिहिबार महिलाअधिकारकर्मीहरुको अध्यक्ष समिना खातुनको अध्यक्षतामा ३४ जना महिलाहरुले बसेर यस्तो निर्णय गरेको कथित माइन्युटमा उल्लेख छ ।
यता सो घटनालाई शुरु देखि नै नियालीरहनुभएका मानवअधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झाले प्रहरीले १० दिनको म्याद दिएकोले आफुहरु अहिले ‘हेर र पर्ख’ को स्थितिमा रहेको जानकारी दिनुहुदै त्यसपछि अर्को कदम उठाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पिडितलाई पुर्नस्थापना र दोषीलाई कारवाही गर्नुको विकल्प नै छैन्’ ।
गोरखापत्रमा वारम्वार सामुहिक बलात्कारमा परेकी महिलाले न्याय पाउन सकिनन् भनेर समाचार आउन थालेपछि प्रहरीले दुवैपक्षलाई बोलाएर दश दिन भित्र दोषीलाई ल्याउन कागज गराएका थिए । तर अहिले पनि पिडितलाई न्याय मिल्छ कि मिल्दैन् हेर्न वाँकी नै रहेको स्थानीयबासीहरुको भनाई रहेको छ ।
यता राष्ट्रिय महिला आयोगले महोत्तरी कारागारको निरिक्षण समेत गरेको जनाएको छ । आयोगका सदस्य मन्जु यादव र शाखा अधिकृत मधु अर्यालले कारागारको निरिक्षण गर्नुहुदै कैदी बन्दिहरु कारागारमा दयनिय जिवन जिउन वाध्य भएको वताएकी छिन् । उनीहरुले कारागारमा चाँडै नै सुधारको आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।