



लोकसेवा कार्यालयमा जानु कर्मचारीलाई सजाय
महोत्तरी समाचारदाता
जलेश्वर, वैशाख ५ गते । लोकसेवा आयोग जनकपुर अंचल कार्यालय जलेश्वरको हाताभित्र निर्माण गरिएको नवनिर्मित परिक्षा भवनको उदघाटन सोमबार एक समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष डा.कयो देवी यमीले गर्नुभएको छ ।
सदरमुकाम जलेश्वरमा रहेको सो कार्यालयको हाताभित्र एक कोठे परिक्षाभवन निर्माण गरिएको छ । जसको लागत १० लाख ४७ हजार ६३ रुपैया रहेको लोसेआ जनकपुरअंचल कार्यालयका निमित्त प्रमुख दिनेशचन्द्र साहले जानकारी दिनुभयो ।
उदघाटन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै कार्यवाहक अध्यक्ष यमीले नेताहरु प्रति व्यंग्य गर्नुहुदै नेता बन्न पनि लोकसेवाले परिक्षा लिए राम्रो हुने धारणा राख्नुभयो । उहाँले नेपालमा एउटा थिती बसाउन लोकसेवा आयोगले महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्नुहुदै देशको वर्तमान अवस्थाले चिन्ता बढाएको बताउनुभयो । उहाँले अप्रत्यक्ष रुपमा देशको थिती नेताहरुले विगारेको बताउनुहुदै भन्नुभयो, ‘ अब नेता बन्न लोकसेवा पास गर्नुपर्छ’ ।
उहाँले समावेशी, प्रवृद्धिहरुको प्रयोगहरुका कारण लोकसेवा प्रति सर्वसाधारणको आकर्षण बढदै गएको वताउनुहुदै भन्नुभयो, लोकसेवा अहिले सम्म निष्पक्ष भई निरन्तर कार्य गरेको कारण सर्वसाधारणको आकर्षण बढेको हो ।
सोही कार्यक्रममा आयोगका सदस्य राजेन्द्र प्रसाद शाहले कर्मचारीहरुको प्रवृति राम्रै ठाउँमा जाने, राम्रै मन्त्रालय रोज्ने रहेको वताउनुहुदै लोकसेवा आयोगमा जानु कर्मचारीहरुको लागि सजाय जस्तो भएको धारणा राख्नुभयो । उहाँले यस कार्यालयमा काम गर्नु बाहेक कहि कतैबाट आम्दानी नआउने भएकोले कर्मचारीहरुलाई यस कार्यालयमा आउनु सजाय जस्तै भएको दावी गर्नुभयो । उहाँले तराई क्षेत्रमा अहिले पनि लोकसेवा हाम्रो लागि होइन भन्ने मानसिकता रहेको वताउनुहुदै त्यो मानसिकतालाई हटाउन लोकसेवा आयोगले विशेष कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
जनकपुर अंचल कार्यालय जलेश्वरका निमित्त प्रमुख दिनेश प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा लोकसेवा आयोगका प्रशासन शाखा प्रमुख उपसचिव टिकाराम ज्ञवाली, प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
No comments:
Post a Comment