Sunday, July 27, 2014

महोत्तरी क्लब तथा पुस्तकालय

Niraj Kumar Rokka, Mahottari
पुस्तक ज्ञानको सिमित भण्डार हो भने पुस्तकालय ज्ञानको असिमित महासागर हो ! महोत्तरी जिल्ला जलेश्वर-२ मा अबस्थित अञ्चलकै ठुलो तथा बुढो पुस्तकालयको रुपमा नामांकित महोत्तरी क्लब तथा पुस्तकालय आज जिर्ण अवस्थाबाट एउटा पक्कि घरमा निर्मित भएको छ ! घर त निर्मित भयो तर अध्ययन गर्न एउटा पुस्तक सम्म छैन ! यस पुस्तकालय हामी सबैको साझा सम्पति हो ! यो कसैको घरको लालपुर्जा होइन जसलाई जे मन लाग्यो गरोस ! यो भत्किदा,टुट्दा,फुट्दा हामी सबैको मुटु दुख्छ ! यो हामी सबैको पाठशाला पनि थियो ! पहिला भन्दा आर्थिक रुपले बलियो भएको छ तर यसलाई पुनः संचालनमा ल्याउने सानु प्रयास सम्म गरिएन ! पुस्तक अध्ययनशाला,खेलकुद तथा सामाजिक चेतना यस पुस्तकालयको परिचय हो तर आज यो मौन छ केहि गर्ने चेतना सम्म छैन ! पुस्तकालय अगाडी भवनको भित्तामा कार्यसमितिको नाम बडो रोचक ढंगका साथ लेखिएको छ ! कति उत्साह थियो होला ति नाम भित्ता लेखीदा ! यो पुस्तकालय पुनः पुस्तकालयको रुपमा संचालनमा आउन न सकेको दुई दशक भन्दा बडी भयो ! यो दुई दशकमा मुलुकले धेरै परिबर्तनलाई आत्मासाथ गर्यो ! धिक्कार छ ति समाजका संस्कारलाई,धमिराले खाई सकेका दिमागलाई,जुन पुस्तकालयले मानब जीवनको समाजका बिबिध पाटाहरुलाई खोतल्ने प्रयास गर्दा गर्दै भर्खर फक्रिन लागेको पुस्तकालयलाई मृत्युको कामना गरी दिए ! तर बिगतको जवाफ कसले दिने ! न त वर्तमानले दिने आट गर्छ ! संस्कार उही हो,संस्कृति उही हो र मान्छेको जीवन शैली पनि उही हो जसलाई फेर्ने कोशिस कसैले गरेनन ! मैले बाल्यकालमा पटक पटक परिक्रमा गरेको यस पुस्तकालय मेरो जिन्दगीको बाटो हो,जुन बाटोमा हिड्दा मलाई पटक पटक चोट लाग्यो,ठेस लाग्यो,काडा बिझ्यो र घाउ भयो र पनि मलाई यो बाटो अति प्यारो लाग्छ ! जिबनको सार्थकता आशाबादी बन्नुमा छ त्यसैले हामी सबै मिलि हाम्रो पुस्तकालयलाई पुनः संचालन गरौ ! क्लबका वर्तमान संचालक व्यक्तिगत स्वार्थका लागि क्लब भवनमा आफ्ना गा.बि.स. कार्यालय संचालन गरि रहेका छन् ! एउटा सामाजिक सस्था आज सास्कृतिक निर्त्यकर्मको रुपमा परिणत भएको छ,विभिन्न राजनीति पार्टीका बैठक, गोष्ठी ,बिबाहको रुपमा जन्ती आएका मानिसहरुलाई राती सुत्ने व्यवस्था आदि इत्यादी काम बाहेक केहि छैन अचेल यस क्लबको ! राणा शासनको अन्त्य हुनु भन्दा पहिला स्थापना भएको यस पुस्तकालय अशिक्षित समाजमा चेतनाको कमीले पिडित हाम्रो समाजलाई चेतनाले शिक्षित बनाई रहेको थियो ! आर्थिक रुपले सबल र बलियो भएको वर्तमान अबस्थामा यस पुस्तकालयको आर्थिक आम्दानीको रुपमा १३ बटा सटरहरु भाडाको रुपमा प्रयोग भएको छ तर पनि पुस्तकालयको रुपमा परिणत हुन् सकेन ! पक्कै पनि यस महोत्तरी क्लब तथा पुस्तकालय जलेश्वर नगर पालिकाको मौलिकता थियो ! आफ्नु मौलिकतालाई बचाई राख्न नसक्नु हाम्रो कमजोरी नै हो ! आफ्नु समाज, गाउँ टोल, आफैले बनाउने हो कोही आउला र बनाई देला भनेर बस्ने हो भने हाम्रा एक मात्र आस्थाका रुपमा रहेका बाबा जलेश्वरनाथ मन्दिरको पनि आउदा दिनमा यस्तै न होला भन्न सकिन्न ! यस समाजका युवा वर्ग, बुद्धिजिबी तथा विभिन्न राजनीति पार्टीमा आस्था राख्ने व्यक्तिहरुले चासो लिनु पर्ने बेला आएको छ ! एक एक सय हुन्छ , हजार हुन्छ लाख हुन्छ, एकले गरे के पो हुन्छ मिलि गरे जे पनि हुन्छ ! सबै मिलि यस पुस्तकालयलाई बचाउने बेला आएको छ! यहाँका युवा पौरखी हातहरु बिदेशिएका छन् ,भएका युवाहरुले केहि गरेनन अब बिदेशिएका युवा गाउँ फर्की केही गर्ला भनेर कुरेर बस्ने कि यहाँ भएकाहरुले नै केही गर्ने कि ? यदि आफु माथि शंका लागेको छ भने एक पटक छातीमा हात राखी मातृभूमिको एक मुट्ठी माटो समाई त हेर अनि थाहा हुन्छ मैले मातृभूमिलाई के दिए भन्ने पिडा कति हुन्छ भनेर ! हे २१ औं शताब्दीका मानबहरु हो ! दलीय दासता र नेताको दासताबाट मुक्त भई वास्तविक धरातलमा उभिई,कसको कृपाले को के भयो त्यहि कृपालाई आफ्नु दासता बनाई सदासर्बदा दास बन्ने प्रबित्ति बाट मुक्त होऊ ! तिमि शिक्षित छौ,तिमि सभ्य छौ,तिमि सोच्न सक्छौ तसर्थ खुला दिमागले सोचौं मानसिक दासताबाट मुक्त होऔं ! सकिर्णता बाट मुक्त भई बास्तबिकतामा उभिन अभिप्रेरित गर्दछु र हरेक समस्याको समाधान लोकतन्त्रमा सम्भब छ ! तसर्थ: यस पुस्तकालयको समस्या समाधान गर्न तिर लागौं ! महोत्तरी क्लब तथा पुस्तकालयलाई कसरी सपार्न सकिन्छ ? महादेव मन्दीर अघिल्तिरको पोखरी जहाँ हाट पनि लाग्छ, सबैभन्दा भब्य छठ हुन्छ त्यसलार्इ कसरी स्वच्छ, सफा राख्ने ? वजार क्षेत्रका वासिन्दा घरभित्रको फोहोर यहाँ सम्मकी कोपराको फोहोरसमेत सडकको विचमा ल्याएर विसर्जन गर्छन ! यसलार्इ कसरी रोकथाम गने ? ढल निर्माण् भएका छन्, निकास नभएर ढलको पानि सडकमा वग्छ यसलार्इ कसरी निकास दिने ? यही ढलमा पानी भरिएर लामखुट्टैको तौल बढेर गएको छ ! त्यसैले नगर पालिका गैर-जिम्मेबारी हुदा यस सुन्दर नगरको हालत बगर जस्तो हुन् थालेको छ ! बिडम्बना: सफलता वा असलातालाई मेहनत र परिश्रम भन्दा भाग्य संग जोडेर हेर्ने हाम्रो समाजको आम प्रबिधि नै बनेको छ ! भाग्य भए ढुंगा छुदा नि सुन बन्छ रे ! कर्म नै नगरी भाग्यको आशा गर्ने पनि छन् हाम्रा समाजमा ! त्यसैले युबाहरुको ध्यान पुस्तकालयको साथ- साथै नगर बिकाशमा पनि पुग्नु जरुरि छ अनि मात्र युवा हुनुको दायित्व पुरा हुन् जान्छ ! हामी सबै जलेश्वरबासी मिलि भावी पुस्ताले भविष्यमा पाउनु पर्ने हक अधिकार न खोसौं नत्र सतिले सरापेको देश नेपालमा हाम्रा भावी पुस्ताले हामीलाई न सराप्ला भन्ने छैन !

No comments:

Post a Comment