तमलोपाको जिल्ला अध्यक्षमा अभिराम निर्विरोध निर्वाचित Mahottari

तमलोपाको जिल्ला अध्यक्षमा अभिराम निर्विरोध निर्वाचित
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ११ गते । तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरीको पहिलो अधिवेशनले अभिराम शर्मालाई निर्विरोध निर्वाचित गरेको छ ।

यो भन्दा अगाडी पनि जिल्ला अध्यक्ष शर्मा नै रहेका थिए । दुई दिन सम्म चलेको आरोप प्रत्यारोप र छलफल पश्चात आइतबार सर्वसम्मतीबाट निर्विरोध रुपमा अध्यक्षमा शर्मालाई चयन गरिएको तमलोपाका पूर्व जिल्ला सचिव सुशिल कुमार राउतले जानकारी दिनुभयो ।

उहाँले शुरुमा अध्यक्ष पदको लागि ७ वटा प्रत्यासी रहेका थिए । जसमा अभिराम शर्मा, रामशंकर मिश्र, सुशिलकुमार राउत, हरिनारायण मण्डल, शम्भु पाठक, रोशन मिश्र र रामजीवन साह रहनुभएको थियो । तर आइतबार बिहान ५ जनाले उम्मेदवारी फिर्ता लिएपछि पुनः छलफल गरी शर्मालाई निर्विरोध निर्वाचित गरिएको पार्टीका केन्द्रीय सहमहामन्त्री तथा अधिवेशन पर्यवेक्षक जितेन्द्र सोनलले जानकारी दिनुभयो । उहाँले आइतबार बिहान अध्यक्षको प्रत्यासीमा शर्मा र रामशंकर मिश्र रहनुभएको थियो तर लामो छलफल पश्चात शर्मालाई अध्यक्षमा चयन गरिएको जानकारी दिनुभयो ।

केन्द्रीय पर्यवेक्षक तथा केन्द्रीय सहमहामन्त्री सोनलले ३१ सदस्यीय जिल्ला कार्यसमितिमा अध्यक्ष सहित २२ जना सदस्यको टुङ्गो लागिसकेको जानकारी दिनुहुँदै प्रमुखपदहरु अध्यक्षले समावेशी र पार्टीलाई एक ढिक्का बनाउने हिसावले मनोनित गर्ने जानकारी दिनुभयो ।

सर्वसम्मतीबाट जिल्ला सदस्यहरुमा क्षेत्र नं. १ बाट वैजनाथ महतो, निरञ्जन यादव, क्षेत्रनं. २ बाट दिपक यादव, शिवचन्द्र झा, जिवछ साह, आमोद यादव, सुनिल यादव, क्षेत्रनं. ३ बाट राकेश सिंह, रामकुमार रोशन ठाकुर, कविता मिश्र, शिवचन्द्र झा, सुवोध यादव र ध्रुव यादवलाई चयन गरिएको वताउनुभयो । त्यसैगरी क्षेत्रनं. ४ बाट उपेन्द्र झा, शत्रुधन राय, श्रीमती ललिता देवी, लाल महममद, क्षेत्रनं. ५ बाट प्रमेश्वर मण्डल, काशी यादव र क्षेत्रनं. ६ बाट रामसेवक महतो र रामकुमारी महतो सदस्यमा सर्वसम्मतीले चयन गरिएको नव निर्वाचित अध्यक्ष अभिराम शर्माले जानकारी दिनुभयो ।

जिल्ला कमिटिमा बाँकी रहेका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र ५ जना सदस्यलाई अध्यक्षले पछि मनोनित गर्ने जनाइएको छ ।

तमलोपाको पहिलो जिल्ला अधिवेशनलाई एक समारोहका बीच अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्नुभएको थियो । उहाँले सो अवसरमा मधेश र मधेशीको अधिकारको लागि तमलोपाले लडाई सधैं लडिराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।