AJMARPATTI Ma Sadak Banaudai Sundar AVIYANIHARU & NEPALI SENA |
सुन्दर अभियान र रिक्वेष्ट अभियानप्रति सर्वसाधारणको चासो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १५ गते महोत्तरी जिल्लाका केही उत्साही युवाहरुले थालेको ‘सुन्दर अभियान’ तथा ‘रिक्वेष्ट अभियान’ प्रति सर्वसाधारणहरुको चासो बढनुका साथसाथै उनीहरुले यसमा सहयोग समेत गर्न थालेका छन् ।
सर्वसाधारणहरु मात्रै होइनन् सुन्दर अभियानीको कामलाई सराहना गर्दै विभिन्न कार्यालयहरुले समेत सहयोग र सहकार्य गर्दै आएका छन् । अहिले जिल्लाका सुन्दर अभियानका अभियानकर्मी युवाहरुले गाउँबस्तीमा शिक्षा, वातावरण, सरसफाई र निर्माणका कामहरुलाई अगाडी बढाएका छन् ।
‘सामाजिक रुपान्तरणका लागि सबैको सहभागिता’ नाराका साथ सुन्दर अभियानकर्मीहरुले थालेको कामलाई सराहना गर्दै जिल्लाको परिकौलीस्थित शेरगणले समेत सहकार्य गर्दै आएका छन् । शेरगण परिकौलीका गणपति विष्णुबहादुर कार्कीले युवाहरुले गाउँघरमा जुन जनचेतना जगाउने कार्य गरेको छ यसले मलाई प्रभावित बनाएकोले सहकार्य र सहयोग गर्दै आएको वताउनुभयो । उहाँले भन्नुभयो, ‘सुन्दर अभियानका युवाहरु निष्पक्ष, निष्ठावान र कुनै प्रलोभनमा नपरि कार्यगर्ने गरेको कारण आफुहरु सहयोग र सहकार्य गरेको हुँ ।’ यस्ता काममा हामी सदैव अग्रणी रहने उहाँले वताउनुभयो ।
पछिल्लो समयमा सुन्दर अभियानकर्मीका युवाहरुले दुई दिन लगाएर जिल्लाको भटौलिया गाबिसको अजमरपट्टी गाउँबाट पर्साटोलसम्मको एक किलोमीटर ४०० मीटर दुरीको सडक किनारमा बिभिन्न जातका वृक्षारोपण गरेका छन् । सो ठाउँमा अशोक, अमला, सुनाखरी, जामुन, आँप र सपातोसहित बिभिन्न जातका गरि ९०० बिरुवा रोपिएको ‘सुन्दर अभियान’ अगुवा तथा गोरखापत्रको मैथिली पृष्ठका संयोजक मनोज झा मुक्तिले जानकारी दिनुभयो ।
सो कार्यमा पनि नेपाली सेनाका शेरगणका जवानहरुले दुई दिन अगाडी नै बाँस काटेर वृक्षलाई घेरावन्दी गर्ने खोप निर्माण गरेको अभियानकर्मी मुक्तिले वताउनुभयो । उहाँले यस कार्यमा वन कार्यालयले वृक्ष प्रदान गरेको तथा खोप निर्माणको लागि विभिन्न दाताहरुबाट बाँस मिलेको जानकारी दिनुभयो ।
करिब डेढवर्ष अगाडी जिल्लाका केही युवाहरुले विभिन्न ठाउँबाट बाँस ल्याई खोप बनाएर सदरमुकाम जलेश्वरको प्रसिद्ध भार्गवसर कुटीमा वृक्षारोपण गरी यो कार्यक्रमको विधिवत् शुरुवात गरेका थिए । जिल्लाकै मटिहानी स्थित याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठका प्राध्यापक समेत रहनुभएका मुक्तिले सो वृक्षारोपण पश्चात केही युवाहरु कामको सिलसिलामा वैदेशिक रोजगार तथा केही युवाहरु आफ्नो काममा फसेपछि निरन्तरता नमिलेको वताउनुहुदै अहिले विभिन्न निकायहरुले कामलाई सकारात्मकरुपमा लिई सहयोग गरेपछि अझ काम गर्न हौसला बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो अभियानमा जिल्लाकोे परिकौलीस्थित नेपाली सेनाको श्री शेर गण, नेपाल प्रहरी, जिल्ला वन कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल पत्रकार महासङघ, सामाजिक सङघ संस्था, शिक्षा कार्यालय र नागरिक समाजका प्रतिनिधिको उत्साहपूर्ण सहभागिताले हौस्याएको छ’ ।
आ–आफ्नो पेशामै रही सकारात्मक कुरामा काम गर्नु नै यस अभियानकर्मीहरुको मुख्य उद्देश्य रहेको छ । उनीहरुले सकारात्मक कामको माध्यमबाट जागरुकता जगाउने कार्यका साथसाथै अरुको मुख नताकी आफ्नै श्रोत, साधन र सबैको सहयोगबाट विकास निर्माणको काम गर्न सकिने बनाउन यस्ता कार्यलाई निरन्तरता अभियानकर्मीहरुले दिइरहेका छन् ।
अभियानकर्मीहरुले यसअघि जिल्लाकै एकडारा गाबिस बस्तीमा त्यहीकै बासिन्दालाई सहभागी बनाएर सडक निर्माण र सरसफाई कार्यक्रम सम्पन्न गरेका थिए । त्यसैगरी केही दिन अगाडी मात्रै जिल्लाको पिपरा स्थित दुईवटा विद्यालयमा जिल्ला शिक्षा कार्यालयका प्रमुख जिशिअ रणदीप वस्नेतलाई लगेर शिक्षाको अवस्था तथा विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।
गाउँबस्तीमा शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी र परिणाममुखी बनाउन सम्बद्ध सेवाप्रदायक र सेवाग्राहीबीच सञ्चालन गर्दै आएको अनुरोध (रिक्वेष्ट) अभियानले जिल्लाका ग्रामिण क्षेत्रका बिद्यालय र स्वास्थ्य संस्थाको सेवामा सकारात्मक परिवर्तन आएको अभियानको वुझाई रहेको छ ।
युवाहरुको यस अभियानले सेवाग्राही संस्थाहरु झन सजिलो बनाएको जिशिअ रणदीप वस्नेतको वुझाई रहेको छ । जिशिअ वस्नेतले पिपराको दुई विद्यालयमा गएर आफुहरुले ति विद्यालयको समस्या समाधानमा भुमिका खेलेको र यसमा सुन्दर अभियानकर्मी युवाहरुको भुमिका प्रशंसनिय रहेको वताउनुभयो ।
सुन्दर अभियानकर्मीले अझ यस्ता क्षेत्रहरु गाउँ घरमा जागरुकता जगाउने कार्य गर्नु जरुरी रहेको वुझाई स्थानीयहरुको रहेको छ ।