सानो सहयोगले ल्याएको ठूलो परिवर्तन In Mahottari

सानो सहयोगले ल्याएको ठूलो परिवर्तन 
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १३ गते । महोत्तरी जिल्लाको कोल्हुवा वगेया ४ बस्ने सकिना खातुन ४ वर्ष अगाडी सम्म पर्दा (घुम्टो) भित्र सीमित थिइन । टोलमा कुनै नौलो अनुहार गए उनी असहज महशुस गरि घरभित्र पस्थिन । घरपरिवारका पुरुष सदस्यहरु पनि बाहरियासँंग बोल्न रोक लगाएकाले परिस्थिती असहज थियो । अहिले समय फेरिएको छ । कोही आयो, वा टोलमा कुनै बैठक भयो भने उनी निर्धक्क साथ नमस्कार गर्दै उनी आफ्नो परिचय दिदैं आँफू नुरी शान्ति समूहको सदस्य भएको बताउछिन् । उनमा यो हिम्मत युएनडीपीको शान्तिको लागि जीविकोपार्जन परियोजना (एलआरपी) ले अति विपन्न र सीमान्तकृत परिवारहरुलाई लक्षित गरि सञ्चालन गरेको सामाजिक परिचालन पश्चात आएको हो ।

युएनडीपीले सामाजिक परिचालन अन्तर्गत अति विपन्न घरधुरीहरुलाई आधारभूत जानकारी र सूचना प्रवाह गदै आएको छ । ‘समुहमा बस्ने बानीले फाइदै भएको छ । नागरिकता प्रमात्रपत्र भयो भने के हुन्छ, भएन भने के कस्ता जटिलताहरु भोग्नुपर्छ, उप स्वास्थ्य चौकीबाट के सुविधा पाइन्छ ? गाविसको सेबा सुविधा कसरी पाईन्छ जस्ता जानकारीले हाम्रो बुद्धि बढेको छ,’ सकिना खातुनले बताइन् ।

सकिना खातुन मात्रै होइनन्, कोल्हुवावगेया ४ इस्लामपुरकै मैफुल खातुन पनि सामाजिक परिचालन कार्यक्रमबाट धेरै सिकेर आफ्नो विचार जमाएरै राख्न थालेकाले उनको टोलमा ‘नेता’ कहलिएकी छिन् । त्यही भएर महिलाहरुले उनलाई नुरी शान्ति समूहको अध्यक्ष बनाएकाछन् ।

युएनडीपीले महोत्तरी, सर्लाही र रौतहटका सबै २७१ गाविसका अति विपन्न वस्तीहरुमा ९१७ सामुदायिक समुह निर्माणमा सहयोग गरि २७,०७५ घरधुरीहरुलाई सघाएको जनाएको छ । स्थानीय निवार्चित सरकार नभएको समयमा गरिव वस्तीहरुमा युएनडीपीले गरेको सामाजिक परिचालन तथा पूर्वाधार सहयोग कार्यक्रम, आय आर्जन सुधारका लागि प्रति घरधुरी ९००० बरावर अनुदान कार्यक्रम र महिला हिंसा अन्त्य गर्न सचेतना कार्यक्रमबाट अति विपन्न वस्तीहरुले राम्रो लाभ पाएका छन् । 

‘पहिला गाविसमा आउने बजेट कति आँउछ, कहाँ कसले खर्च गर्छ केही थाहा थिएन । गाविसको बजेट गरिव बस्तीहरुमा खर्च गराउन हाम्रो समुहले गाविस सचिब र नेताहरुलाई दवाव दिन थालेको छ,’ सकिनाले बताइन् । ‘हाम्रै बिकास बजेटबाट नेताहरु मोजमस्ती गर्छन तर विकासको काम केही गर्दैनन्, त्यसैले अब हामी महिलाहरु नै एकजुट भएर लागिपरेका छौं ।’

‘म पढेलेखेको छैन् तर समूहमा आएपछि थुप्रै कुरा वुझेको छु, सिकेको छु र त्यही सिकाईलाई व्यवहारमा उतारिरहेको छु’, शुद्ध नेपाली भाषामा बोल्दै खातुनले भनिन्, ‘हामी चेतना अभावमा दुःख खेप्यौं अब हाम्रा छोरी र बुहारीले दुःख नखेपुन भन्ने चाहना राखेको छु, त्यही भएर समूहमा आवद्ध भएर विभिन्न सिपमूलक कार्यक्रम र आयआर्जनका कार्य गर्दै गाउँमा जनचेतना जगाउने कार्य गर्दै आएकाु छु’ ।

जनचेतना अभावकै कारण जन्मदर्ता, विवाह दर्ता र नागरिकताको महत्व नवुझने यी टोलका महिलाहरु अहिले छोरा छोरी जन्मेको र विवाह भएको ३५ दिन भित्रै जन्मदर्ता र विवाह दर्ता गराउको प्रमाणको रुपमा कागजात देखाउन पछि परेनन् । १६ वर्ष पुगेका अधिकाशं महिला पुरुषले नागरिकता बनाएको सकिनाले बताइन् ।

नजिकैको मनरा गाविस ६ मुसहरी टोलमा रहेको जानकी शान्ति जिविकोपार्जन समूहकी अध्यक्ष दशनीदेवी सदाले पनि समुहगत सिकाइबाट महिलाहरु संगठित भएको बताइन् । समुहकै पहलमा गाविसले दिएको २० हजार रुपैयाबाट उनीहरुले विद्युत लाइन विस्तारका लागि पोल खरिद गरेको पाइयो । विद्यालयको मुख नदेखेका उनीहरुले छोराछोरीहरुलाई विद्यालय पठाउन थालेका छन् । दशनी भन्छिन्ः ‘हामीले दुःख पाएको अनपढ भएर हो । हामी जस्तो दुःख गरेर भएपनि केटाकेटीहरुलाई स्कुल पठाउँछौं । अब हाम्रा छोराछोरी पढ्ने विद्यालयको व्यवस्थापन समितिमा हाम्रो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छौ ।’

उनले बँगुर र सुँगुर पालनबाट मात्रै नभई सानो खाजा पसल पनि सञ्चालन गरेक िछन् । जीविकोपार्जनको वैकल्पिक बाटोले थप आयआर्जन गर्न सकेकोमा उनी खुसी देखिन्छन् । ‘एक दिनमा १५० देखि २५० सम्म हुने कमाइले घरायसी खर्च धान्न धेरै सजिलो भएको छ ।’

गरिव बस्तीहरुमा नगन्य संस्थाहरुको उपस्थिती भएको सन्दर्भमा युएनडीपीले मानव परिसूचकमा पछाडि परेका तराईका सर्लाही, महोत्तरी, र रौतहट जिल्लामा गरेको सामाजिक र आर्थिक सशक्तिकरणले विषेशत मधेशका विपन्न दलित महिलाहरुमा नयाँ जागरण ल्याएको युएनडीपीका सञ्चार अधिकृत देबेन्द्र ढुंगानाले बताउनुभयो ।