पिसीएफ कोटा वितरणप्रति आपत्ति Mahottari

पिसीएफ कोटा वितरणप्रति आपत्ति
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ७ गते । जिल्ला शिक्षा कार्यालय महोत्तरीले मनोमानी ढंगबाट पिसीएफ अनुदान रकम वितरण गरेको भन्दै शिक्षकहरुले आपत्ति जनाउँदै यसलाई सच्चाउन माँग गरेको छ ।
नेपाल पिसीएफ शिक्षक संघर्ष समिति महोत्तरीले वुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई स्मरण गराउँदै मनोमानी ढंगबाट वितरण गरिएको पिसीएफ शिक्षकहरुको अनुदान रकमको माँगलाई उचित सम्बोधन गर्न माँग गरेको छ ।
संघर्ष समितिका अध्यक्ष अशोककुमार यादवले जिल्ला शिक्षा कार्यालय महोत्तरीका जिल्ला शिक्षा अधिकारी तथा कार्यक्रम संयोजकले मनोमानी ढंगबाट शिक्षकहरुलाई मर्का पर्ने गरी पिसीएफ अनुदान रकम बाँडेको वताउनुहुदैं हाम्रो माँग सम्बोधन नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । अध्यक्ष यादवले भन्नुभयो, ‘जिशिकाको यो कार्यले महोत्तरीका २ सय ६४ पिसीएफ शिक्षकहरुलाई मर्का परेको छ, यो मर्का हामी कुनै हालतमा सहन्नौं, जे गर्नुपर्छ हामी गछौं’ ।
अध्यक्ष यादवले जिशिकाले अख्तियारबाट निलम्बित विद्यालयलाई पनि पिसीएफ अनुदान रकम वितरण गरिएको जानकारी दिनुहुदै विना योजना गरेको कार्यप्रति आपत्ति जनाउनुभयो । उहाँले छिमेकी जिल्लाहरुमा पनि पिसीएफ रकम वितरण गर्दा कुनै पनि विद्यालयका शिक्षकहरुलाई मर्का नपर्ने गरी बाँडिएको जानकारी दिनुहुदैं समयमैं माँगलाई सम्बोधन गर्नुपर्ने वताउनुभयो ।