तीन सशस्त्र भूमिगत समूहसँग वार्ता In Janakpur

तीन सशस्त्र भूमिगत समूहसँग वार्ता Posted: Monday, Aug 11, 2014 16:10 PM ( 30 minutes ago ) News Subscription: जनकपुरधाम, साउन २६ - सरकारले गठन गरेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले सोमबार तीन सशस्त्र भूमिगत समूहहरुसँग वार्ता गरेको छ । समितिले भाइरस किलर्स, जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूह र अखिल तराई मुक्ति मोर्चासँग छुट्टा छुट्टै वार्ता गरेको हो । जनकपुरको रामा होटेलमा चलेको समिती र उक्त तीन सशस्त्र भूमिगत समुहबीच वार्ता भएको छ । वार्तामा भाइरस किलर्सले उठाउँदै आएका संविधानका विषयवस्तुहरु संविधानसभामा छलफलका लागि प्रस्तुत गर्ने प्रतिवद्धता सहित समिति र मधेशी भाइरस किलर्स बीच तीन बुँदे सहमति भएको समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले जानकारी दिनु भएको छ । दुई पक्ष बीचको वार्तामा मधेशी भाइरस किलर्सले नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ता प्रति पूर्ण प्रतिवद्ध रही शान्तिपूर्ण ढंगले अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यसैगरी भाइरस किलर्ससँग रहेको हातहतियार सरकारले जफत गरिसकेको र हाल कुनै हातहतियार नरहेको समेत सहमति पत्रमा उल्लेख रहेको छ । त्यसैगरी जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूह र अखिल तराई मुक्ति मोर्चा अजित समूहसँगको छुट्टा छुट्टै वार्तामा समितिले चार बुँदे सहमति गरेको छ । वार्तामा पृथ्वी समूहले आफूसँग रहेका सम्पूर्ण हातहतियार, बन्दी एवं भूमिगत कार्यकर्ता र मुद्दाको विवरण ११ दिन भित्र र अजित समूहले सात दिन भित्र उपसमितिलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । समितिले मोर्चाका बन्दी रहेका कार्यकर्ताहरुको मुद्दा खारेजी तथा रिहाईका लागि आवश्यक पहल गर्ने र वार्ताको क्रममा आवतजावत गर्दा वार्ता टोलीका सदस्यहरुको सुरक्षाको प्रत्याभूति गराउने सहमति पत्रमा उल्लेख गरिएको ढुंगानाले जानकारी दिनुभयो । वार्तामा भाइरस किलर्सको नेतृत्व गर्दै संयोजक विजय यादव, पृथ्वी समूहबाट पृथ्वी सिंह भनिने महाराज यादव र अजित समूहबाट अजित सिंह भनिने अजय यादव सहभागी भएका छन् । त्यसैगरी सरकारका तर्पmबाट वार्ता समितिका संयोजक समेत रहनु भएका नेपाली कांग्रेसका सभासद ढुंगाना ,सर्वेन्द्रनाथ शुक्ला, अशोक राई र शक्ति बस्नेत वार्तामा सहभागी रहेका छन् । यसअघि समितिले आइतबार संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चासँग वार्ता गरेको थियो । वार्ता चलिरहँदा वार्तास्थल रामा होटल परिसरमा कडा सुरक्षा अपनाइएको छ । संविधान निर्माणमा सहयोग पुग्ने उद्देश्यले विभिन्न दल तथा समूहसँग वार्ता गर्नका लागि ढुंगानाको संयोजकत्वमा सरकारले केहि दिनअघि वार्ता समिति गठन गरेको थियो ।