बन्द छ ‘गेट वे’

कार्तिक २, २०७२- ‘गे ट वे अफ नेपाल’ अर्थात वीरगन्ज। यही एउटा भरलाग्दो व्यापारिक नाका हो, नेपाल प्रवेशको। यही नाका हुँदै नेपाल विश्व बजारसँग जोडिएको हो। यही नाकाबाट नयाँ–नयाँ विचार र आन्दोलन नेपाल प्रवेश गरेका हुन्। चम्पारणमा महात्मा गान्धीको आन्दोलनका प्रभावहरू यही नाकाबाट प्रवेश गरेर नेपालको राणातन्त्रलाई हल्लाएको हो। २००७ सालको क्रान्तिको निर्णायक क्षणमा यही नाका प्रभावशाली भएको हो। नेपाल–भारतका सबै नाका खुल्दा पनि यो एउटा नाका नखुलेसम्म आवागमन, व्यापार–व्यवसाय, विकास–रोजगारी केही पनि पर्याप्त हुँदैन। यो गेट वेले काठमाडौं र कोलकाता बीचको दूरी घटाएको छ। नेपाल–भारत सिमानाको वीरगन्जले विगत ५० वर्षको अवधिमा महानगरको रूप धारण गरिसकेको छ। आज दसैंको छैठौं दिन। विगत ६५ दिनदेखि गेट वे अफ नेपाल अवरुद्ध छ। औपचारिक राजनीतिक भाषामा यसलाई भारतीय नाकाबन्दी भनिएको छ। तर यो नाकाबन्दी हो कि मधेसका जनताले आफ्ना हक–अधिकारका लागि आयोजन गरेको अवरोध हो? यसको निक्र्याेल त्यतिबेलासम्म गर्न सकिँदैन, जबसम्म वीरगन्ज र वरपरका क्षेत्रहरूको सूक्ष्म अवलोकन गरिँदैन। काठमाडौंका बुद्धिजीवी, समाजसेवी, नागरिक समाज तथा चेतनशील मानिने सबै वर्गका मानिसहरूमा वीरगन्ज नाका चम्पारणका भारतीय नागरिकहरूले अवरुद्ध गरेको भ्रम छ। सरकारलाई अवरोध कोबाट भएको छ? त्यसको वास्तविकता राम्रो ज्ञान छ। तर सरकार सत्य बोल्दैन। उसले त्यही सस्तो र सुलभ भ्रमलाई निरन्तरता दिएको छ। यसैमा राजनीतिक फाइदा देखेको छ, उसले। वीरगन्जको विमानस्थलका रूपमा रहेको सिमरा अब विमानस्थल मात्रै रहेन। यो अहिलेका लागि वीरगन्जको बसपार्क पनि हो। वीरगन्जबाट देशको कुनै पनि क्षेत्रमा जाने यातायात सेवा सिमरामा सरेको छ। विमानवाट ओर्लिने बित्तिकै यसपछि सामना गर्नुपर्ने वातावरणको तस्वीर बनिसक्छ, कुनै पनि यात्रुको मनमा। यहाँबाट पनि ‘एस्कर्टिङ’ नगरी यातायातका साधनहरू कतै जानसक्ने अवस्था छैन। हवाइमार्गबाट सिमरा ओर्लिने यात्रुहरूको वीरगन्ज यात्रा उत्तिकै कष्टकर छ। अधिकांश यात्रुहरू साथीभाइहरूको सहयोगमा मोटरबाइकद्वारा वीरगन्ज पुग्छन्। व्यापारिक हिसाबले मोटरबाइकमा यात्रु ओसार्नेहरू पनि निकै छन्। भाडा चर्को छ। अवस्था हेरी एउटा बाइकले दुई हजार रुपैयाँसम्म असुलेको बताउँछन्, स्थानीय वासिन्दाहरू। केही दिन अघिसम्म जितपुरमा कोरिएको थियो, मधेस र पहाडको सीमारेखा। प्रहरीहरू जितपुरको पुलमा बसेर मानिसको आवागमन नियन्त्रित गर्थे। अहिले त्यो सीमारेखा छैन। अवस्था सामान्य नभए पनि असहज अनुभव गर्नु पर्दैन। परवानीपुर काटिसकेपछि वीरगन्ज सहर सुरु भएको आभास हुनथाल्छ। काली भजन र मधेस आन्दोलनका जोशिला गीतहरूको रमाइलो ‘फ्युजन’ हुनथाल्छ। नवरात्रि महोत्सव र मधेस आन्दोलन दुवै सँगसँगै चलेको देखिन्छ। दसैंको दोस्रो दिन साँझ बारा र पर्साका ग्रामीण क्षेत्रबाट बाजागाजाका साथ ट्रयाक्टर र ट्रिपरहरूमा काँधमा गम्छा र हातमा लाठी बोकेका किसानहरू सहरमा ओइरिन्छन्। गम्छा र लाठी मधेसको ग्रामीण संस्कृतिका प्रतीक हुन्। एक हरफ अधिकारको नारा र अर्को हरफ कालीको भजन। काँधमा रातो रंगको गम्छा र हातमा मोटो लामो लाठी बोकेका प्रकाश यादवको घर ठोरीको नजिकै छ। उनले १० कक्षासम्म पढेका छन्। पत्रपत्रिका पढ्छन्। देशको सामाजिक–राजनीतिक अवस्था बुझेका छन्। गरिबीको चंगुलमा परेको परिवारलाई उकास्न वैदेशिक रोजगारीका लागि कतार जाँदैछन्, दसहरापछि। उनी भन्छन्– हाम्रा ठूला केन्द्रीय नेताहरू विभिन्न देशका उदाहरण दिन सिपालु छन्। तर आफ्नै जनताको मन र अवस्था बुझेका छैनन्। हेपेको त म भन्दिन, उनीहरूले मधेसका हामीलाई केही नबुझ्ने गँवार सोचेका छन्। हामीले पनि त बुझेका छौं। यो देश हाम्रो होइन? हामीलाई अरु नेपालीसरह अधिकार चाहिँदैन? यो उनको प्रश्नभन्दा पनि पीडा थियो। उनीसँगै उभिएका पहाडी मूलका रामबहादुर सुनार भन्दै थिए– सबैको अवस्था उही हो। जनतालाई लखेट्दै बोर्डर पुर्‍याउनुहुन्छ? त्यहाँबाट उता हामी कहाँ जाने? प्रकाशको र मेरो अवस्था उस्तै हो। मेरा बा र उसका बा साथी थिए। अहिले ऊ र म साथी हौं। उसलाई अन्याय पर्दा म आउनुपरेन त आन्दोलनमा? पछिल्लो समयमा आन्दोलनमा पहाडियाहरूको सहभागिता बढेको छ। मधेसको अधिकार हाम्रो पनि अधिकार हो भन्ने निष्कर्ष निकालेका छन्, जनताले। वीरगन्जको दैनिक समाचारपत्र प्रतीकले असोज २६ को संस्करणको पहिलो पृष्ठमा मधेस आन्दोलनका चार मुख्य समाचार छापेको छ। यी समाचारहरूको भाव होइन, स्वरुपमात्र फरक छ। अन्तिम पृष्ठमा छापिएको आन्दोलनका ६ वटा तस्वीरले अझै गहिरो सन्देश दिन्छन्। यस पटकको मधेस आन्दोलन वारपारको हुनुपर्छ। मधेसका अधिकांश मानिसको भनाइ यही रहेको छ। नेपाली राष्ट्रियताको हिसाबले वारपार शब्द निकै खतरनाक सुनिन्छ। तर यो वारपारको ‘टोन’ निकै फरक छ। मधेसीहरू अधिकार प्राप्तिका सम्बन्धमा यो नै अन्तिम आन्दोलन होस् भन्ने चाहन्छन्। मधेसका लागि सुविधाजनक हुनेगरी राज्यको सीमांकन र जनसंख्याका आधारमा निर्वाचन मधेसका दुई मुख्य माग हुन्। यी दुई मागको सम्बोधन इमानदारीका साथ हुनसके अरु समस्या सामान्य हुन्। उद्यमी र व्यवसायीहरूको यो सहरमा घटस्थापनासँगै केही चहलपहल बढेको छ। नवरात्रि, दसहरा वा विजयादसमी, नाम जे दिए पनि दसैं सबै नेपालीको साझा परम्परा हो। आ–आफ्नो चलनअनुसार दसैं सबैले मनाउँछन्। यो पटक पनि मनाउनैपर्छ। आवश्यक वस्तुहरूको अभाव काठमाडौंमा मात्र होइन, मधेस–तराईमा पनि उत्तिकै छ। अभावमा आवश्यकताहरू स्वाभाविक हिसाबले साँघुरिन्छन्। उत्सवहरूले उत्साह दिन्छन्, आन्दोलनहरूले दबेका आवाजहरूलाई मुखरित गर्छन्। मधेसमा अहिले यही भएको छ। एकजना उद्यमी भन्छन्– दुई महिनादेखि यति ठूलो आन्दोलन भएको छ। यसले सामूहिक घाटा त बढाएकै छ। हामी व्यवसायीहरूले यसको हिसाब—किताब नै गरेका छैनौं। नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद ओमप्रकाश शर्माको विचारमा– सरकारले मधेसका माग जायज हुन् भन्ने नमानेसम्म अहिलेको समस्या समाधान हुनसक्दैन। ६० दिनदेखिको आन्दोलनमा औसत ६ खर्ब रुपैयाँ नाश भइसकेको छ। ट्रक र टेङ्करको लाइन रक्सौलदेखि २९ किलोमिटर पर सुगौली पुगिसकेको छ। तैपनि सरकार मधेसको आवाज सुन्दैन र यसको भाषा बुझ्दैन भने म के भनुँ? म त आफ्नो पार्टीका नेताहरूलाई सम्झाउँदा—सम्झाउँदै थाकेको मान्छे। विवेकहीनताको पराकाष्ठा नै मान्नुपर्ला, यसलाई। साँझ पर्दै गएपछि वीरगन्जमा भीड बढ्न थाल्छ। नाकाबन्दीमा बसेका नेपालका मधेसीहरूको समर्थनमा मानिसहरू शंकराचार्य द्वारबाट रक्सौलतिर लाग्छन्। नेपाल–भारत सीमा क्षेत्रको दसगजामा रहेको पुलमा नाकाबन्द रहेका सूचनाहरूको प्लेकार्ड, व्यानर र झण्डाहरू देखिन्छन्। वातावरण कोलाहलमय छ। जिन्दावादका नारा घन्किइरहेका छन्। मानिसमा एक प्रकारको जुनुन छ। अधिकारका लागि नेपाली मधेसीहरू नेपाल–भारत नाकामा संगठित छन्। नाकाबन्द छ, यसमा कुनै फरक मत छैन। नाकाबन्दीमा भारतको भूमिका संदिग्ध छ। नाकाबाट पेट्रोलियम पदार्थको आवागमन सम्भव देखिँदैन। आन्दोलनकारीहरूलाई भारत र नेपाल दुवैतिरका सुरक्षाकर्मीले पुल छोडन दबाब दिनथालेका छन्। प्रतिक्रियामा आन्दोलनको नेतृत्व गरिरहेका जितेन्द्र सोनाल भन्छन्– यो हामी नेपाली नागरिकको समस्या हो। हामीलाई नाकाबन्दीबाट जनताले भोग्नुपरेको दु:खको ज्ञान नभएको होइन। तर नाकाबन्दीको कष्ट नदिएसम्म काठमाडौंको सत्ताले चेत्दै चेतेन। हामी हाम्रो समस्या आफै‌ सल्टाउन चाहन्छौं। त्यसका लागि काठमाडौं तयार हुनुपर्‍यो, अर्थपूर्ण वार्ताका लागि। जुन दिन वार्ता होला, त्यही दिन समस्याको पनि अन्त्य होला। यसमा दुईमत छैन, परिणाममुखी वार्ता नभएसम्म मधेसको अहिलेको समस्या समाधान हुँदैन। आन्दोलनकारीहरूलाई अहिले उनीहरू आन्दोलनरत रहेको पुलबाट हटाइयो भने शंकराचार्य द्वारमा बसेर सत्याग्रह गर्नेछन्। भावनात्मक आवेगमा बहेका आन्दोलनकारीहरूलाई जिस्क्याउनु खतरनाक हुन्छ, सरकारका लागि। सरकारले मधेस समस्याको समाधान भारतको दिल्लीमा होइन, मधेसका खेत–खलिहानमा खोज्नुपर्छ। मधेसको आन्दोलनलाई भारततिर घचेट्नु नेपालको सार्वभौमिक अखण्डता विरुद्ध हुनेछ। भारत र मधेस दुई नितान्त अलग विषय र अलग समस्या हुन्। दुर्भाग्यवश अहिले यी दुवै लठारिएका छन्। प्रकाशित: कार्तिक २, २०७२ 


http://kantipur.ekantipur.com/news/2015-10-19/20151019085419.html