सरकारले वार्ताको लागि पठाएको पत्रप्रति असन्तुष्टी छ ः उपेन्द्र यादव

महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ताको लागि पठाएको पत्रप्रति असन्तुष्टी प्रकट गर्नुभएको छ ।
उहाँले पत्रप्रति असन्तुष्टी भएपनि संयुक्त मधेशी मोर्चाले यसको जवाफ सरकारलाई पठाइसकेको जानकारी समेत दिनुभयो ।
महोत्तरी जिल्लाको सिमानाका भिठामोडमा धर्ना दिन आउनुभएका अध्यक्ष यादवले सरकारले पठाएको पत्रबाटै सरकारको मधेश आन्दोलन प्रतिको गम्भिरतालाई देखाइसकिएको वताउनुहुदै उहाँले पत्र वार्ताको लागि नभई पुनः उक्साउनको लागि पठाइएको दावी समेत गर्नुभयो ।
उहाँले मोर्चाले समेत सरकारले पठाएको पत्र बमोजिमको जवाफ पठाईसकेको र अब आईन्दा पत्र पठाउदा भाषागत सुधार गरेर मात्र पठाउन सरकारलाई अवगत समेत गराईएको वताउनभयो । जनतालाई झुठा कुरामा विश्वास नगर्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसले राष्ट्रपतिमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई सहमति दिन सकिने राखेको धारणाप्रति इंकित गर्नुहुदै उहाँले अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउने कुरा अपवाह मात्रै भएको वताउनुभयो । उहाँले यस्तो अपवाहमा कसैले पनि नलाग्न सुझाव समेत दिनुभयो ।
पत्रकारहरुले दुई महिनादेखिको बन्दले शैक्षिकक्षेत्र पूर्णतः बन्द भई देशको भविष्य भनिने बालबालिका पढन पाउने अधिकारबाट बन्चित भइरहेको प्रति उहाँले बालबालिकाकै भविष्य सुनिश्चित गर्न हामीले आन्दोलन गरिरहेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलनसंगै बालबालिकाको पढ्न पाउने वातावरण निर्माण गरिने छ, भोलीको भविष्य बालबालिकाहरु पढेलेखेर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा नगई स्वदेशमै रोगजारीको ग्यारेन्टी पाउन भन्नको लागि आन्दोलन भइरहेको छ ।’
आन्दोलनको क्रममा केही समस्या आउने भएपनि यस्ता साना समस्याहरुसंग संघर्ष गरि बालबालिकाको सुनौलो भविष्य निर्माण गर्न सवैले लाग्नुपर्ने उहाँको भनाई थियो ।
अहिले नै हामी चुक्यौ भने बालबालिकालाई जति पढाएपनि भोली गएर खसवादीहरुको गुलाम बन्नुपर्ने बाध्यता सृजना  हुने भएकोले आन्दोलनको माध्यमबाटै उनको भविष्य निर्माण गर्न घरमा भएकाहरु समेत मधेश आन्दोलनमा आउनुपर्ने उहाँको सुझाव थियो ।
त्यसैगरी अध्यक्ष यादवले विभिन्न मिडियामा भारतबाट ठुलो परिमाणमा सामानहरु आउदै गरेको कुरा भ्रम मात्र भएको र केही नाका जहाँ प्रहरीले व्यापक दमन गर्यो त्यहाँ समेत मोर्चा लडिरहेको र अन्य सम्पुर्ण नाकामा मोर्चाको नाकाबन्दी यथावत रहेको दावी समेत गर्नुभयो ।
सरकारले केहि आफ्ना निकटका मिडियाहरु मार्फत भ्रम फैलाएर जनतालाई झुक्याउन खोजेको भन्दै नाकाबन्दी छैन भने किन काठमाडौंमा पाँच देखि दश किलोमिटर सम्मको पेट्रोलको लाईन लाग्ने गरेकोे छ प्रतिप्रश्न समेत गर्नुभयो ।