मधेश आफ्नो अधिकारको लागि अहिले आन्दोलित छन् । मधेशको मान, सम्मान र स्वाभिमानको साथसाथै विगतको सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने माँग संयुक्त मधेशी मोर्चाले गरिरहेको छ । सोही माँगलाई लिएर मधेश ४५ दिनदेखि पूर्णतः ठप्प छ । विद्यालय बन्द छ, पसल बन्द छ , यातायात पूर्णतः ठप्प छ । वित्तिय संस्थाहरु पनि खुल्न सकेका छैनन् । संयुक्त मधेशी मोर्चासहित संघिय लोकतान्त्रिक मोर्चा लगायत मधेशमा रहेको सम्पुर्णदलहरु अहिले कुनै न कुनै रुपमा आन्दोलनमा छन् । मधेशको मुटु मानिएको नाका पनि बन्द गरिएको छ । नाका बन्द भएपछि जसरी माछा पानी विहिन भएपछि छटपटिन थाल्छ त्यसरी नै नेपालमा छटपटिन शुरु भएको छ । मधेशको माँगको विभिन्न सेरोफेरोमा रहेर हाम्रा सहकर्मी लक्ष्मीकुमार साह पप्पुले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको केन्द्रीय सदस्य दिपुकुमार साहसंग लिनुभएको अन्तवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
प्रश्न ः मधेश आफ्नो अधिकारको लागि ४५ दिनदेखि आन्दोलन गरी रहेको छ । नाका बन्द छ । जनजीवन प्रभावित छ । सरकार त्यसको व्यवस्था नगरिकन संविधान पनि लागु गरिसक्यो । तर संशोधन तर्फ पनि सरकारको ध्यान गइरहेको छैन् । यसको कारण के होला ?
उत्तर ः प्रष्ट रुपमा भन्ने हो भने यो सरकार राणाकालीन राजदरबारबाट जन्मेको सरकार हो । लोकतान्त्रिक सरकार भएको भए लोकतन्त्रको यसरी खिल्ली उडाइदैनथ्यो । २०६३ मा मधेसी जनता आन्दोलन गरेर मधेश आन्दोलनको उपजमा राजतन्त्र ढालिसकेको छ । तर पनि केही राजा बन्ने दाउमा छन् । राजतन्त्र ढलिसकेपश्चात मधेशमा चुनाव भयो, जसको नतिजा सम्पूर्ण मधेशी, पहाडी, सम्पूर्ण जनता लोकतान्त्रिक सम्पूर्ण जितेर संसदमा गयो । २ वर्षमा पनि संविधान बनेन । ततपश्चात पुनः संविधान सभाको चुनाव भयो । यदि सो समयमा संविधान बनेको भए आज मधेशीको लागि जुन आवाज उठाउनुपरिरहेको छ, त्यो उठाउनुपर्दैन्थ्यो । काँग्रेस, एमाले र एमाओवादीको त्यस समयमा यस्तो डिजाइन थियो कि हामीले अहिले बुझिसकेको छु । अहिले काँग्रेस, एमाले र एमाओवादी जुन आफुलाई तिनदल भनिरहेको छ त्यो तिनदल ओली, प्रचण्ड र कोइराला हुन् । सो समयमा यिनीहरुको तानाशाही चलिरहेको थियो । हाउसमा जुन ह्रविप लगाउने कतै नियम थिएन । पार्टीको साँसदको ह्रविप लगाएको बलमा हुन्छ र हुदैन भनेर मधेशको प्रति डिस्कशन नगराएर जुन संविधान लागु गरियो त्यो मधेशको जनता बुझिसकेको छ । जसको फलस्वरुप अहिले मधेशी जनताहरुको रोडमा आइसकेको छ । ४५ दिनदेखि यातायात, कलकारखाना, विद्यालय, वित्तिय संस्था सम्पूर्ण बन्द छ । तर पनि सरकार सुनिरहेको छैन् । मधेशी पार्टीहरु वाध्य भएर नाकावन्दी गर्नुपरेको छ । विगत ५ दिनदेखि नाकावन्दी भएपछि काठमाण्डौले वुझन थाल्यो कि मधेश पनि बन्द छ । यो भन्दा अघि सम्म उसलाई केही थाहा थिएन मधेशको बारेमा ।
प्रश्न ः ४५ दिनदेखि मधेश बन्द छ । सरकारले केही सुनिरहेको छैन् । ४ –५ दिन नाकावन्दी भएपछि सरकारले भन्छ कि काठमाण्डौको जनजीवन कष्टमय भएको छ । तर विगत ४५ दिनदेखि मधेशीजनताले मधेश बन्द गरेर जुन आन्दोलन गरिरहेको छ । त्यसबेला सम्म सरकारलाई केही थाहा थिएन मधेशको बारेमा । के मधेशी जनता नेपाली जनता होइन ?
उत्तर ः वास्तवमा भनेपछि काठमाण्डौ भनेको नेपाल हो । लोकतन्त्र, गणतन्त्र आएपनि काठमाण्डौ भनेको नेपाल र नेपाल भनेको काठमाण्डौं हो भन्ने वुझाई सत्य देखिएको छ । वास्तवमा नाकावन्दी भएर मधेशमा शान्तिपूर्ण जनआन्दोलन उभेर आयो । तब राज्यपक्षले मधेशीहरुको आन्दोलनलाई दमन गर्नको लागि छातीमा, आँखामा, टाउकोमा गोली प्रहार गर्नुपर्यो । जसको परिणाम अस्पताल पुग्नु अघि नै मृत्यु हुन्थ्यो । अश्रुग्याँस र लाठीचार्जबाट पिडित व्यक्ति अहिले पनि अस्पतालमा भर्ना भएको अवस्था छ । मित्रराष्ट भारतमा अहिले पनि दशहजार भन्दा बढी घायल भएर उपचार गरिरहेको अवस्था छ । तर नेपाल सरकारबाट कुनै पनि पहल भएको छैन् । नेपाल सरकारले भारतमा इलाज गराइरहेको व्यक्तिको अवस्था कस्तो हो केही वुझने पहल पनि गरेको छैन् । कुनै कुटनीति कुराहरुपनि अगाडी बढाएको छैन् नेपाल सरकारले । म नेपाल सरकारलाई भन्न चाहन्छु, विगत ४५ दिनदेखि चलिरहेको आन्दोलनमा डेढ करोड भन्दा बढी मान्छे रोडमा आइसकेको छ । १९ दिनमा राजतन्त्र समाप्त भइसक्यो । तर अहिलेसम्म सत्तापक्ष तिनदलद्धारा केही पनि भएको छैन् । आउनेदिनमा मधेशी जनताले यी तिनदललाई प्रष्ट पार्छ । जहाँ सम्म नेपाली नभएको कुरा छ । अहिलेसम्म मधेशी जनता आफ्नो राष्ट्रियताकै लागि लडिरहेको छ । खस शासकको लागि नेपाली नहुँला तर हामी अहिले पनि आफु नेपाली नै हौ भन्नेमा कुनै शंका गदैनौं । तर अवस्था यही रह्यो भने केही भन्न सकिदैन् ।
प्रश्न ः केन्द्रीय सदस्यको नाताले तपाई यस आन्दोलनमा सक्रियता देखाउनुभयो । तपाईको जुन पार्टी छ उसको राष्टिय अध्यक्ष विजय गच्छेदार हुनुहुन्छ । तर मधेशको मुद्दामा उनको जस्तो सक्रियता हुनुपर्यो त्यस्तो देखिएको छैन् । तराईको माँग भन्दा पछाडी परिरहेको देखिएको छ । किन त्यस्तो ?
उत्तर ः मान्छेको हेर्ने नजर आफनो आफनो हुन्छ । नेपाल सरकारसंग विगतमा १६ बुँदे सम्झौता भएको थियो । सो सम्झौतामा हाम्रो पार्टीका सहभागिता पनि थियो । सम्झौतापश्चात तीन दल अर्थात सरकार पक्षद्धारा जुन हैकमवादी गरियो । विजय गच्छदार भन्छ यदि मधेशी, थारु, जनजाति, मुस्लिम आदिको अधिकार मिलेन भने देश गृहयद्धतर्फ जान्छ । अहिले देश गृहयुद्धमा फसेको छैन तर यी तीन दल देशलाई गृहयुद्धतर्फ लग्न खोजिरहेको छ । विगतमा मधेशी जनतासँग २२ बुँदे, ८ बुँदे, १६ बुँदे सम्झौता भएको थियो त्यो सम्झौता कार्यान्वयन गरिदियो भने मधेशमा दिनमा, रातमा हर समयमा उज्यालो रहन्छ र आफनो माँगलाई लिएर यस्तो दिवाली मनाउनेछ कि फटाका फुटला मधेशमा अनि सुनाइपर्ला काठमाडौंमा । पार्टीका अध्यक्ष लाग्नु भएको छ न लागेको भए संविधान जारी गर्नेमा हाम्रो पार्टी पनि हुन्थ्यो नि ?
प्रश्न ः संविधान जारी भएको दिन अर्थात असोज ३ गते ब्लैक आउट (कालोदिन) को रुपमा मनाइयो । तर काठमाडौंवासीले दिपावाली मनायो, फटाका पडकायोे ? के यो संविधान घोषणा गर्ने उचित समय थियो ?
उत्तर ः नेपालको जनसंख्या झण्डै ३ करोड छ । यो संविधान ३ करोड जनताको संविधान छैन । ३०, ४० लाख जनसंख्यालाई समेटेर २४० सालदेखि नेपालमा शासन गरिरहेको थियो, त्यही राणाकालीन, राजतन्त्रको जन्मेको तीन दल काँगे्रस, एमाले, एमाओवादीको संविधान हो । तीन दलमा पनि यी तीन ओली, प्रचण्ड, सुशील कोइरालाको संविधान हो, जुन राजदरबार यी नेताहरु सञ्चालित छन्, मधेशको अधिकार जब राजतन्त्रको बेलामा मिलेन, राणाकालीन बेलामा मिलने भने अब किन दिने भन्ने वुझाई छ ? पक्कै पनि यो बेला संविधान जारी गर्नुपदैन्थ्यो । तर निर्लज्जताको कुनै हद हुदैन भने झै उनीहरुले संविधान जारी गरेर निर्लज्जता प्रकट मात्रै गरेको हो ।
प्रश्नः राजपक्षले तपाईहरुलाई वार्तामा बोलाइराखेको छ, तपाईहरु किन जानुहुन्न ?
उत्तर ः वार्तामा जानु कुनै जरुरी छैन । विगतमा जुन २२ बुँदे, ८ बुँदे, १६ बुँदे सम्झौता गिरिजाप्रसाद कोइराला, प्रचण्ड, ओली, माधव नेपालसँग भएको छ, त्यो लागू गर्नुपर्ने हाम्रो माँग हो । हामीहरु वार्ताको लागि तयार छौं । अहिले जुन संविधान लागू भएको छ त्यो दुई तिहाइ पारित भएर जनताद्धारा लागू भएको संविधान हो भनी भनिरहेको छ । तर यो संविधान तीन दल अर्थात तीन व्यक्ति सुशील, प्रचण्ड र ओलीको मात्र हो । यदि ह्वीप नलगाएर प्रस्ट रुपमा चुनाव हुन्थ्यो भने देशमा मधेशीको संविधान अवश्य नै आउथ्यो । सम्झौता त भइसकेकै हो , त्यो सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने हाम्रो माँग हो । कार्यान्वयन नभएसम्म वार्ता गर्नुको कुनै तुक पनि छ्रैन् । यस्तो भयो भने मधेश र मधेशीजनतासंग वेइमानी हुन्छ ।
प्रश्न ः हामीहरुले विगतदेखि सम्झौता गर्दै आइरहेको छु, एउटा लागू हुदैन, अर्को आन्दोलन सुरु भइहाल्छ ? मधेशको यस आन्दोलनको मुद्दद्दा के संविधानमा राखिन्छ ?
उत्तरः वास्तवमा यो बुझने कुरा हो । यति सम्झौता पुरा भएन भने अर्को आन्दोलन सुरु हुन्छ । त्यसपछि नेपालको अवस्था के हुन्छ भन्न सकिदैन् । हामीहरु वार्तामा जान्छौं, केही दिनपछि वार्ता भंग गरिदिन्छ । वार्ता त एक नौटंकी मात्र हो आन्दोलन विथोल्नको लागि । यो आन्दोलन अब मधेशको नेताको हातमा छैन । मधेशी जनताको हातमा छ । मधेशी जनता भन्छ विगतको सम्झौता लागू गर वार्तामा बस्नु कुनै जरुरी छैन । वार्ता बस्ने वातावरण सरकारले बनाउँछ । तपाई देख्नुहुन्छ कि अस्पतालमा मान्छे घायल छ, गोली लागि मरिरहेको छ, शान्तिपूर्ण धर्नामा बसेको छ । गोली चलाइराखेको छ, अनि वार्तामा कसरी बस्ने । त्यसको लागि सेनालाई व्यारेक फिर्ता गर । यो कार्यको मेरो पार्टी घोर भत्सर्ना गर्दछ ।
प्रश्न ः अहिले टिकापुरबाट सेना हटाइदिएको छ, त्यसको बारेमा के भन्नुहुन्छ ?
उत्तरः सेना हटाएको छैन । तत्कालको लागि लगेको छ । आवश्यकता परयो भने फेरि ल्याउछ । यसको अर्थ सेना त्यही ब्यारेकमा राखेको छ, रोडमा मात्र लगेको छैन, जरुरी पर्छ फोन गर्दछ संचारको युग छ, एक मिनेटमा सेना रोडमा आइहाल्छ । मधेशी जनता बुझीसकेको छ । मधेश विगत ४५ दिनदेखि बन्द भएको कारण पहाडी शासकहरुले मधेशको आन्दोलनलाई दबाउन खोजिरहेको छ । तर केही पहाडी महिलाहरु, दलितहरु यो आन्दोलनको समर्थनमा आइसकेको छ । यो आन्दोलन ४५ दिनदेखि बन्द भएपश्चात पनि माँग पूरा गरेन तब भन्सार नाकाबन्दी गर्नुप¥यो । यी मधेशको जनताको लागि गोली बारुदको रुपमा काठमाडौंमा पुरयाउने काम गरिरहेको छ ।
प्रश्नः ४, ५ दिनदेखि नाकाबन्द छ, राजपक्षद्धारा तपाईहरु वार्तामा आउँ माँग पूरा हुन्छ त्यस्तो आश्वासन पाउनुभएछ ?
उत्तरः प्रस्ट रुपमा राजपक्ष मधेशी जनतालाई जनता बुझिरहेको छैन । राजपक्ष अहिले पनि हवाइजहाजैबाट तेल, खाद्यान मगाउँछु भनिरहेको छ, त्यो थाहा भएकै कुरा हो । सरकारले भन्छ ६ महिनाको तेल, खाद्यान्न स्टोक अहिले छ भनी भनिराखेको छ । ३ लीटरको दरले तेल देशमा वितरण गर्दछ त्यसमा पनि २२ जिल्ला अहिले आन्दोलनमा छन् ,जुन पूर्ण रुपमा बन्द छन् । मधेश अहिले जलिरहेको छ, विगत ४५ दिनदेखि बन्द छ, मधेशीहरु नुनरोटी खाएर, भान्सा बन्द गरेर रोडमा आइसकेको छ तर सरकारलाई ४, ५ दिनको नाकाबन्दीले तीन लिटर तेल दिने अवस्थामा आइसकेको छ । तेल काठमाडौंतिर वितरण गरिएको छैन, तेल जुन दिइएको छ, काँग्रेस, एमाले, एमाओवादीको कार्यकर्ताले लिएर व्लैकमा विक्री गरिरहेको छ ।
प्रश्नः कफ्र्यु हटाइदियो, सेना फिर्ता गरिदियो, पहिलेको सम्झौता भुल्नुस अब नयाँ सम्झौता गर्नुस भनेर वार्तामा आउन भनेपछि के तपाईहरु वार्तामा जाने त ?
उत्तर ः सेना हटाइदिएको भनेको मात्र हो । अहिले पनि जलेश्वर, जनकपुर, मलगंवा, विरगंजमा कफर्यु लागिरहेको छ । सेना हटाइदिन्छु, कफर्यु हटाइदिन्छु, शहिद घोषणा गरिदिन्छ, घाइतेको उपचार गरिदिन्छ । विगतको सम्झौता कार्यान्वयन गराईदिन्छ भने वार्तामा बोलाएपछि मधेशी पार्टी जरुर जान्छ ।
प्रश्न ः विगतको सम्झौता कार्यान्वयन नगरेपछि तपाईहरु वार्तामा जाने कि नजाने ?
उत्तर ः वार्तामा जाने कुनै औचित्य नै छैन् ।
प्रश्न ः अहिलेको चर्चा विषय बनेको छ, बाबुराम भटराई । पार्टी परित्याग गरेर मधेशीको आन्दोलनलाई ऐक्यवद्धता जनाइरहेको छ । तपाईहरु यसलाई कुन रुपमा हेर्नुहुन्छ ।
उत्तर ः प्रष्टरुपमा दुई दिन अगाडी बाबुराम भटराइद्धारा पार्टी परित्याग भयो । यसलाई मधेशी जनता उत्साहितको रुपमा देखिरहेको छैन । शंकाको रुपमा हेरिरहेको छ । जहाँ जहाँ कम्युनिष्टको उत्पत्ति भएको छ । त्यहाँ त्यहाँ यस्तो नाटकहरुको कम्युनिष्टहरुद्धारा गर्दै आइरहेको छ । मधेशी जनता धेरै ठगिएको छ । त्यसैले भटराई राजिनामा दिइसके पनि यसले मधेशीहरुलाई खासै असर पनि गर्दैनन् र मधेशीले यसको स्वागत पनि गर्दैनन् । हो, जुन समयमा उसले राजिनामा दिनुपथ्र्यो त्यो समयमा उसले दिएन । यदि सो समयमा उसले दिएको भए मधेशीहरुले बुझथ्यो कि उनी मधेशको समर्थनमा छ र उनको भव्य स्वागत गथ्र्यो ।
प्रश्न ः डा.भटटराई पहाडीसमुदायसंग सम्बन्धित छ । उसलाई तपाईहरुले शंकाको दृष्टिकोणले हेर्नुहुन्छ तर मधेशी नेताहरुले त्यो पनि गरेको छैनन् नि ? यसलाई कसरी हेर्नुहुन्छ ?
उत्तर ः जति पनि मधेशी नेताहरु छन् सबै सडकमा आइसकेका छन् । मधेशको नेता भन्नाले तपाईले विमलेन्द्र निधिलगायत अन्य नेताहरुलाई बुझनुहुन्छ भने त्यो गलत वुझाई हो ।
मधेशी नेता भनेको जसले मधेशलाई बुझेको छ । जो मधेशको आन्दोलनमा सरिक छ त्यो हो । हाम्रो प्रतिनिधित्व गरेको नेता मधेशी होइन । मधेशको माँगलाई लिएर जो रोडमा छन् त्यो नै वास्तविक मधेशी नेता हो र उनीहरु नै मधेशीका वास्तविक प्रतिनिधि हुन् । संवाद समितिका संयोजक रहनुभएका नेता भटटराईले गर्न सक्ने धेरै थियो तर उहाँले गर्न सक्नुभएन नी ।