कुण्ड-कुण्ड पानी, मुण्ड-मुण्ड बुद्धि

कुण्ड-कुण्ड पानी, मुण्ड-मुण्ड बुद्धि
- खगेन्द्र संग्रौला, काठमाडौं

यो भूमिमा कतिकति आन्दोलन र बलिदान भए, तर सामान्यजनका लागि नतिजा प्राय: हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तो भएको छ।
आश्विन १५, २०७२- बेलुका ५ बजे एउटा कटेज टाइपको मध्यमस्तरीय रेस्टुराँमा बसेको छु। कालो चियाको साथमा समय बियाँल्ने साथी छ, झोलामा बोक्न मिल्ने बिजुली पुस्तकालय ‘अमेजन किन्डल’। आँखा फ्रान्सिस फुकुयामाको ‘द ओरिजिन्स अफ पोलिटिकल अर्डर’मा छन्, कठोर परिस्थितिको आघातले आहत भएको चित्त त्यसै–त्यसै छरपस्ट छ। पुस्तक चाखलाग्दो छ, तर पढ्न चाख छैन। माथि पहाडी भेगका खण्ड-खण्ड संविधान आउँदाको खुसियालीमा मस्त छन्, तल सिङ्गो मैदानी भेग आक्रोशमय पीडामा डुबेको छ। माथिको आकाशमा आतसबाजीको रमितलाग्दो झिलिमिली छ, तलको आकाश विषाक्त अश्रुग्यासले भरिपूर्ण छ। माथि राष्ट्रवादको बखान व्याप्त छ, तल राष्ट्रको खोजी हुँदैछ। माथि विजयको धुमधाम उत्सव छ, तल पराजयको अथाह सन्ताप छ। सत्ता र शक्तिमाथिको बर्चस्व र भोगचलनमा जो यसै पनि विजयी थिए, तिनलाई संविधानमा फेरि जिताइयो। जो सधैँ सीमान्तकृत र पराजयी तुल्याइएका थिए, ती फेरि पनि हराइए। संघीयताका सूत्रहरूले सबैलाई एकताको रङ्गिन मालामा उन्ने भनिएको संविधानमा नेपाललाई दुईवटा नेपालमा चिरा पारियो। यी दुई चिरामाझ अहिले द्वन्द्वको आगो बलेको छ।
घरमूली नालायक भएर घरको झगडा जब आँगनमा छताछुल्ल हुन्छ, छिमेकी कत्ति न भद्रभलाद्मी हुँझैँ गरी हातमा कोर्रा लिएर झगडा मिलाउन उपस्थित हुन्छ। सोहीपरि हाम्रो यो आपत्कालमा संसारैभरिको विशालतम प्रजातन्त्र मानिने दक्षिणी मित्र मुलुक दादागिरीको पोजमा जुँगा मुसार्दै हठात् उपस्थित भयो। सदाझैँ ऊ ठूलदाइमय अहं प्रदर्शन गर्दै आयो। र अहिले उसले भूगोलको कैदीतुल्य नेपालमाथि मैले गरेको होइन भन्दै अघोषित नाकाबन्दीको कष्ट थोपरेको छ। कालो चियाको चुस्की लिँदै म गम खान्छु- यो भूमिमा कतिकति आन्दोलन र बलिदान भए। तर सामान्य जनका लागि नतिजा प्राय: हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तो भएको छ। हाम्रो नेपाल घर भित्रको विभेद र घर बाहिरको बलमिच्याइँबाट मुक्त भई स्वतन्त्र र स्वाधीन बन्ने दिन समयको गर्भमा नहोला र? कल्पनाको क्षितिजभित्र उत्तर देख्दिन र म किञ्चित् निराश हुन्छु।
यत्तिकैमा रेष्टुराँमा पाँचजना भद्रजनको आगमन हुन्छ। ज्यानका बान्की, अनुहारका अहंभाव, लवाइका छाँटकाँट, मुद्राका प्रफुल्लपना र चालका स्फुर्ति सबैथोकमा यी मनुवा भद्रजन लाग्छन्- खसोखास अभिजातीय। सबैजना मलाई चिने–चिनेझैँ गरी पुलुक्क हेर्छन् र मुन्टा अर्कोतिर परक्क बटार्छन्। ती मेरो अगाडि एक टेबुल उतातिर बस्छन्। म आँखा बिजुली पुस्तकमा स्थिर गरेको स्वाङ रच्दै ध्यानस्थ मुद्रामा तिनका कुरातिर कान थाप्छु। दुईजना सात्विक रहेछन्, तीनजना तामसी। सात्विकद्वय नरम पेय माग्छन्, तामसीत्रय गरम पेयको चुस्की लिन थाल्छन्। सितनका थरीथरी परिकारले टेबुल ढाकिन्छ। र अब शान्त र सुस्वादु खानपानसँगै वातावरणमा चालु रहेको मौसमी राष्ट्रवाद सम्बन्धी वार्ताको उठान हुन्छ। विषयले स्वभावत: पात्रको माग गर्छ र केपी शर्मा ओली एवं पुष्पकमल दाहाल विषय–प्रसङ्गमा थपक्क प्रवेश गर्छन्। कुरै-कुरामा प्रश्न उठ्छ- यी दुईमध्ये को ठूला राष्ट्रवादी हुन्?
‘केपी नै ठूला,’ जुँगे भद्रजन भन्छ, ‘यिनले मधेसे र मोदी दुवैलाई ठ्याक ख्वाउँदै आ–आफ्ना थान्कामा बस्न पाठ सिकाउँछन्। हेर्नुस्त, क्या छन्, यिनका वचनवाण ! कसैको डर छैन, कसैलाई छाड्ने होइन।’
‘छनलाई पुष्पकमल पनि कम छैनन्,’ भुँडे भन्छ, ‘बरु गाडी छाडेर साइकल चढ्ने, राष्ट्रिय स्वाभिमानमा मरिगए नडग्ने। हेर्नुस्त, पूर्व प्रधानमन्त्रीजस्ता मान्छेको त्याग ! अनि क्या
चट्टानी अठोट !’
‘म त भन्छु, दुबै बराबर हुन्,’ किञ्चित् चर्को स्वरमा तिलचामले राय प्रकट गर्छ, ‘यी दुई भाइ एउटै सिक्काका दुई पाटा हुन्। एउटा नभई अर्को हुँदैन। यी दुई भाइ नमिल्या भए काँ बन्थ्यो संविधान? अनि राष्ट्रवादको यो लहर....।’
सफाचट् भलाद्मी नाक मुसार्दै मन्तव्य सुरु गर्छ, ‘हो, यिनले मिलेर नयाँ संविधान रचे। कसैका घुर्की र धम्कीको कत्ति पर्वाह नगरी। काग तारन्तार कराउँदै गयो, पिना अटुट सुकिरह्यो, गजप भयो ! र न आयो संविधान। यिनले मिलेर नयाँ युगको ढोका खोले। र अहिले मधेसको आकाशमा अनिष्टकारी बादल मडारिइरहेको बखतमा यी राष्ट्रवादको सुनौलो अध्याय रच्दैछन्। यिनका अगाडि मरिचमान केही होइनन्। फेरि त्यसका बाउको नाकाबन्दी, साले ! हेपेर जोरी खोज्नु पनि...’ सफाचट् जङ्गिन्छ। ‘जब्बर राष्ट्रिय अडानका अगाडि यो नाकाबन्दीले घुँडा टेक्छ–टेक्छ। थोडै मरिचमानको जमाना हो यो?’
जुँगेकाजी विनम्र भावले चिताउँदै नचिताएको प्रश्न मतिर तेर्स्याउँछ, ‘यसमा सरको विचार के छ?’
मेरो विचार? राष्ट्रवाद जस्तो अति गहन विषयमा म अकिञ्चनको के विचार हुनु? के भन्नु न के भन्नु, म अलमल्ल पर्छु। विचार बझाऊँ कि भाका मिलाऊ? मन दोमन हुन्छ। अनि आ.. जे त पर्ला भनेर म सानो डोज दिन्छु, ‘यसमा मेरो विचार अलि फरक छ। सुन्न गाह्रो नमान्नु होला। कुरो के भने बौद्धिक, आर्थिक, नैतिक र कूटनीतिक जग कमजोर हुने देशको राष्ट्रवादको गर्जन पानीको फोकोजस्तै हो। त्यो हुत्त उठ्छ, प्याट्ट फुट्छ र अनस्तित्वमा बिलाउँछ। कि कसो हजुर?’
‘यो ज्यादै निराशावादी कुरा हो,’ जुँगे रमरम जङ्गिन्छ। ‘मुलुकैभरि राष्ट्रवादको यत्रो लहर उठेको छ। सर विचारै नगरी यसो भन्नुहुन्छ....।’
‘मान्यवर, भुवामय भावुकताले पेट भर्दैन,’ म हल्का प्रतिवाद गर्छु, ‘पेट भर्न ठोस भोजन चाहिन्छ।’
पञ्च भद्रजन असहज मान्दै मुखामुख गर्छन्। केही खासखास–खुसखुस गर्छन्। अनि भुँडे भन्छ, ‘सरका कुरै नकारात्मक। राष्ट्रवादको यत्रो आँधी उठेको छ। यो त्यसै दब्छ?’

‘नदबोस्, मेरो हार्दिक कामना छ।’ प्रतिपक्षमा एक्लो छु, त्यसैले मसिनो स्वरमा म भन्छु, ‘बेलुन हेर्दा कत्रो र कति रङ्गिचङ्गी हुन्छ ! तर त्यसको नियति आखिर प्याट्ट फुटेर सकिनु त हो।’
‘गलत कुरो,’ तिलचामले प्रतिवाद गर्छ, ‘सरजस्ता मान्छेले यस्तो बेलामा यस्ता कुरा गर्नु दु:खलाग्दो विषय हो।’
म बोल्दिन। बोलिसक्नु भए पो ! अब विषय–प्रसङ्ग राष्ट्रवादको रक्षाका लागि अनिवार्य त्यागका कुरातर्फ मोडिन्छ।
‘बरु पेट काटेर बाँचिन्छ, दिल्लीको दादागिरीसामु घुँडा टेकिँदैन।’ सफाचट् सादा जीवन, उच्च विचारको अर्ती पेल्छ। ‘केही नभए ढिँडो र गुन्द्रुक खाएर....। त्यो पनि नभए भोकै बसेर.....। हेपाइको पनि त हद हुन्छ। कसो सर?’
म व्यङ्ग्य मुद्रामा मनमनै कुरा खेलाउँछु- चतुर बन्धुले दुई–चार महिनालाई पुग्ने अत्यावश्यक र विलासका वस्तुको जोगाड गरिसकेको होला। तब न मीठा-मीठा आदर्शका कुरा फुर्दैछन्। त्याग अरुले गरिदिउन्, दु:ख अरुले झेलिदिउन् र राष्ट्रवादको शिर सगरमाथाझैँ ठाडो होस् !
प्रश्न आफूतिर सोझिएको छ। त्यसैले बोल्न मनै नलागी म बोल्छु, ‘सही कुरा। तर बन्धु, घरिघरि हीनभावना प्रदर्शन गर्दै हेपाहालाई हेप्न निम्त्याएपछि हेपाइबाट आनन्द प्राप्त गर्ने लत बसेकाले हेप्ने नै त भयो। तपाईँले निहुरिएर ढाड नथापिदिए हेपाहा कसरी मौका छोपेर ढाडमा घोडा चढ्छ?’
‘खालि उल्टा कुरा...’ अहिलेसम्म चुप लागेर मद्यपानमा निमग्न भएको सिकटेको बक् फुट्छ, ‘कि त आशाको उज्यालो छर्नु कि नबोल्नु....।’
‘आशा छँदैछैन मैले भनेको होइन, बन्धु,’ म कुराको बिट मार्न हतारिन्छु। ‘आधुनिक जीवनका यावत् सरसुविधाहरू त्याग्नु, परापूर्वकालका पुर्खाका ओडारमा जानु, गिट्ठाभ्याकुर खानु, रुखका बोक्राका लगौँटी लगाउनु र मिचाहा दिल्लीलाई देखाइदिनु...छनलाई विकल्प यो पनि छ। तर हामीलाई ओडारतिर डोर्‍याउने अगुवा को होला? त्यस्तो छ त क्वै?’

फेरि खासखास–खुसखुस र विचित्रको मौनता। उठेर मौन भङ्ग गर्दै म बिदा माग्छु- ‘बन्धुगण, विचार आफ्नो–आफ्नो हो। रिसानी माफ होस् है।’
प्रकाशित: आश्विन १५, २०७२