Friday, October 2, 2015

नेपाल भारत जिल्लास्तरीय बैठक अनिश्चित निषेधित क्षेत्र जारी कफ्र्यु हटाइयो

नेपाल भारत जिल्लास्तरीय बैठक अनिश्चित
निषेधित क्षेत्र जारी कफ्र्यु हटाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १५ गते । तराई मधेशमा जारी आन्दोलनका कारण नेपाल–भारत जिल्लास्तरीय बैठक अनिश्चित बनेको छ ।
      महोत्तरी, सर्लाही र रौतहट जिल्लासँग जोडिएको भारत बिहार सीतामढी जिल्लाको जिल्लास्तरीय बैठक सीतामढीमा तथा महोत्तरी, धनुषा र सिरहासँग जोडिएको भारत बिहार मधुवानी जिल्लाको जिल्लास्तरीय बैठक मधुवनीमा हुनुपर्ने समय नजिकिएपनि अनिश्चित बनेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले प्रत्येक बर्ष असोज महिनामा सीमा अन्तर्गतको जिल्लास्तरीय बैठक पहिले नै निश्चित भएपनि आन्दोलनका कारण अनिश्चित बनेको बताउनुभयो । दशैंको बेलामा हुनसक्ने सीमा अपराध, शान्ति सुरक्षासहितका समस्यामा समीक्षा तथा रणनीति तयार हुने गरेकोमा यसबर्ष सो बैठक नहुने निश्चित प्रायः छ ।
      यसैबीच, महोत्तरीमा भदौ २३ गतेदेखि लगाइदै आएको कफ्र्यु हटाइएको छ । तर रेडक्रसदेखि खैराचोकसम्मको प्रशासनिकक्षेत्र तथा महेन्द्रचोकदेखि जिल्ला प्रहरी, अदालत, कारागारदेखि पाँचसय मिटर अस्पताल जानेबाटोमा लगाइएको अनिश्चितकालिन निषेधित क्षेत्र भने कायमै राखिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो ।
बिहीबार मन्त्रिपरिषदको बसेको बैठकले जिल्लाहरुमा लगाइएको कफ्र्युहरु हटाउने निर्णय गरे पश्चात महोत्तरीको कफ्र्यु हटाइएको हो । 
यसैबीच बिहीबार मानव साङ्लो कार्यक्रममा सहभागी भएका महोत्तरी इटहर्वाकट्टी गाबिस ८ सहसरामका ५० बर्षीय उमेश कापरको मृत्यु भएकोमा स्थानीय प्रशासनले शव परीक्षणमा रोक लगाएको छ । शव परीक्षण बिना नै कापरको दाहसंस्कार शुक्रबार उनको गाउँमा गरिएको छ ।
संयुक्त मधेशी मोर्चा महोत्तरीका नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कापरलाई शहिद घोषणा, उचित क्षतिपूर्ति तथा परिवारका एकजनालाई सरकारी जागिरको व्यवस्था गर्न माँग गरेको छ ।
मोर्चाका घटकहरु संघिय समाजवादी फोरम नेपालका अध्यक्ष रामनरेश राय, तमसपाका अध्यक्ष नरेन्द्र यादव, तमलोपाका अध्यक्ष अभिराम शर्मा, सदभावना पार्टीका सचिव धर्मेन्द्र रायले संयुक्त विज्ञप्ती जारी गर्नुहुदै यस्तो माँग गर्नुभएको हो ।
त्यस्तै शिक्षकहरुले जलेश्वरमा संविधानको बिरुद्धमा मोटरसाइकल र्याली गर्दै संविधान प्रति जलाएर श्रद्धाञ्जली कार्यक्रम गरेका थिए ।
    त्यसैगरी, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ विकास समितिमा मुस्लिम समुदायले पनि भारतको भुमिकाको सराहना गर्दै वेलकम इण्डिया भन्दै जुलुस प्रर्दशन गरेको छ ।
सयौं मोटरसाइकलमा सवार मुस्लिम समुदायका युवा, वृद्ध, बालबालिकाहरुले जय मधेश, वेलकम इण्डिया, मधेशको माँग पुरा गर जस्ता नाराबाजी गर्दै जलेश्वर सहित भिठामोड, मटिहानी, धिरापुर, बरदाहा, भ्रमरपुरासहित विभिन्न गाविसमा पुगेर प्रर्दशन गरेको थियो ।
विगत ५० दिनदेखि बन्द रहेको  मधेशको माँग पुरा नगरेको भन्दै सरकारप्रति आक्रोशित देखिएका मुस्लिम समुदायले भिठामोडमा पुगेर आन्दोलनमा शहादत दिएकाहरुप्रति श्रद्धाञ्जली दिएको थियो ।
विगत डेढ महिनाभन्दा बढीसमयदेखिको बन्दले मधेशको जनजीवन पूर्णतः प्रभावित बन्दै गएको छ । विद्यालय खुल्न सकेको छैन् भने पसल र यातायात पूर्णत बन्द छ ।

No comments:

Post a Comment