नेपाल-भारत सम्बन्ध : न पूर्ण सङ्घर्ष, नत पूर्ण समर्पण नै !
पृथ्वीनारायण शाहद्वारा नेपाल निर्माण गरिँदाताका तत्कालीन भारतमा ब्रिटिसहरूको नियन्त्रण थियो । भीमसेन थापाले भारतका महत्वपूर्ण राजाहरूसँग मिलेर ब्रिटिसलाई भारतबाट धपाउने सम्बन्धमा काम गर्न थाले । त्यसबाट सतर्क भएर ब्रिटिसहरूले नेपालको राजनीतिमा षड्यन्त्र गर्न सुरू गरे, जसको पहिलो शिकार भीमसेन थापा नै भए । नेपालको आन्तरिक राजनीतिक प्रभावका कारण उनलाई जेलमा राखियो र अन्त्यमा जेलभित्रै आत्महत्या गर्ने परिस्थिति उत्पन्न भयो । यसमा ब्रिटिसको भूमिका कुनै न कुनै रूपमा अवश्य थियो ।
जङ्गबहादुरको उदयमा कहीँ न कहीँ तत्कालीन ब्रिटिस रेजिडेण्टको भूमिका थियो, जसको ब्याज जङ्गबहादुरले चुकाए । यो त्यही घटना हो, जसलाई भारतीयहरू प्रथम स्वतन्त्रता सङग्राम भन्दछन् । सन् १८५७ लाई ब्रिटिसहरू सिपाही विद्रोह भन्दछन् । जङ्गबहादुरले ‘लोयल टु द ब्रिटिस क्राउन’ ब्रिटिस सरकारलाई आफ्नो बफादारी देखाए । त्यसपछि नेपालले ‘क्लाइण्ट स्टेट’को रूपमा काम गर्न थाल्यो । ठूला मालिक दिल्ली र कलकत्तामा छन्, साना मालिक यस देशको नियन्त्रणमा । त्यसै बेलादेखि नेपाली राज्य, नेपाली शासन, नेपाली नेता, नेपाली भाग्यको अन्तिम निर्णयकर्ता काठमाडौँ दरबार नभएर कलकत्ता र दिल्लीको दरबार रहँदै आएको छ ।
पहाडमा भारतको सहयोग हुनु अनि मधेशमा नहुनुको कारण हो— मधेशमा बिक्रीमा नरहेको कुनै नेता नहुनु हो ।
नेपाल र भारतको सम्बन्धमा अब के गर्नुपर्छ भन्ने विषयमा बुझ्नका लागि
हामीले इतिहासबारे चर्चा गर्नु जरूरी छ । तर सेवक बनेर पनि अन्ततः
जङ्गबहादुरले धेरै फाइदाचाहिँ पाएनन् । किनभने एक प्रकारले वंश नै विनाश
भएको थियो उनको । उनका सन्तानहरूमा कोही भारत गएर बसे भने कोही मारिन पुगे ।
त्यसैले सेवकको जिन्दगी पनि काम लाग्दैन । कुनै पनि मालिकले आफ्नो नोकरसँग
ऊ नोकर नै बनिरहोस्, कुकुर नबनोस् भन्ने अपेक्षा राख्छ । जङ्गबहादुरको
तरिकाले एउटा मात्र लाभ के भयो भने उनीहरूले शाहहरूलाई आफ्नो नियन्त्रणमा
ल्याउन सके, तर त्यसबाट धेरै फाइदा भने भएन । त्यसपछि चन्द्रशमशेरले एउटा
नीति लिए ।चन्द्रशमशेरको सेवा गर्ने तर समर्पण नगर्ने नीति थियो । नेपालको इतिहासमा सबैभन्दा धेरै समयसम्म शासन गर्ने व्यक्ति चन्द्रशमशेर नै हुन् । उनले तीस वर्षसम्म शासन चलाए । त्यसपछि उनका छोरा प्रधानमन्त्री बने । उनका नाति त प्रधानमन्त्री हुन सकेनन्, तर नेपालको राजनीतिमा राम्रो हैसियत राख्ने व्यक्ति विजयशमशेरका पनाती पशुपतिशमशेर नेपालको राजनीतिका सक्षम खेलाडीमा भने अवश्य दरिन्छन् । न त पूर्ण समर्पण र न त पूर्ण सङ्घर्ष । यस प्रकारको इतिहासबाट शिक्षा लिने हो भने नेपालको राजनीतिमा भारतप्रतिको यो नीति सम्भवतः सफल हुन सक्छ ।
जङ्गबहादुर मात्र होइन, अर्को पनि उदाहरण हेरौँ । बीपी कोइरालाका सन्दर्भमा हेर्ने हो भने उनले भारतसँग समभाव, समदूरी र समानताको सम्बन्ध राख्ने कोसिस गरेका थिए । तर अठार महिनाभन्दा बढी उनी टिक्न सकेनन् । र आफ्नो जिन्दगीमा दोहोर्याएर नेपालको प्रधानमन्त्री पनि बन्न सकेनन् । पूर्ण सङ्घर्षयुक्त नीति पनि सफल भएन र पूर्ण समर्पणको नीति पनि सफल हुन सकेन । यहाँ मात्र सफल हुन सक्छ— चन्द्रशमशेरको नीति ।
माओवादी
‘एण्टीइण्डियन’ जस्तो देखिनुको कारण हो— माओवादी अहिले सरकारमा छ, र उसले
नेपालसँग लगाव राख्दछ । यसले गर्दा भारतको सत्ताले उसलाई ‘एण्टीइण्डियन’को
रूपमा हेर्ने गरेको छ ।
अब मधेशवादी दलहरूको सन्दर्भमा कुरा गर्ने हो भने अवस्थामा धेरै
परिवर्तन आएको हामी पाउँछौँ । मधेशवादी दल एउटा दास मनोवृत्तिबाट निस्कने
कोसिस गरिरहेको छ । मधेशवादी दलमा समर्पणबाट फाइदा लिन खोज्ने मानिसको
बाहुल्य छ । मैले भारतमा धेरै समय बिताएको छु । दिल्लीमा मेरा साथीहरू उच्च
ओहोदामा छन् । उनीहरूलाई मैले उदाहरण दिएर भन्ने गरेका छु— महोत्तरी
जिल्लाको कुनै पनि स्कूल, कलेज, मन्दिर, धर्मशाला वा सडकमा भारतले सहयोग
गरेको छैन । महोत्तरी जिल्ला भारतको नजिक भएर पनि त्यहाँ भारतको सहयोग
शून्य छ । निर्णायक स्तरमा पुगेका मेरा साथीहरू भन्छन्— मधेशमा सहयोग
गर्नुपर्ने आवश्यकता नै छैन । अपवादका रूपमा जनकपुरमा केही सहयोग भएको छ ।
किनभने भारतीयहरू जनकपुर आउँदा उनीहरूले भारत सरकारले मधेशीलाई पनि सहयोग
गर्ने गरेको देख्छन् । भनाइको अर्थ— भारतीय भिजिटर (ट्याक्स पेयर) हरू
जनकपुर आउँदा उनीहरूले भारतको झण्डा मधेशमा छ, पहाडमा छैन भन्ने थाहा पाउन्
।पहाडमा भारतको सहयोग हुनु अनि मधेशमा नहुनुको कारण हो— मधेशमा बिक्रीमा नरहेको कुनै नेता नहुनु हो । भारतीय उच्च व्यक्तिहरूसँगको भेटघाटमा मधेशी नेताहरू आफ्नो घाँटीमा बिक्रीको पट्टी बाँधेर पुग्ने गर्छन् । कोही मन्त्री बन्नका लागि, कोही छोरालाई इञ्जिीनियरिङ–डाक्टरी पढाउनका लागि, कोही आफ्नो उपचारमा सहयोगका लागि, कोही सरुवा त कोही नगदकै लागि ….. । उनीहरू यस्तै प्रवृत्तिलाई औँल्याउँदै भन्छन्— मधेशलाई राम्रो हुने प्रस्ताव लिएर कोही आयो भने हामीले तत्कालै मधेशमा पनि लगानी सुरू गर्छौं । होइन भने किन लगानी गर्ने ? हाम्रो सबै लेनदेन त पहाडसँग छ ! बेकामको लगानी मधेशमा किन गर्ने ?
नेपाली काङ्ग्रेसका नेता चक्र बास्तोलाले एउटा सार्वजनिक टीभी–कार्यक्रममा भनेका थिए— माओवादीको फुल कसले पार्यो, त्यो त थाहा भएन, तर त्यसलाई चल्ला कोरल्ने काम भने भारतले नै गरेको हो । नेपाली सेनाका अवकाशप्राप्त एक जनरलले विदेशीहरूसँग भएको एक गोप्य छलफलमा नेपाली सेना इण्डियन इरेगुलर फोर्ससँग लडिरहेको बताएका थिए । आजको माओवादी, जसका तत्कालीन संसदमा नौ जना सदस्य थिए, त्यही नौ सदस्यीय दल आज नेपालको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । यो भारतीय सहयोगबिना भएको हो भनेर माओवादीले पनि दाबी गर्न सक्दैन ।
नेपालमा
भारतविरोधी राजनीति नगर्नेको गुजारा नै नचल्ने अवस्था छ । यसबाट के
प्रमाणित हुन्छ भने नेपालमा भारतको कूटनीति पूरै असफल भएको छ ।
माओवादी ‘एण्टीइण्डियन’ जस्तो देखिनुको कारण हो— माओवादी अहिले सरकारमा
छ, र उसले नेपालसँग लगाव राख्दछ । यसले गर्दा भारतको सत्ताले उसलाई
‘एण्टीइण्डियन’को रूपमा हेर्ने गरेको छ । यदि मधेशवादी दल पनि अहिले ठूलो
दलको रूपमा आयो भने उसको पहिलो लगाव स्वाभाविक रूपमा नेपालसँग रहन्छ, जसबाट
भारतीय सत्ताले त्यसलाई पनि ‘एण्टीइण्डियन’को रूपमा हेर्न थाल्नेछ ।
भारतलाई लाग्दो हो— माओवादीलाई हामीले नै ठूलो दल बनाइदियौँ र अहिले ऊ
हाम्रै नियन्त्रणमा छैन । अर्थात् उनीहरू हामीसामु लम्पसार पर्दैनन् भने
पनि कम्तीमा निहुरिनु त पर्छ ! होइन भने आँखा त झुकाइरहोस् ! नेपाल,
श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशको कुनै राजनीतिक दल सबैभन्दा ठूलो
राजनीतिक शक्ति भयो भने जनतालाई छाडेर भारतका अगाडि झुक्दैन । र यसैले
गर्दा माओवादी ‘एण्टीइण्डियन’ जस्तो लाग्दछ ।नेपालमा जे–जति परिवर्तन भएका छन्, ती सबैको मुख्य कारक–तत्व भारत नै रहेको छ । २००७ सालमा राणालाई हटाइएको थियो । १०४ वर्षसम्म चलेको राणाशासनको एउटा ठूलो सत्तावृत्त बनेको थियो । त्यस सत्तावृत्तले भारतकै कारण आफू सत्ताच्यूत भएको ठान्यो र उनीहरू भारतविरोधी भए । यसपछि २००७ सालदेखि २०१५ सम्म संविधान बनेन । २००७ सालमा, ज–जसलाई भारतले सहयोग गरेको थियो, उनीहरू पनि भारतको विरोध गर्न थाले । किनभने भारतले गर्दा नै संंविधान बन्न सकेन । २०१५ सालमा निर्वाचन भयो र २०१७ सालमा प्रधानमन्त्रीलाई सेनाद्वारा हटाइयो । यो पनि एउटा वृत्त थियो, जुन भारतकै कारणले भएको थियो । २०३६ सालमा जनमत–सङग्रह भयो । यसमा के थाहा भयो भने हाम्रो शक्तिको सन्तुलन भारतले गर्दा बिग्रेको हो । २०४५/४६ सालमा भएको आर्थिक नाकाबन्दीलाई अघोषित युद्धका रूपमा बुझिएको थियो । किनभने आर्थिक नाकाबन्दी युद्धविनाको परिस्थितिमा हुँदैन । अठार महिनासम्म जसोतसो थेगियो, तर पछि हार्नुपर्यो ।
मधेशवादी
दलहरू प्रत्यक्ष वा परोक्ष रूपले भारतसँग नजिक हुँदा उनीहरूमाथि भारतको
पिछलग्गु हुनुको आरोप लाग्ने गर्छ । तर यही काम अन्य पार्टीले गर्दा
उनीहरूमाथि कुनै आरोप लाग्दैन । किनभने भारत पहाडी पार्टीहरू आलोचित भएको
हेर्न चाहँदैन ।
तीस वर्षसम्म चलेको पञ्चायती सत्ता भारतविरोधी भयो । त्यसपछि निर्वाचन
भयो, सरकार बन्यो र अढाइ वर्षमै त्यसको पत्ता साफ भयो । फेरि एउटा धारणा के
बन्यो भने कहीँ न कहीँ यसमा पनि भारतीय भूमिका छ । हिजो कुखुरा बास्दा
उज्यालो भएको थियो । त्यस्तै आज उज्यालो भएकोमा पनि कतै न कतै अवश्य कुखुरा
बासेको हुनुपर्छ । यसै सूत्रको आधारमा यस प्रकारका धारणा आइरहेका छन् ।यता आएर भारतविरोधी दायरा घट्दै गएको छ । भारतको पक्षमा सबैभन्दा ठूलो आधार थियो— मधेशीहरू एउटा सत्ताबाट उत्पीडनमा पर्नु । खुला सिमानाका कारण मधेशीहरूलाई विशेष पपरिस्थितिमा भारत हाम्रो लागि पक्कै सहयोगी हुनेछ भन्ने लागेको थियो । तर मधेशीहरूले के पाए भने बरू काठमाडौँको सत्ताबाट केही पाइहालिए पनि भारतबाट केही पाइनेवाला छैन । किनभने काठमाडौँको सत्तालाई कम्तीमा मधेशको भोटको त चिन्ता हुन्छ ! ….. त्यसैले भारतपक्षीय जनमत यतिखेर छैन नेपालमा । नेपालमा भारतविरोधी राजनीति नगर्नेको गुजारा नै नचल्ने अवस्था छ । यसबाट के प्रमाणित हुन्छ भने नेपालमा भारतको कूटनीति पूरै असफल भएको छ ।
मधेशवादी दलहरू प्रत्यक्ष वा परोक्ष रूपले भारतसँग नजिक हुँदा उनीहरूमाथि भारतको पिछलग्गु हुनुको आरोप लाग्ने गर्छ । तर यही काम अन्य पार्टीले गर्दा उनीहरूमाथि कुनै आरोप लाग्दैन । यसको कारण के हो भने भारत पहाडी पार्टीहरू आलोचित भएको हेर्न चाहँदैन । यसै कारण भारतको मुख्य प्राथमिकतामा पहाडी समुदाय छन्, न कि मधेशी समुदाय । भारतको सेना, प्रहरी, इण्डस्ट्रीयल सेक्युरिटी फोर्स, बोर्डर सेक्युरिटी फोर्स आदिमा गरीइ करीब दुई लाख नेपाली भारतको सुरक्षा बलमा छन्, जसमा भारतको सम्पूर्ण सुरक्षा व्यवस्था टिकेको छ । राष्ट्रपतिको सुरक्षा गार्ड होस् वा विपक्षी दलका नेता लालकृष्ण आडवाणीको ड्राइभर होस् वा आर्मी चीफको गार्ड होस्— सबैमा सबै ठाउँमा पहाडी नै छन् । त्यसमा मधेशी छैनन् । भारतले ती पहाडी समुदायलाई कुनै पनि हालतमा ‘इरिटेट’ गर्न चाहन्न । केही दिएर होस्, केही लिएर होस्, डराएर वा धम्काएर होस् वा जसरी होस्; उनीहरूलाई मिलाएर राख्न चाहन्छ भारत । भारतको सत्तालाई मधेशीसँग केही लिनुदिनु छैन, त्यसैले पहाडीले जति गाली गरे पनि उसलाई केही गर्दैन, तर मधेशीले अलिकति चाइँचुइँ गर्यो कि उनीहरूलाई बदनाम गर्न अघि सर्छ भारतको सत्ता । मधेशीहरूले अहिलेसम्म आफ्नो मूल्य बढाउन सकेका छैनन् ।
नेपालमा भारतको आर्थिक, सांस्कृतिक, मानसिक, शारीरिक लगानी अवश्य छ, तर विगत २५ वर्षदेखि नेपालको मुख्य ‘डोनर’ भने भारत होइन । अर्को कुरा, भारतका एक प्रोफेसर, जो अहिले सिङ्गापुरमा छन्, उनको धारणामा नेपालमा भारतको व्यापारिक लगानी छ । यसको मतलब हो— आजको लगानीबापत भोलि नै प्रतिफल खोजिनु । ऊ अलिकति पनि प्रतीक्षा गर्न तयार छैन । यस प्रकार सम्बन्ध स्थापित गर्न खोजियो भने असफल अवश्य भइन्छ ।
भारतको
सत्तालाई मधेशीसँग केही लिनुदिनु छैन, त्यसैले पहाडीले जति गाली गरे पनि
उसलाई केही गर्दैन, तर मधेशीले अलिकति चाइँचुइँ गर्यो कि उनीहरूलाई बदनाम
गर्न अघि सर्छ भारतको सत्ता ।
तेस्रो कुरा, नेपालका दुई लाख जनतालाई भारतले पैसा दिन्छ र त्यसका लागि
काश्मिर र मणिपुरजस्ता ठाउँमा नेपालीहरू रगत बगाउन तयार छन् । भारतको नाममा
सबैभन्दा पहिला बग्ने रगत नेपालीकै हुन्छ । त्यस आधारमा हेर्ने हो भने
भारत एकदम सस्तो प्रकारको कूटनीति चाहिरहेको छ । जसरी कुकुरका अगाडि जुठो
फालिन्छ, भारत त्यस्तै प्रकारको व्यवहार गर्छ नेपालसँग ।भारतको सबैभन्दा कम लगानी हुने प्रान्त बिहार हो । तर ऊ के चाहन्छ भने बिहार सरकारभन्दा बढी मेरो सेनामा नेपालीहरू रहून्, तर थोरै चारा छरे पनि चराले गीत भने उसकै गाइरहून् । यस प्रकार निकै सस्तोमा काम गरिदिन्छ नेपालले । तर यसको प्रतिफलमा जुन प्रकारको नैतिकता, मानवता हुनुपर्ने हो, त्यो भारतको कूटनीतिमा छैन । यो भारतको नेपालसम्बन्धी कूटनीतिको असफलता हो । कूटनीति सफल छ भने युद्ध गर्नु पर्दैन । तर २०४५/४६ सालको नाकाबन्दीलाई पनि आर्थिक युद्धकै रूपमा बुझ्ने हो भने त्यो कूटनीतिक असफलता नै थियो ।
भारतीय स्वतन्त्रतासम्म नेपालको कूटनीति भारतमा सफल थियो । नेपाल एक प्रकारले स्वाधीन/स्वतन्त्र नभए पनि यसले आफ्नो स्वतन्त्र पहिचान बनाएर राखेको थियो । नेपाली कूटनीतिको असफलता भन्नुस् चाहे भारतविरोधी अन्तर्राष्ट्रिय शक्ति (अमेरिका, रूस, बेलायत वा स्वीटजरलैण्ड)को कूटनीतिक सफलता भन्नुस्— यी शक्तिहरू तुलनात्मक हिसाबले बढी सफल रहेका कारण नेपालको कूटनीति असफल भएको हो, जसको परिणाम नेपालप्रतिको भारतीय कूटनीति कहिले पनि स्पष्ट रहन सकेन । अहिलेको अवस्थामा नेपालप्रति भारतको कूटनीति नै छैन । भारतको निर्णयमा प्रतिक्रिया जनाउनुभन्दा बढी हैसियत नेपालको कूटनीतिमा छैन । भारतको कूटनीतिक असफलताका कारण नेपालका लागि भारतको कूटनीति नै छैन भन्दा पनि हुन्छ ।
कूटनीतिमा जे भनिन्छ त्यसको त्यही अर्थ हुँदैन । माधवकुमार नेपाल दुई ठाउँबाट हारेका व्यक्ति भएका कारणले उनको नैतिक आधार त्यत्तिकै कमजोर थियो र प्रधानमन्त्री भएर आफ्नो नैतिक आधार बलियो बनाउँथे भने भारतका लागि समस्या हुन्थ्यो । प्रधानमन्त्रीलाई दबाबमा राख्नका लागि उसलाई कमजोर बनाएर राख्नु जरूरी हुन्छ । त्यस बेलाका रणनीतिकारले माधवकुमार नेपाललाई भारतमुखीको धब्बा लगाइयो भने नेपालमा उनको स्वीकार्यता सधैँ कमजोर रहन्छ भन्ने कुरा राम्ररी बुझेका थिए । त्यसैले कमजोर प्रधानमन्त्री नेपालको सङ्क्रमणकालीन अवस्थामा राख्नुपर्ने रणनीतिअन्तर्गत माधवकुमार नेपाललाई राखेर झन् कमजोर बनाउन भारतले हामीले चाहेकै व्यक्ति नेपालका प्रधानमन्त्री भए भन्ने प्रोपगण्डा गर्यो ।भनिन्छ, नेपालको सेना भारतप्रति उदार छ,
नेपालप्रति होइन । यस्तो समस्याबाट निस्कनका लागि
नेपाली राजनीति बलियो हुनु आवश्यक छ ।
तीन करोड नेपालीमा लगभग एक लाख सैनिक छन् । त्यस आधारमा एक अरब जनसङ्ख्या भएको भारतमा कम्तीमा तेँत्तीस लाख सैनिक त हुनुपर्ने हो । यदि यस्तो भएको भए विश्वमा सबैभन्दा ठूलो सेना भारतकै हुन्थ्यो । नेपालको करदाताको आधारमा नेपालमा यति धेरै सेना राखिएको हो । तर आजसम्मको इतिहासमा नेपाली सेना नेपालको सीमा सुरक्षाका लागि कहिले पनि लडेको छैन । ब्रिटिस इण्डिया, जङ्गबहादुरको समयमा भएको सिपाही विद्रोहलाई दमन गर्न लखनउमा गएर लडेको थियो । पहिलो विश्वयुद्धमा अफ्रिका, युरोपमा गएर लडेको हो । दोस्रो विश्वयुद्धमा बर्मासँग, युरोपसँग र पश्चिम एसियामा गएर लडेको हो । भारत स्वतन्त्र भएपछि हैदराबाद र गोआमा पनि लडेको हो । एक पैसा पनि खर्च नगरी तालिमप्राप्त एक लाख सैनिक जे गर्न पनि तयार छ । आफ्नो देशका सेना अर्को देशको लागि लड्न तयार रहेको यस्तो उदाहरण विश्वमा अन्त कहाँ पाइन्छ ? हाम्रो पैसाबाट नेपाली सेना चल्ने गरेको छ । तर नेपाली सेना भारतको हितका लागि लडिरहेको छ । यसको बदलामा नेपाली सेना आफूमाथि कुनै प्रकारको राजनीतिक दबाब पर्यो भने त्यसको संरक्षण भारतले गरी देओस् भन्ने मात्र चाहन्छ ।
नयाँ
पुस्ताले जब देशमै आफ्नो भविष्य खोज्न थाल्छ, तब उसले यो प्रश्न अवश्य
उठाउँछ— आखिर हामी कतिञ्जेल विदेश दौडिरहने ? यी पैसाहरू कहाँ गइरहेका छन् ?
यस्ता प्रश्नको जवाफ खोज्न थाल्दा केही परिवर्तन अवश्य हुनेछ ।
त्यसैले नेपालको संस्थापन सेनालाई लाग्छ— नेपालको राजनीति बलियो भयो भने
हाम्रो भूमिका दोयम हुन सक्छ र यस्तो अवस्थामा हाम्रो बजेट कम हुन सक्छ ।
जस्तो कि, २०४८ सालको निर्वाचनपछि नेपाली काङ्ग्रेसको सरकारले सेनामा छँटनी
सुरू गरेको थियो । सेनालाई लाग्यो— सङ्ख्या कम भयो भने हाम्रो स्वतन्त्रता
पनि कम हुन सक्छ । यही सोचेर होला— सेनाले नेपालमा बलियो प्रधानमन्त्री
हुन दिन चाहेको छैन । र, पुष्पकमल दाहाल त्यस्तै बन्न चाहेका थिए र
फलस्वरूप उनले पदबाट हात धुनुपर्यो । राजाको समयमा गिरिजाप्रसाद कोइराला र
प्रधान सेनापतिबीच कुरा नमिल्दा कोइराला हट्नुपरेको थियो । त्यसैले
नेपालमा यस्तो प्रधानमन्त्री चाहिन्छ, जसले अरू जेसुकै गरे पनि सेनालाई
नचलाओस् । राजाले पनि सेनालाई छुने कोसिस गर्दा हट्नुपर्यो । यसबाट एउटा
कुरा के अगाडि आएको छ भने नेपालको सेना भारतप्रति उदार छ, नेपालप्रति होइन ।
यस्तो समस्याबाट निस्कनका लागि नेपाली राजनीति बलियो हुनु आवश्यक छ ।आफ्नो करको हिसाब लिनका लागि नेपाली जनतालाई जागरूक बनाउनुपर्छ । यदि हामीहरू सत्र–अठार अर्ब रुपैयाँ खर्च गर्छौं एक लाख फौज पाल्न भने हामीले सोच्नुपर्छ— एक लाख सेनाले हाम्रा लागि के गर्छ ? यति धेरै सङख्यामा हामीलाई सेना चाहिन्छ कि चाहिन्न ? अन्तर्राष्ट्रिय मान्यता के हो ? नेपालमा स्वतन्त्र राजनीतिको सुरुआत २०४६ सालपछि भएको हो, जसलाई धेरै अवधि मान्न सकिँदैन । नेपालमा जनताको राजनीति, नागरिक राजनीतिलाई बढावा दिनुपर्छ । दुर्भाग्यवश नागरिक नियन्त्रणको कुरा पनि त्यही पार्टीले उठाउँछ जो स्वयं सैनिक पार्टी हो । माओवादी भन्छ— शक्ति बन्दुकको नालबाट निस्कन्छ । जब यस्तो भनाइ राख्ने पार्टीका नेताले नागरिक राजनीतिको कुरा गर्छन् भने यो ठट्टाभन्दा बढी अरू केही हुन सक्दैन । नागरिक नियन्त्रणको कुरा नागरिक दलहरूले गर्नुपर्छ । तर नागरिक दलमा नागरिक नियन्त्रणको कुरा गर्ने हिम्मत नै छैन ।
अहिले गोर्खालीको फाइदा भारतले लिइरहेको छ, तर त्यसको सट्टामा केही दिनु परेको छैन ।
जब हाम्रो सेना नेपालप्रति नभएर भारतप्रति बफादार रहन्छ भने त्यस
अवस्थामा जनताले के गर्न सक्छ ? राजनीतिको सुरुआती चरणमा यस्तो समस्या आउने
गर्छ । कुनै पनि सङ्गठनले आफ्नो अस्तित्व जोगाउनका लागि यथास्थितिवादको
पुजारी हुनैपर्छ र जसलाई परिवर्तन चाहिन्छ ऊसँग सङ्गठन रहँदैन । त्यसैले यी
दुवैका बीचमा पुलको काम कसले गर्ने ? यो समस्या नेपालको मात्र होइन,
भारतमा पनि छ । महात्मा गान्धीले सन् १९४७ पछि भारतीय राष्ट्रिय
काङ्ग्रेसलाई भङ्ग गरिदिनुपर्छ भनेका थिए । किनभने यो यस्तो सङ्गठन हो, जो
यथास्थितिसँग अत्यन्तै निकट छ । कसैसँग सङ्घर्ष गरिँदा उसका बानी–बेहोरा
पनि सिक्दै गइन्छ । सबै कुरा अरूकै सिक्दै गएपछि नयाँपन कहाँबाट आओस् ?
नयाँपनले नयाँ शक्ति दिन्छ । भारतलाई त्यस अवस्थाबाट यहाँसम्म आउन साठी
वर्ष लाग्यो । यस साठी वर्षको समयमा धेरै परिवर्तन भएको छ । नेपालको नयाँ
पुस्ताले यस विषयमा नयाँ ढङ्गले सोच्नेछ भन्ने मेरो आशा छ । के नेपालमा एक
लाख सैनिक चाहिन्छ त ? अहिलेका युवा पुस्ता अमेरिका, युरोपतिर दौडिरहेका
छन् । तर सधैँ यो भाग्ने, दौड्ने चलन रहँदैन । नयाँ पुस्ताले जब देशमै
आफ्नो भविष्य खोज्न थाल्छ, तब उसले यो प्रश्न अवश्य उठाउँछ— आखिर हामी
कतिञ्जेल विदेश दौडिरहने ? यी पैसाहरू कहाँ गइरहेका छन् ? हाम्रो भविष्य
दिनानुदिन बिग्रँदै जानुको कारण के हो ? यस्ता प्रश्नको जवाफ जब युवाहरूले
खोज्न थाल्छन् अनि केही परिवर्तन अवश्य हुनेछ ।नेपाल र भारतका बीचको खुला सिमाना पनि धेरै विवादित विषय बनेको छ । तर यो खुला सिमानालाई बन्द पनि त गर्न सकिँदैन ! यसलाई बन्द गरियो भने भारतले अहिलेसम्म आर्थिक युद्ध मात्र गरेको थियो, अब त उसले भौतिक युद्ध पनि गर्न सक्छ । किनभने नेपाल–भारतको सिमाना बन्द गर्नुको अर्थ हो भारतको सुरक्षामा खटिएका दुई लाखभन्दा बढी र निजी क्षेत्र आदिमा समेत रहेकाहरूलाई मिलाएर करिब पाँच लाखभन्दा बढी नेपालीको बफादारीमा प्रश्न तेर्स्याउनु हो । कि त उनीहरूहरूलाई भारतीय नागरिक बनाएर राख्नुपर्यो ! यदि उनीहरू भारतीय नागरिक बने भने गोर्खाली नामको कुनै अर्थ रहने छैन । अहिले गोर्खालीको फाइदा भारतले लिइरहेको छ, तर त्यसको सट्टामा केही दिनु परेको छैन ।
कुनै पनि देशको आन्तरिक द्वन्द्वमा जब भित्रका खेलाडी असफल हुन्छन् अनि विदेशी खेलाडीहरूले आफ्नो खेल सुरू गर्छन् ।
त्यसैले यति ठूलो खतरा मोलेर भारतले त्यत्तिकै छाड्ने कुरा आउँदैन ।
खुला सिमानाबाट प्रत्यक्ष फाइदा भारतलाई नै छ । नेपाल र भारतबीचको
सिमानालाई खुला नराख्ने हो भने नेपालले धेरै ठूलो खतरा उठाउनुपर्छ । आफ्नो
स्वतन्त्रताका लागि सम्झौता गरेर मात्र नेपाल चलिरहेको छ ।माओवादी जनयुद्धपछि नेपाल र भारतबीच रहेको सामाजिक सम्बन्धमा एउटा खास समस्या देखिएको छ । त्यो के भने यता आएर भारतका मानिस सीमापारिका मानिससँग र यताका मानिस उताका मानिससँग आफ्ना छोरा–छोरीको विवाह गराउन त्यति चाहिरहेका छैनन् । पहिला उताका मानिस नेपालमा सडक छ, बिजुली छ, शान्ति छ भनेर आफ्ना सन्तानको विवाह गराउन चाहन्थे । तर अहिले यो भइरहेको छैन । विवाहमा मानिसले स्थायित्व खोज्छ र नेपालमा अहिले स्थायित्व छैन । यस्तो अवस्थामा जानाजान अस्थिर समाजमा आफ्ना सन्तानको विवाह कसले गराउँछ ? जबसम्म सिमाना खुला रहन्छ तबसम्म यो यस्तै रहनेछ र जुन दिन सिमाना बन्द हुन्छ त्यस दिन नेपाल नै रहँदैन । किनभने नेपाललाई धेरै स्वतन्त्र छोड्न भारत कहिले पनि तयार हुनेवाला छैन ।
जे–जति
झगडा गर्नु छ, आफैमा गर्नुस् । तर समस्या के छ भने दुई नेता एकसाथ दिल्ली
जान मान्दैनन् । दिल्लीमा एकैसाथ रहे पनि भेटघाट गर्दैनन् ।
कुनै पनि देशमा सबैभन्दा बढी महत्वपूर्ण कुरा त्यहाँको सुरक्षा हुन्छ ।
एकजना सिख सुरक्षागार्डले इन्दिरा गान्धीको हत्या गरिदिएपछि भारतमा विचित्र
प्रकारको परिवर्तन भयो । त्यो त भारतको भित्री कुरा थियो, तैपनि यस्तो भयो
। जब पञ्जाबीहरूलाई मार्ने आवश्यकता आयो अनि गोर्खालीको प्रयोग गरियो ।
अफगानिस्तानमा लडाइँ गर्नका लागि गोर्खालीको प्रयोग भएको छ ।केही दिनअघि एउटा पत्रिकामा मैले पढेको थिएँ— झारखण्डमा माओवादीको हमला भयो, प्रहरीलाई लुटियो । तर त्यहाँ नजिकै रहेको गोर्खा ब्रिगेडको क्याम्पका कारण माओवादीहरूले आक्रमणलाई अगाडि बढाउन सकेनन् । जुन आधारमा भारतको सुरक्षा बलियो रहन्छ, त्यसैलाई छाडिदिन्छ भन्ने सम्भव नै छैन ।
अर्को कुरा, भारतीय सभ्यताको मतलब हो गङ्गा सभ्यता । गङ्गामा दुई तिहाइ पानी नेपालकै नदीबाट जाने गर्छ । गङ्गाको मात्र एक तिहाइ पानी भारतको आफ्ना नदीहरूबाट आउने गर्छ । यो दुई तिहाइ पानीको अवरोधले भारतको सभ्यतामा असर पुर्याउँछ । जसरी तिब्बती नदीहरूमा चीनको आर्थिक अवस्था निर्भर रहेकोले त्यसमाथि आक्रमण गरेर चीनले तिब्बतलाई आफूमा मिसायो, यस्तो भयो भने नेपालको अवस्था पनि भिन्न रहन सक्दैन । नेपालले हल्का सम्झौता गरेर आफ्नो स्वतन्त्रता जोगाएको छ । धेरै स्वतन्त्र हुने प्रयास नगरेको हुनाले बाँचेको छ । जुन दिन सीमा बन्द गरिन्छ, त्यो दिन नेपालको स्वतन्त्रताको अन्तिम दिन हुनेछ ।
कुनै पनि देशको आन्तरिक द्वन्द्वमा जब भित्रका खेलाडी असफल हुन्छन् अनि विदेशी खेलाडीहरूले आफ्नो खेल सुरू गर्छन् । आम सहमति रहुञ्जेल केही नभए पनि, भारतीयहरूलाई हाम्रो लक्ष्मणरेखा नेपालीहरूले नाघिरहेका छन् भन्ने लाग्नासाथ उनीहरू केही न केही गर्न तयार हुनेछन् । भिडियो रिलिज गरेर बदनाम गर्नु परोस्, षड्यन्त्र गरेर आर्थिक नाकाबन्दी लगाउनु परोस्, पारिवारिक दबाब दिएर होस् वा उसको पूरा कैरियर चौपट पारेर होस् वा भौतिक रूपले ऊमाथि कुनै प्रकारको आक्रमण गरेर होस्, भारतीयहरूले जे पनि गर्न सक्छन् । किनभने यहाँ सुरक्षाको सवाल छ ।
मधेशका
लागि भारत छ भन्ने मधेशमा जुन भावना छ त्यसबाट मुक्त हुनु जरूरी छ ।
नेपालका लागि भारत होइन र मधेशीका लागि त झन् हुँदै होइन ।
नेपाल–भारत सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू एनेकपा माओवादी,
नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेशवादी दलहरूले के बुझ्नुपर्छ भने
भारतको हितमा लक्ष्मणरेखा के हो ? त्यस लक्ष्मणरेखाभित्र रहेर आम सहमति
बनाउनु जरूरी छ । त्यसैले व्यक्तिगत भेटघाटमा मैले नेताहरूलाई भन्ने गरेको
छु— जे–जति झगडा गर्नु छ, आफैमा गर्नुस् । तर समस्या के छ भने दुई नेता
एकसाथ दिल्ली जान मान्दैनन् । दिल्लीमा एकैसाथ रहे पनि भेटघाट गर्दैनन् ।
यहाँ दूतावासमा बिहान एकजना, दिउँसो अर्कोजना र साँझ तेस्रो नेता भेटघाट
गर्न पुग्छन् भने यस्तोमा पार पाउनु मुस्किल छ ।मलाई के लाग्छ भने दिल्लीको सबैभन्दा बढी नजिक माओवादी पार्टी नै हो । अहिले माओवादीमा यस्ता नेताहरू छन्, जसले भारतको धेरै नजिक रहेर काम गरेका छन् । जोसँग नजिकको सम्बन्ध रहन्छ, उसैसँग मनमुटाव पनि हुन्छ । दूरी हुनेसँग केको मनमुटाव हुनु ? मधेशवादी दल यस आरोपबाट बाहिर रहनुको कारण खुद्रामा अल्झिनु हो ।
नेताहरूको भाउको कुरा गर्ने हो भने सयमा प्रचण्डका भाउ चालीस, माधवकुमार नेपालको बीस, रामचन्द्र पौडेलको बाइस, सुशील कोइरालाको पैँतीस, शेरबहादुर देउवाको एक्काइस–बाइस, बाबुराम भट्टराईको पैँतीस, मोहन वैद्य ‘किरण’ को बीस, झलनाथ खनालको बीस, उपेन्द्र यादवको तीस र महन्थ ठाकुरको तीस हो । सबैभन्दा बढी अङ्क माओवादीकै छ ।
हिमाल पत्रिकाले एउटा सर्वेक्षण गरेको थियो, जसअनुसार सबैभन्दा बढी प्रसिद्ध प्रचण्ड ठहरिएका थिए भने दोस्रोमा बाबुराम भट्टराई आएका थिए । बाँकी सबैलाई जोड्दा पनि बाबुराम भट्टराईसम्म कोही पुग्न सकेको थिएन । र यो नेपाली जनताको ठम्याइ वा निर्णय हो ।
मधेशका लागि भारत छ भन्ने मधेशमा जुन भावना छ त्यसबाट मुक्त हुनु जरूरी छ । नेपालका लागि भारत होइन र मधेशीका लागि त झन् हुँदै होइन । भारत ठूलो देश हो । उनीहरू आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार छन् । यस कुरालाई ध्यानमा राखेर मधेशीहरूले पनि भारतको बारेमा धारणा बनाउनु उचित हुनेछ । भावनात्मक सम्बन्ध जति बलियो होस् तर कूटनीति राष्ट्रिय स्वार्थका आधारमा चल्ने गर्छ ।
सीके लालको पुस्तक ‘मिथिला मन्थन’बाट
http://esamata.com/np/2015/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7-%E0%A4%A8-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D-2/