जलेश्वरमा राहत संकलन र वितरण शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १७ गते । लामो बन्दको कारणले दैनिक काम गरेर गुजारा गर्नेहरु प्रभावित बन्दै गएपछि जलेश्वरका युवाहरुले आईतबारदेखि राहत संकलन र वितरण गर्ने काम शुरु गरेको छ ।
आईतबार युवाहरुले जलेश्वरका तिन सय जना परिवारलाई चामल, दाल, आलु र खानेनुन वितरण गरेको छ । हरेक परिवारलाई अढाई किलो आलु, आधा किलो दाल, एककिलो आलु र खानेनुन वितरण गरिएको राहत संकलन तथा राहत अभियानका संयोजक शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।
जलेश्वरका विभिन्न क्षेत्रका व्यक्तिहरुले दिएको सहयोगबाट दैनिक गुजारा चलाउन कठिनाई भएका गरिब परिवार, रिक्सा, ठेला, टाङ्गा चलाउने परिवारलाई राहत वितरण गरिएको थियो । आईतबार दुर्गाचोकमा राहत लिन महिला र पुरुषहरुको ठुलो लाईन लागेको थियो ।
राहत वितरणको लागि जिल्लाको विभिन्न गाउँ विकास समितिहरुबाट पनि राहत संकलन गरी पठाउन शुरु भएको जानकारी दिनुहुदै संयोजक चौधरीले आफुहरुले संकलन गरिएका राहतहरु गरिब परिवार, दैनिक काम गरी घर चलाउने परिवार, आन्दोलनमा शहादत दिएका तथा घाइते भएका परिवार तथा नाकामा बसेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई वितरण गर्ने जानकारी दिनुभयो ।



राहत संकलन र वितरणलाई पारदर्शी बनाउन राहत दिने र लिने दुवैको नामावली स्थानीय एफएमहरुमा प्रसारण गरिने र उनीहरुको लगत पनि राखिने जानकारी दिनुहुदै संयोजक चौधरीले लामो बन्दीले जनजीवन तहसनहस भइरहेको बेला कसैको सहयोगलाई खेर जान नदिनेपक्षमा आफुहरु रहेको बताउनुभयो ।
बन्दी अझ लम्बिन सक्ने देखिएकोले राहत संकलन र वितरण कार्यक्रम शुरु गरिएको जानकारी दिनुहुदै संयोजक चौधरीले भन्नुभयो, ‘यो कार्यक्रमलाई हामीले निरन्तरता दिदैं अन्य ठाउँमा पनि क्रमशः लग्नेछु, जसबाट कसैलाई पनि भोकै बस्नु नपरोस ।’ उहाँले सहयोग गर्नुभएका सबैलाई धन्यवाद समेत दिनुभयो ।
महोत्तरीमा ५२ दिनदेखीको बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पसल, यातायात, सामुदायिक विद्यालय, सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु पूर्णतः बन्द छ ।
लामो समयको बन्दले दैनिक काम गरेर गुजारा गर्नेहरु सबैभन्दा बढी मारमा देखिएका छन् ।