शितलहर प्रभावितलाई सेनाले बाँडे दाउरा र चिया


महोत्तरी समाचारदाता
जलेश्वर, माघ १२ गते । केही दिनदेखिको लगातार हुस्सु र कुहिरोको कारण जनजीवन प्रभावित बन्दै गएपछि मंगलबार बिहानै नेपाली सेनाले जिल्लाको सदरमुकाम जलेश्वरमा दाउरा तथा चिया वितरण गरेका छन् ।
सदरमुकामका शितलहर प्रभावितहरुलाई परिकौलीस्थित फस्ट राईफल गणका नेपाली सेनाले सदरमुकाम जलेश्वरको दुर्गाचोक, भारीटोल सहित परिकौली चोकमा दाउरा तथा चिया वितरण गरेको हो ।
विहानै विहानै कामका लागि निस्केका मजदुरहरुले दाउराबाट बालिएको आगो तापेर तथा चिया खाएर राहतको महसुस भएको जनाएका छन् ।





विगत ३ दिनदेखि जारी शितलहरका कारण सदरमुकाम र जिल्लाका ग्रामिण भेगका जनताहरु प्रभावित बन्दै गएपछि केही राहत भएपनि दाउरा तथा चिया वितरण गरिएको फस्ट राईफल गणका गणपति पवन खत्रीले जानकारी दिनुभयो ।
तिन दिनदेखि पश्चिमी हावाको कारणले हुस्सु र कुहिरो लाग्ने गरेको छ भने तापक्रम पनि घटदै गइरहेका छन् । मंगलबार बिहान तापक्रम ६ डिग्री रहेको थियो ।
शितलहरीको कारणले चिसो बढेपछि यसबाट सबभन्दा बढी प्रभावित बालबालिका तथा वृद्धवृद्धा देखिएको छ ।
यता, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले स्थानीयहरुलाई चिसोबाट बचाउन वन कार्यालय र नगरपालिकालाई दाउरा वितरणको निर्देशन दिइसकिएको वताउनुभयो । तर उहाँको निर्देशनको पालना अहिलेसम्म भएको देखिएको छैन् ।