महोत्तरी समाचारदाता
जलेश्वर, माघ १ गते । महोत्तरी जिल्लाको भटौलिया गाविस घर भएका एक बालकको अपहरणपछि हत्या भएको विरोधमा जलेश्वरका युवाहरुले सदरमुकाम जलेश्वरमा मैनवत्ती बालेर घटनाको विरोध गरेका छन् ।
जलेश्वरका युवाहरुले अनाहकमा कुनै बालबालिकाको ज्यान नजाओस् तथा यस प्रति सरोकारबालालाई जिम्मेबार बनाउन मैनबत्ती बालेको जनाएका छन् ।
नागरिक समाजका अगुवा युवा राकेशप्रसाद चौधरीले स्कुले विद्यार्थीलाई अपहरण पश्चात हत्या गरिएको घटना अमानवीय भएको बताउनुहुदै यस्तो घटना पुनः नदोहोरियोस् भन्ने हेतुले सबैलाई जिम्मेबार हुन मैनबत्ती बालिएको बताउनुभयो । उहाँले मृत्तआत्माको चिरशान्तीको कामनासहित देशको भविष्य आजका बालबालिकालाई जोगाउनु सबैको कर्तव्य भएको सन्देश दिन यस्तो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
युवाहरु बिहीबार साँझ सदरमुकाम जलेश्वरको दुर्गाचोकमा मैनबत्ती वाली एक मिनेट मौन धारण गर्दै यस्तो जघन्य कार्य रोक्न सबैलाई पहल गर्न आग्रह गरेका थिए । सो कार्यक्रममा सहभागी हुनुभएकी सदभावना पार्टीको सह महामन्त्री एवं पुर्वसंचार राज्यमन्त्री सुरिता साह बालकको हत्याप्रति दुःख व्यक्त गर्नुहुदै जघन्य अपराधमा संलग्न हुनेहरुलाई कारवाहीको माँग गर्नुभयो ।
जिल्लाको भटौलिया २ निवासी रविन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठलाई गत आईतवार अपहरण गरि हत्या गरी शवलाई गाँडेको अवस्थामा प्रहरीले मंगलबार बिहान वरामद गरेको थियो ।
जेनिसको हत्या अभियोगमा भटौलिया वडा नं. ३ वस्ने वर्ष १९ को अनिस कुमार साह, सोहि गाविस वडा नं. २ वस्ने वर्ष २१ को सुधिर कुमार साह र वडा नं. १ बस्ने बर्ष १८ को सावीर अंसारीलाई प्रहरीले नियन्त्रणमा लिई अदालतवाट ५ दिनको म्याद थपगरि अनुसन्धानमा राखेको छ ।
त्यसैगरी महोत्तरी जिल्लाको ईटहर्वाकट्टीबाट पुस १८ गतेबाट अपहरणमा परेकी दुई बालिकालाई वुधबार धनुषा जिल्लाको महेन्द्रनगर बजारबाट सकुशल उद्धार गरिएको छ । जिल्लाको इटहर्वाकट्टी–५ बस्ने राकेश ठाकुरकी १० वर्षकी छोरी शिवानी र सात वर्षकी आरती ठाकुर पुस १८ गते खेतमा गएका बेला अपहरणमा परेकी थिईन ।