महोत्तरी समाचारदाता
जलेश्वर, साउन १७ गते । महालिङ्गको रुपमा चिनिएको जलेश्वरनाथ महादेवसहित जिल्लाको विभिन्न शिवालयहरुमा साउन महिनाको दोस्रो सोमबार दर्शन गर्नेहरुको भिड बढेको देखिएको छ ।
जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रसिद्ध जलेश्वरनाथ महालिङ्गसहित जिल्लाको टुटेश्वरनाथ, मंगलनाथ, सिद्धनाथसहित विभिन्न शिवालयहरुमा सोमबार दर्शनार्थीहरुको घुँईचो बढेको हो ।


प्रत्येक साउन महिनामा धनुषाको दुधमती नदी तथा धनुषा, सिरहाको सिमानामा रहेको कमलानदिबाट समेत जल ल्याएर जलेश्वरनाथ महादेवलाई चढाउने परम्परा अनुसार नै कावाँरियाहरु तथा दर्शनार्थीहरु जल लिएर जलेश्वरनाथको दर्शन गरेका छन् ।
वर्षभरी जलमा विराजमान रहनुहुने जलेश्वरनाथको शिवलिङ्गको दर्शनको लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्वंयसेवकहरुले पानी बाहिर निकालेर दर्शनको लागि सहजता बनाइरहेका छन् ।