कि सडक बन्छ कि लाश उठछ भन्दै आन्दोलनको घोषणा Nagendra Kumar Karna

 महोत्तरी समाचारदाता
जलेश्वर, भदौ ९ गते । प्रतिवर्ष ८० करोडभन्दा बढी राजश्व उठने तथा दैनिक ४० हजार भन्दा बढी यात्रु ओहोरदोहर गर्ने विद्यापति राजमार्गलाई महोत्तरी र धनुषाका राजनीतिकदलहरुले प्रतिष्ठाको विषय बनाउँदै सडक निर्माणको लागि आन्दोलनका घोषणा गरेका छन् ।
भिठामोड मुख्य भन्सार नाका जोडने मूल सडकको रुपमा रहेको जनकपुर–भिठामोड (विद्यापति राजमार्ग) सडक दशकौंदेखि जिर्ण रहेपनि सरकारले बनाउन कुनै पहल नगरेपछि महोत्तरी र धनुषाका राजनीतिकदलहरुले यसलाई प्रतिष्ठाको विषय बनाउँदै आन्दोलनका घोषणा गरेका हुन् ।
जिल्लाको सदरमुकाममा बसेको सर्वपक्षिय र सर्वदलिय बैठकले सडक निर्माणको लागि तिन चरणको आन्दोलनको घोषणा समेत गरेको छ । मुख्य भन्सार नाका भिठामोडबाट बर्षेनी सरकारले ८० करोडभन्दा बढी राजश्व उठाउँदै आएका छन् ।
विद्यापति राजमार्ग भनेर चिनिने जनकपुर–भिट्ठामोड सडक निर्माण सम्बन्धमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदकाद्वारा आयोजित सर्वपक्षीय र सर्वदलीय अन्तरक्रिया कार्यक्रमबाट तीनचरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको सुन्दर अभियानी तथा गोरखापत्र मैथिली पृष्ठका संयोजक मनोज झा मुक्तिले जानकारी दिनुभयो ।
यसक्षेत्रमा धार्मिक मठ, मन्दिरको जिर्णोधार, निर्माण र त्यसको संरक्षणमा काम गर्दै आएका बृहत्तर जनकपुर विकास क्षेत्रले यसरी सडक विकासको क्षेत्रमा पहिलोपल्ट सार्वजनिक सर्वपक्षिय कार्यक्रम आयोजना गरेको हो ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माको संयोजकत्वमा प्रत्येक राजनीतिक दलका अध्यक्ष, सुन्दर अभियानी, विभिन्न सँघसँस्था, नागरिक समाजलगायतका प्रतिनिधीहरु रहेको संघर्ष समिति बनाइएको छ । सो समितिले तत्कालको लागि तीन चरणको कार्यक्रमको घोषणा गरेको छ ।
जसमध्ये भदौ १२ गते आइतवार महोत्तरी र धनुषा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने । भदौ १३ गतेदेखि १९ गते सम्म (सात दिन) सडक तथा सडक छेउका गाँउमा प्रचारप्रसार सहित पम्पलेटिङ, कोणसभा, माइकिङ गरी हरेक चोकमा सर्वपक्षिय संघर्ष समिति निर्माण गर्ने, भदौ २० देखि २४ गतेसम्म पाँच दिन विभिन्न चौकमा रिले धर्ना दिने र भदौ २५ र २६ गते जनकपुर–भिट्ठामोड सडकमा पूर्णरुपमा यातायात ठप्प पार्ने र भदौ २७ गते जनकपुर देखि भिट्ठामोडसम्म मानव कडी निर्माण गर्ने कार्यक्रम घोषणा गरिएको बृहत्तर जनकपुरका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यति समय भित्र पनि सरकारले निर्माण कार्य सुचारु वा भरपर्दो प्रतिवद्धता नजनाए तेस्रो चरणमा जनकपुर– भिट्ठामोडसडकको मध्यमा पर्ने पिपरामा आमरण अनसनको कार्यक्रम गर्ने तय भएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सडक निर्माणलाई आफुले प्रतिष्ठाको विषय बनाएकोले यो सडक कि त बन्छ कि मेरो लाश उठछ ।’
जलेश्वर उद्योग वाणिज्य सँघको सभाहलमा भएको कार्यक्रममा २५ राजनैतिक दलका प्रतिनिधी, सुन्दर अभियानीहरु, विभिन्न सँघसँस्थाका प्रतिनिधी, संचारकर्मी, बस व्यवसायी सँघ, बुद्धिजीबी, व्यापारी, यूवा तथा नागरीक समाज लगायतकाहरुको सहभागिता रहेको थियो ।
एक दशकदेखि निर्माणको प्रतिक्षामा जिर्ण अवस्थामा रहेको उक्त सडक बनाउन माग गर्दै एक वर्ष अघि २०७२ जेठ २४ गतेदेखि सडक वनाउ या फासि दिय ’ नाराका सुन्दर अभियान नाम दिएर यहाँका स्थानियहरुले भिठामोड–जलेश्वर –जनकपुर सडक निर्माणको माग गर्दै एक साता सम्म आन्दोलन गरेका थिए ।
त्यति वेला तात्कालिन भौतिक पुर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधिले आन्दोलन साम्य पार्न चाँडै नै सडक बन्ने मौखिक आश्वासन दिनुभएको थियो ।
सुख्खा मौसममा सडकको धुलोले श्वास प्रणालीमा नकारात्मक असर पारी सर्वसाधारणले किस्ताबन्दीमा मृत्यु पाई रहेकाले किस्ताबन्दीमा नभई मार्ने नै भए फासी दिएर मारिदेउ भन्दै अभियानकर्मीले सडकजाम गरेर आन्दोलन गरेका थिए ।
२०७२ जेठ ३० गतेका दिन सडक विभागले लिखित रुपमै चाँडै नै सडक बन्ने सहमति गरेपछि त्यति वेला आन्दोलन समाप्त भएको थियो ।
तात्कालित भौतिक पुर्वाधार तथा यातायात मन्त्रि निधिले चाँडै नै सडक निर्माण हुने भन्दै आश्वासन दिएको पनि एक वर्ष भन्दा बढी भइ सके तर उक्त सडकको अवस्था झन दयनिय बन्दै गएको स्थानीयहरुको भनाई रहेको छ । अहिले निधि देशकै उपप्रधान तथा गृहन्त्री भएका छन् । स्थानीयहरुले सडक गृहमन्त्रालाय अन्गर्तत नपरेपनि निधिले चाहने हो भने यो सडक चाँडै नै बन्ने आशा राखेका छन् ।