युवाको क्षेत्रमा सक्रिय युवा सञ्जालको नयाँ समिति गठन

महोत्तरी समाचारदाता
जलेश्वर, भदौ ७ गते । महोत्तरी जिल्लामा युवाको क्षेत्रमा काम गर्दै आएका शान्ति र विकासका लागि युवा सञ्जालको सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन गरिएको   छ ।
सञ्जालको छैठो साधारणसभाले लक्ष्मेश्वर यादव (खुट्टापिपराढी वडानं. ३) को अध्यक्षतामा सर्वसम्मतीले ९ सदस्यीय समिति गठन गरिएको हो ।
नयाँ नेतृत्व
त्यसैगरी समितिको उपाध्यक्षमा शारदा ठाकुर (बथनाहा ६), महासचिवमा रामभजन महतो (महोत्तरी ४) सचिवमा रंजना कुमारी (डाम्हीमडैं २), कोषाध्यक्षमा मो.अख्तर रेजा अंसारी (कोल्हुवावगेया ३) सर्वसहमतिले चुनिएको निर्वाचन समितिका संयोजक तथा नेपाल पत्रकार महासंघका निवर्तमान सभापति हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
नयाँ नेतृत्व
त्यसैगरी सर्वसम्मतीले चुनिएका सदस्यहरुमा दिनेश्वर यादव (डाम्हीमडै ९), जयकुमार महतो (धमौरा ७), सुनिलकुमार मण्डल (बनौटा ३) र रन्जय जयसवाल (खोपी ४) रहनुभएको छ ।
सञ्जालको नयाँ नेतृत्वको लागि गठित तिन सदस्यीय निर्वाचन समितिले नेतृत्वको लागि सम्मती बनाउन आग्रह गरेवमोजिम सर्वसम्मतीबाट चयन भएको सञ्जालका निवर्तमान अध्यक्ष सुरेश ठाकुरले जानकारी दिनुभयो । तिन सदस्यीय निर्वाचन समितिमा मण्डल सहित जनस्वास्थ्य कार्यालयका संतोषकुमार ठाकुर, अधिवक्ता विकरु यादव रहनुभएको थियो भने पर्यवेक्षकमा पत्रकार नागेन्द्रकुमार कर्ण, युवा कार्यदलका संयोजक सुशिल राउत र सञ्जालका सल्लाहकार सत्येन्द्र यादव रहनुभएको थियो ।
नवगठित सञ्जालको कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका पदाधिकारी र पर्यवेक्षक टिमले फुलमाला र अबिर सहित बधाई दिएका थिए ।
बन्दसत्र पूर्व भएको शुभकामना कार्यक्रममा प्रमुख अतिथी वृहत्तर जनकपुर विकास क्षेत्रका संयोजक रामकुमार शर्माले महोत्तरीमा युवा सञ्जालले गरिरहेको कार्यको सराहना गर्नुहुदै महोत्तरीका युवाहरुलाई अझै गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘देश विकासमा सबैभन्दा ठुलो बाधक भ्रष्टाचार हो, यसक्षेत्रमा महोत्तरीका युवाहरुले अभियान चलाउन जरुरी छ ।’
वृहत्तरका संयोजक शर्माले यसक्षेत्रकै मुटु मानिएको जनकपुर भिठामोड सडकखण्ड एकदशक भन्दा बढी समयदेखि जिर्ण रहँदै आएपनि सरकारले बनाउने कुनै छाँटकाँट नदेखाएको कारणले आफुहरु केही दिनभित्रै धनुषा र महोत्तरीको संयुक्त आन्दोलन समिति बनाएर दवाव सृजना गर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सडक बनाउन आफु अब आमरन अनसन बस्ने सम्मको कार्यक्रम ल्याउने र ज्यानको परवाह नै नगरी यो सडक बनाउन दवाव सृजना गर्ने छु ।’
सञ्जालका अध्यक्ष सुरेश ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार नागेन्द्रकुमार कर्ण, डा.द्धारिका प्रसाद साह, समग्र जनउत्थानका रामभरोसी महतो, युवा कार्यदलका संयोजक सुशिल राउत लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।