मोदी भ्रमणमा जनकपुरको अपेक्षा
डेटलाइन तराई :
chandra-kishwor
Ekantipur
नेपाल र भारतबीच जनस्तरको सम्बन्धको पारम्पारिक सूचकको रूपमा 'बेटी र बुद्ध'लाई भनेर परिभाषित गर्ने गरिन्छ। यसरी भन्दा दुवै पक्ष गर्व पनि गर्छन्। बेटी भनेको मिथिलाकी छोरी सीता हुन्। उनको माइती भनेर जनकपुर विश्वविख्यात छ। त्यसैगरी लुम्बिनीका छोरा सिद्धार्थ जो पछि गएर बुद्धका रूपमा प्रसिद्धि पाए। यी दुवै ठाउँ नेपालको राजनीतिक भूगोलभित्र पर्छन्। प्राचीन मिथिलाका केही भाग अहिलेको भारततिर परे पनि जनकपुरलाई केन्द्रविन्दु मानी परम्परादेखि गरिने मिथिला परिक्रमाको यात्रापथ आज पनि दुवै मुलुकको भूगोल भएर गुजि्रन्छ। त्यसैगरी बुद्धको जन्मभूमि लुम्बिनीसंँग बोधगया, सारनाथ र कुशीनगर अभिन्न रूपमा जोडिएका छन्। लुम्बिनी बाहेक बुद्धका जीवनसंँग जोडिएका यी बाँकी तीन स्थलहरू भ्ाारतमा छन्। सामान्य पाठकलाई पनि जानकारी भएका यी सन्दर्भहरू यहाँ पस्कनुको तात्पर्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनको क्रममा जनकपुर जाने कुरापछि देखापरेको बहस हो।
उसो त मोदी लुम्बिनी र म्ाुक्तिनाथ पनि जाने कुरो छ। जनकपुरको सन्दर्भ आउने बित्तिकै अनेकौं कोणबाट कुरा काट्न थालिएको छ। यसमा सरकारीतर्फबाट प्रस्तुत अलमलले पनि भूमिका खेलेको छ। मोदीले गत साउनमा नेपाल भ्रमणका बेला संसदमै भनेका थिए, 'अब आउँदा जनकपुर र लुम्बिनीको पनि यात्रा गर्छु।' छिमेकी राष्ट्रका प्रधानमन्त्रीले यसरी जनाउ दिइसकेपछि नेपाल सरकारले कूटनीतिक तवरबाट उनको आगामी यात्रा व्यवस्थापनबारे गृहकार्य गर्नुपथ्र्यो। एउटा मित्रले आफ्नो आस्थाको थलोमा शिर निहुर्याउँदा विभाजित र विवादित मनोविज्ञान देखाउनु हुँदैनथ्यो। त्यसैगरी भारतीय पक्षबाट पनि कूटनीतिक प्रयत्न हुनुपथ्र्यो। उनको जनस्तरको सम्बन्धलाई आत्मबोध गरेको रूपमा स्थलमार्गबाट आउने तथा स्वागतसभामा मितेरीका कुरा राख्ने पक्षहरूलाई निकै पहिलेदेखि नै विवादमुक्त ढंगले टुंग्याउनुपथ्र्यो। यो भ्रमणसँंग जोडिएर सुरक्षा, सुविधा, सद्भावना र सहयोगका कुरालाई दुवै पक्षले समन्वयात्मक ढंगबाट किनारा लगाउनुपथ्र्यो। नेपाल-भारत सम्बन्धले एउटा नयाँ अध्याय लेख्न सुरु गरेका बेला यसरी बेमौसमका रागहरू ग्ाुञ्जिँदा निश्चित रूपमा यसले मितेरी माहोललाई दूषित बनाउँछ।
पछिल्लो यात्रामा मोदीका अभिव्यक्तिहरूबाट क्षेत्रीय शक्तिका रूपमा उदाएका मधेसी दलहरूले महत्त्व पाएनन् वा दिइएन भन्ने व्याख्या विश्लेषण काठमाडौंदेखि दिल्लीसम्म भयो। यतिखेरको जनकपुर भ्रमणको योजनालाई काठमाडांैले मधेस भ्रमणका रूपमा लिएको यस क्षेत्रका वासिन्दाहरूको गुनासो छ। प्रशस्त सम्भावना भएर पनि लामो समयदेखि अलमलको भुमरीमा जनकपुर परिराखेको परिप्रेक्ष्यमा मोदीको भ्रमणले अन्तर्राष्ट्रिय चर्चा पाउने र सहयोगका सवालमा यस क्षेत्रले प्राथमिकता पाउने लोकविश्वास थियो। पछिल्ला केही घटनाक्रमबाट मधेसी समाजमा फेरि आफूलाई नियोजित रूपमा उपेक्षा, अवहेलना र आलटाल गरिएको बुझाइ छ।
जनकपुर हिन्दुहरूका लागिमात्र होइन, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि पनि महत्त्वपूर्ण थलो हो। भन्ािन्छ, द्वापर युगमा श्रीकृष्ण पनि जनकपुरमा तीनपटक आएका थिए। यहाँका कतिपय स्थल र सरोवरका नाम आज पनि उनको दिव्य चरण निक्षेपको स्मृति दिलाउँछ- रुक्मिणीसर, मुरल्ाीसर आदि। जानकी मन्दिरको स्थापत्यमा पनि मुगल कलाको समन्वय रहनुका पछाडि मुस्लिम कालिगढहरूको श्रम र सीप खर्चेको बताइन्छ। जनकपुर क्षेत्रमा मुस्लिमहरूका आस्थाका केन्द्रका रूपमा कतिपय मजारहरू छन्। यसले जनकपुर सामाजिक सम्बन्धको अनुपम थलो पनि हो। त्यसैगरी समकालीन नेपाली राजनीतिमा वंशविशेषको शासन चल्दैन भनेर त्यहाँका लागि चीरप्रतिरोध जनकपुरबाट हुँदै आएको इतिहास छ। यस अर्थमा जनकपुरमा आएर मोदीले पूजाअर्चना गर्दैमा न नेपालमा हिन्दुत्वको राजनीतिले नै मलजल पाउँछ, नत समाप्त भइसकेको राजतन्त्र नै ब्युँतिन सक्छ। ज्ञानेन्द्र शाहको हालैको भारत भ्रमण वा नेपाली कांग्रेसभित्र देखापरेको हिन्दु राज्यका अभियन्ताहरूका गतिविधिसँग जनकपुरको मोदी भ्रमणलाई जोडेर हेर्दा यसबाट शून्य नै फेला पर्छ।
सरकारका प्रतिनिधिका रूपमा मोदीको जनकपुर भ्रमणको तारतम्य मिलाउने जिम्मेवारी पाएका मन्त्री विमलेन्द्र निधिले हालै सरोकारवाला सबै पक्षको बैठक बोलाउँदा त्यहाँ पनि जानकी मन्दिरको प्राङ्गणको साटो रङ्गभूमिको फराकिलो मैदानमा अभिनन्दन सभा गर्नुपर्ने कुरा बडो व्यापकतासाथ उठ्यो। उसो त त्यहाँ पनि कार्यक्रम गरे निकै ठूलो संख्यामा मानिसहरू भेला हुनबाट बञ्चित हुन्छन् नै। कारण मोदीजस्ता अग्ला र लोकपि्रय नेतालाई सुन्न नेपाल तथा उत्तरी भारतका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा उपस्थिति हुने स्थिति छ। संँगै विवाह पञ्चमीको मेलासमेत लाग्ने भएको हुनाले लाखौंको उपस्थिति स्वतः रहन्छ। यसरी खोजेको र चाहेको सबैले रङ्गशालामा समेत अटाउन सक्ने स्थिति छैन। अहिलेको समयमा सञ्चार प्रविधिको प्रयोग गरेरै आकांक्षी सबैलाई लाभान्वित गर्ने हो। तर जेजसरी कुरा तेस्र्याएर ती कुराको सार्वजनीकीकरण गरेर बाह्रविगाह मैदानको भेलालाई रोक्ने प्रयत्न भयो, त्यसले जनकपुरलाई दुःखायो।
भारतको पुनर्जागरणका लागि प्रयत्नशील मोदीले नेपालसंँगको सम्बन्धलाई पनि त्यत्तिकै महत्त्व दिएर बहुआयामिक विकासका कार्यनीतिमा सहयोग र समन्वय गर्न चाहेका छन्। ती प्रत्येक सूत्र र पक्षहरू, ज्ाो सीताको माइती क्षेत्रका वासिन्दाहरूलाई उन्नतशील बनाउँछन्, त्यसमा भारतले प्रोत्साहन गर्नुपर्छ। सीताको जन्मकथा स्वयंमा कृषि कर्मको प्रतीक हो। अहिले जनकपुर क्षेत्रमा कृषितन्त्र समाप्तप्रायः भएर त्यस क्षेत्रका वासिन्दाहरू रोजगारीका लागि अन्यत्र जानुपर्ने स्थिति छ। मोदीको भ्रमणमा यी विषयहरूले प्राथमिकता पाउनुपर्छ। त्यसैगरी मोदीको आगमन मात्रको चर्चाले हौसिएको जनकपुर क्षेत्रले उनको स्वागतको छोटो अवधिमा मैथिली भाषा र संस्कृतिको चिनारी दिने अवसरको रूपमा छोप्नुपर्छ। अभिनन्दन पत्र मैथिलीमा भए वेश।
जनकपुरमा सबभन्दा बढी आउने भारतीय पर्यटकहरू नै हुन्। वास्तवमा उनीहरू भारत र भारतका प्रधानमन्त्रीका सांस्कृतिक प्रतिनिधि हुन्। उनीहरू दैनिक रूपमा आइरहँदा देखेको र भोगेको जनकपुरको वर्णन नै त्यहाँ फर्केर सुनाउँछन्। ऐतिहासिक सहरका वासिन्दाको जिम्मेवारी पनि महत्त्वपूर्ण हुन्छ। अर्थात् जनकपुर क्षेत्रमाथि गौरव गर्ने पक्षले जहिले पनि आफ्नो भूमिकाप्रति सजग रहनुपर्छ। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो मुलुकमा स्वच्छता अभियान चलाएका छन्। जनकपुरवासीले आफ्नोतर्फबाट सहर स्ाफा राख्ने संकल्प र प्रयत्न गर्नु नै उनीप्रतिको सच्चा अभिनन्दन ठहरिनेछ।