
नागेन्द्रकुमार कर्ण
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको जनकपुर र लुम्बिनी आगमनको खबरसंगै नेपाली राजनीति तातिएको छ । जनकपुर र लुम्बिनीमा मोदीको स्वागतार्थ तयारी थालिएको छ भने नेपाली राजनीतिमा मोदीलाई कसरी रोक्न सकिन्छ भन्ने हतकण्डाहरु अगाडी सारिदैछन् । अतिथि देवो भवः मिथिला र मधेशवादीको गौरबको पहिचान हो तर यसलाई नै नामेट गर्ने गरी नेपाली खस शासकहरु लागिपरेका छन् । राजनीतिकरण गरी मोदीलाई यतातिर आउन निषेध गरिदैछ । कहिले सुरक्षाको नाउँमा, कहिले प्रोटोकलको नाउँमा, कहिले सडक दुरावस्थाको नाउँमा त कहिले अन्यान्य नाउँमा राजनीतिकरण गरिनु यसलाई नै संकेत गरिरहेको छ ।
भारतीय प्रधानमन्त्री नेपालमा आएर पशुपतिमा दर्शन गर्न र दान दिन मिल्ने, संविधानसभा भवनमा आएर अर्ति उपदेश दिन मिल्ने तर जनकपुर आएर जानकी मन्दिरको दर्शन गर्न र यहाँका जनताहरुसंग दुःख दर्द बाँडन तथा यहाँका गरिब, निमुखा विद्यार्थीहरुलाई साइकल बाँडदा प्रोटोकल हेरिनु न्यायसंगत हुनै सक्दैन यो त खसशासकको द्धैधचरित्र बाहेक केही होइन । पशुपतिमा चन्दा आम्दानीको स्रोत तर जनकपुरमा गरिब, निमुखा विद्यार्थीलाई साइकल बाँडनु कुटनीति विरुद्ध भन्नु हास्यास्पद बाहेक केही पनि होइन । भारत लगायत विभिन्न मुलुक गएर नेपाली शासकहरुले आफ्नो जनताको लागि भाषण गर्नु कुटनीति विरुद्ध नहुने तर मोदीले जनकपुर र लुम्बिनीमा बोल्नु कुटनीति विरुद्ध हुने मनशाय बोक्नु खस शासकहरुले मोदीलाई यसक्षेत्रमा आउन नदिने मनशाय बाहेक केही पनि होइन । यो मानसिकताले न त स्वयं ति शासकलाई भलो गर्छ न त स्वयं मिथिलावासी वा मधेशवासीलाई । मधेशवासी र मिथिलाबासीहरुले गौरब गर्नुपर्छ कि त्रेतायुगिन समयमा जसरी जनकपुरमा जन्तीको स्वागत गरियो पुनः आज यसैगरी जन्तीकै रुपमा अयोध्याबासी तथा भारतका प्रधानमन्त्री स्वयं आँउदैछ । हामीले अहिलेको समयमा जसले जे गरेपनि, जसले जे भनेपनि आफ्नो अतिथि सत्कारको संस्कृतिलाई भने उपयोग गर्नुपर्छ । विवाहपञ्चमी र भारतीय प्रमको आगमन संयोग मात्रै होइन यसले मधेश र मिथिलाको लागि एउटा अवसरको रुपमा रहेको छ । हामीले खस शासकको राजनीतिय मनोबल तोडन सकेनौ भने र यो अवसरलाई उपयोग गर्न सकेनौ भने हामीमा पछुताउनु सिवाय केही रहन्न् । भारतसंग हाम्रो रोजी, रोटीको सम्बन्ध देखाउनको लागि मात्रै होइन आइपरेको खण्डमा हामीले गर्न पनि सक्छौ भन्ने देखाउने समय पनि हो । हाम्रो संस्कृति, सभ्यता तथा रहनसहन समेत मिल्ने भएकोले पनि यसमा हामीलाई अवसर आएको हो ।
त्यसैगरी भारतीय प्रम मिथिलाबासीको नागरिक अभिनन्दन स्विकारेर केही पनि नबोल्नु हुनै नसक्ने भएकोले पनि कसले के भन्छ र के गरिरहेका छन् भन्ने ध्यान दिनु भन्दा पनि हामीहरु मोदीको स्वागतको लागि के गर्न सक्छौ भन्नेमा ध्यान दिनु जरुरी छ । उनको जनकपुर र लुम्बिनीमा स्वागतले पनि खस शासकहरुलाई नाँङ्गेझार गर्न र खस शासकहरुले मधेश र मिथिलाबासीप्रति गरिरहेको विभेदको पोल खुल्ने नै छ । त्यसैले पनि हामीले यो अवसरलाई उपयोग तन, मन र धनले गर्नुपर्छ र अतिथी देवो भवःको स्वरुपलाई व्यवहारमा उतार्नेपर्छ ।
जहाँ सम्म सुरक्षाको अवस्था छ यसमा हेलचेक्राई गरिनु हुन्न भन्नेमा सबै सचेत नै छ । किनकी, विश्व रंगमञ्चमा उदाइरहेका भारतीय प्रधानमन्त्रीको सुरक्षासंग जोडिएकोले पनि यसमा गम्भीरतापूर्वक लाग्नु र सहयोग गर्नु सबैको उत्तिकै दायित्व छ । तर, के वुझनु आवश्यक छ भने पहिला भन्दा मिथिलाको वा मधेशको अवस्था शान्ति सुरक्षामा धेरै सुध्रिएको छ । पहिला जस्तो अहिले सुरक्षाको अवस्था न त खस्किएको छ न त अहिले कुनै अपराधिक समूह नै मधेशमा आतंकित गरिरहेको छ । जो छ या त वार्ताको क्रममा छ या त राजनीतिकरुपमा आफ्नो माँग सम्बोधन होस् भन्ने चाहिरहेका छन् । त्यसैले पनि सुरक्षाको अवस्था चिन्ताजनक छ भनेर हल्ला गरिनुको तुक छैन् । त्यस्तै सडक अवस्था विग्रिनुको दोष भने सरकारले लिनै पर्छ । किनकी, समयमा चेत्न नसक्नु र समय गएपछि यस्तो, उस्तोको रटान निरर्थक छ । इच्छाशक्ति भएको भए २० दिनमा पनि १९ किलोमिटर सडकलाई राम्रैसंग स्तरोन्नती गर्न सकिन्थ्यो तर त्यसो पनि देखिएन् ।
तर अब जे भएपनि भारतीय प्रधानमन्त्रीको जनकपुर र लुम्बिनी आगमन भएरै छाडने छ । समय पर्याप्त नभएको होइन तर सुरुमा निषेधको राजनीति गर्न खस शासकहरुले खोजेका थिए तर त्यसमा असफल भएपछि अब प्रोटोकलको सिद्धान्तलाई अगाडी सारिएको छ । ‘नभएको जात्रा हाँडी गाउँमा’ झै नेपाली खसशासकको मानसिकता पुरानै रहेको छ । लोकतन्त्र, गणतन्त्र लगायत अन्य शब्दहरुमा हेरफेर र परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नभएसम्म यसलाई संस्थागत गर्न सकिन्न् त्यसैले पनि अहिलेसम्म नेपालमा लोकतन्त्र र गणतन्त्र संस्थागत हुन नसक्नुको पछाडी तिनै शासकहरुको हात छ भन्दा अत्युक्ति नहोला ।
जनकपुर र लुम्बिनीसंग भारतको पुरानो सम्बन्ध रहेको छ । जनकपुर र अयोध्याको सम्बन्ध त्रेताकालिन रहेको कसैसंग लुकेको छैन् भने लुम्बिनीको सम्बन्ध पनि गया, कुशिनगर सहितकासंग रहेको छ । यसले पनि भारतीय प्रधानमन्त्रीले यसलाई महत्व दिएर आएको देखिन्छ । त्यसैगरी आउँदो वर्ष बिहार र उत्तरप्रदेशमा हुने विधानसभालाई लक्षित गरि पनि मोदीले बिहार भएर आउने तथा उत्तरप्रदेशबाट जाने ईच्छा रहेको देख्न सकिन्छ । किनकी, मोदी दक्षिण एसियामा मात्रै होइन विश्वमा नै उदाउँदो एउटा राजनेता भएको र उनी दुरदर्शी भएकोले पनि पशुपतिको जात्रा र सिध्राको व्यापार गर्न खोेजेका छन् । तर, जनकपुर र लुम्बिनी आगमनबाट बन्चित गराउन नेपाली खसशासकहरु मात्रै होइन बिहार र उत्तरप्रदेशका नेताहरु पनि लागिपरेका छन् । किनकी, ति दुवै राज्यमा बिकासको गति देखेर प्रम मोदीले गिज्याउलान भन्ने डर बिहार र उत्तरप्रदेशको सरकारलाई छ । तर, उनीहरु भन्दा पनि बढी डर नेपाली खस शासकहरु तथा ती खस शासकहरुका भरियाका रुपमा रहेका केही मधेशी नेताहरुलाई रहेको छ । हामीले राणाशासन फाल्यौ, राजतन्त्र फाल्यौ तर हामीमाथि वर्षौदेखि शासनगर्दै आएका खसशासक (यस्तो मानसिकता बोकेका)हरुलाई अहिलेसम्म हटाउन असफल रह्यो । भनिन्छ, ‘एक सुरज डुबगया पिछे, एक सुरज सामने निकला हैं’ । हामीले यो अवसरलाई उपयोग ग¥यौं भने केही न केही हामी सफल हुन्छौं नै र यसले ति शासकहरुलाई पनि मधेश एउटा शक्ति हो भन्ने वुझन कठिन हुने छैन् । त्यसैले अब हाम्रो पूर्णतः ध्यान मोदीलाई कसरी स्वागत गर्न सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ ।