काम हजुरबाले गर्ने र उपदान नाती पनातीले पाउने
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १९ गते । ‘काम गर्ने कालु, मकैं खाने भालु’ जस्तै अवस्थाबाट जलेश्वर नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरु गु्रजिरहेका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा अवकाश पाएका ६ जना कर्मचारीहरुलाई दिनुपर्ने उपदानको रकम नभएपछि उनीहरुको अवस्था यस्तो देखिएको हो ।
जलेश्वर नगरपालिकाका कार्यकारी प्रमुख सुजितकुमार कर्णले अवकाश पाएका ६ जना कर्मचारीहरुलाई दिनुपर्ने अनुदानको रकम १ करोड ५ लाख रुपैया रहेको जानकारी दिनुहुदै नगरपालिकासंग अहिले अनुदानको लागि १५ लाख मात्रै रहेको वताउनुभयो ।
जलेश्वर नगरपालिकाका खरिदार विजय गुप्ता, सुपरभाइजर रामसोगारथ चौधरी, फायर मैन सोगारथ महतो, ड्राइभर नथुनी महतो, कार्यालय सहयोगी कामेश्वर महतो, महेश्वर कापर हालै अवकाश पाएका हुन् । त्यसैगरी यो वर्ष मात्रै थप तिनजना अवकाश पाउने कार्यकारी अधिकृत कर्णले बताउनुभयो ।
अधिकृत कर्णले कल्याणकोषमा मात्रै १५ लाख बाँकी रहेको र सबै अवकाश प्राप्त कर्मचारीलाई नपुग्ने बताउनुहुदै यही अनुपातमा उपदान पाउन करिब ६० वर्ष लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अवकाश प्राप्त कर्मचारीले उपदान नपाई उनका नाती पनातीले उपदान पाउने देखिन्छ’ ।
स्थानीय स्वायत्त शासन ऐनको कर्मचारी नियमावलीको २६५ नम्बर धारामा कर्मचारी कल्याण कोष गठन गरिएको र उक्त कोषमा एक महिना बराबरको तलब जम्मा गर्नुपर्ने नियम छ ।
हालै अवकाश पाउनु भएका खरिदार विजय गुप्ताले आफुले आधा उपदान पाएको बताउनुहुदै अहिले पनि नगरपालिकासंग ९ लाख उपदान लिन बाँकी रहेको बताउनुभयो । उहाँले विदा र उपदानको आधा पाएको र अहिले पनि औषधी उपचार र उपदानको आधा रकम बाँकी रहेको जानकारी दिनुभयो ।
आफुले नगरपालिकामा २८ वर्ष काम गरेको जानकारी दिनुहुदै गुप्ताले १७ औं नगरपरिषदले उपदानको रकम छुटयाए पनि तत्कालिन अधिकृत रमेश दासले सो रकमको गाडी किनेपछि समस्या भएको दावी गर्नुभयो ।
उहाँले उपदानको रकम तुरुन्त उपलब्ध गराउनुपर्ने माँग गर्नुहुदै उपदान नदिए करारमा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘काम हजुरबाले गर्ने र उपदान नाती पनातीले पाउने अवस्था नहोस भन्ने तर्फ नपाले सोच्नुपर्छ’ ।