जलेश्वर नगरपालिकामा एकहप्ते सरसफाई अभियान शुरु

महोत्तरी समाचारदाता जलेश्वर, मङसिर ६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबारदेखि एकहप्ते सरसफाई अभियान शुरु गरिएको छ । सरसफाई अभियान अन्तर्गत शनिबार नगरपालिका जलेश्वरका सम्पूर्णपक्ष सम्मिलित भई सरसफाई सम्बन्धी जनचेतना जगाउन एक ¥यालीको आयोजना गरेको हो । सो ¥यालीमा राजनीतिकदल, वडानागरिक मञ्च, नागरिक सचेतना केन्द्र, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न क्लव तथा संघसंस्थाका प्रतिनिधिहरु, युवाहरु, नागरिकसमाजका अगुवाहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । ¥यालीमा हाम्रो घरमा शौचालय छ, यसमा हामीलाई गर्व छ, सफासुग्धर हाम्रो चाहना, पवित्र जलेश्वर नगरीको कामना, स्वच्छ जीवन राम्रो जीवन, जलेश्वर नगरीलाई सफा राखौं, सभ्य नागरिकको परिचय दिउँ, सरसफाई अभियान सफल पारौं लगायतका ब्यानरहरुको प्रयोग समेत गरिएको थियो । जलेश्वर नगरपालिकाका अधिकृत सुजितकुमार कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको आगमनको मध्यनजर तथा स्वयं नगरपालिकालाई सरसफाई राख्नको लागि यो अभियान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले यसको लागि नगरको विभिन्न चोक चोकमा फोहर फाल्ने डस्टबिन, हरेक दिन सफाईकर्मीको प्रयोग, नालालाई सरसफाईलाई अगाडी बढाइएको जानकारी दिनुहुदै जलेश्वरलाई सरसफाईयुक्त नगरपालिका बनाउन लागिपरेको बताउनुभयो । जलेश्वरनगरपालिकाले सप्ताहव्यापी सरसफाई कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम, नगरबाटोलाई सरसफाई गरिने, सरसफाईको अनुगमन निरिक्षण गर्ने, जनचेतना जगाउने तथा यस कार्यमा सहयोग गर्ने संघसंस्था तथा महानुभावहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जनाएको छ । जनचेतना अभावको कारणले गर्दा जलेश्वर नगरपालिकाका पसले तथा स्थानीयहरुले सडकमै फोहर फाल्ने, डस्टबीनको प्रयोग नगरेपछि नगरपालिका फोहर बन्दै गएपछि यस्तो कार्यक्रम नगरपालिकाले अघि सारेको हो । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदी सडकमार्गबाट जलेश्वर आउने भएपछि पनि सरसफाईको यो अभियानलाई अगाडी सारिएको जनाइएको छ ।