जलेश्वर नगरपालिका आफ्नो स्वरुप फेर्दै

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक ३० गते । अञ्चल सदरमुकामबाट जिल्ला सदरमुकाममा सिमिटन पुगेका जलेश्वर नगरपालिका अहिले आफ्नो स्वरुप फेर्दै गएका छन् । पहिला पहिला सडकमैं घर, टहरा बनाउने, सरसामग्रीहरु पनि सडकमैं बेच्ने गर्नाले जलेश्वर नगरपालिका असुन्दर र अव्यवस्थित बनेको थियो । तर नयाँ कार्यालय प्रमुख आएपछि जलेश्वर नगरपालिकालाई विकास तर्फ लगिरहेको स्थानीय युवा लक्ष्मीकुमार साहले बताउनुभयो । ‘नर्क पालिकाको रुपमा चिनिएको जलेश्वरलाई नयाँ अधिकृत आउदै सडकलाई मरम्मत गर्ने, सरसफाई गराउन पहल गरेपछि अहिले व्यवस्थित हुँदै गएको युवा साहको कथन थियो । साहले भन्नुभयो, नयाँ अधिकृत स्थानीय भएकोले पनि केही काम गरेर जाऊन भन्ने उद्देश्य बोकेको देखिएकोले जलेश्वरमा काम भएको देखिएको छ । जलेश्वर नगरपालिकाको १८ औं परिषदले पारित गरेको ‘पवित्र, सुन्दर, हरित, समृद्ध जलेश्वर’ नारालाई आफुले पछयाइरहेको नयाँ आउनु भएका अधिकृत सुजितकुमार कर्णले बताउनुभयो । उहाँले आफु काम गर्न आएको बताउनुहुदैं स्थानीयहरुले साथ दिने हो भने परिषदले पारित गरेको नारालाई आफुले केही हद सम्म सफल बनाइदिने दावी गर्नुभयो । दशैंको केही अगाडी मात्रै नगरपालिकामा हाजिरी हुनु भएका अधिकृत कर्णले आएपछि विभिन्न सडकहरु मरम्मत, कार्यालयको कामकारवाहीलाई व्यवस्थित, तिन वर्षदेखि जलेश्वर महादेव मन्दिरको बन्द रहेको दानपेटिका खोल्ने कार्य, बस स्टेण्डको शौचालय मरम्मत गरी सुचारु, पशु बधशालाको सुचारु, नालाहरुको सरसफाई काम गरेको स्थानीयहरुले बताएका छन् । त्यसैगरी जलेश्वरनगर भित्र सडक अधिग्रहण गरी घर, पसल र टहरा बनाएकाहरुको भत्काई सडकलाई ४२ मिटर चौडा बनाएर दुर्घटनालाई न्यूनीकरण गर्नुका साथै छाडा चौपायाहरुलाई समातेर काञ्चीहाउसमा राख्नु र जरिवाना तिराउने कार्यलाई अगाडी बढाएपछि अहिले छाडा बस्तुभाउहरु समेत सडकमा देखिन छाडेको छ । अधिकृत कर्णले एकहप्ते सरसफाई कार्यक्रम तथा घर टहरा हटाउने अभियान अन्तर्गत सडक फराकिलो बनाएपछि नगरबासी नै उत्साहित भएका छन् । अहिले सरसफाई अन्तर्गत नालाको सफाई शुरु भएपछि नगरबासीहरु स्वस्र्फूत रुपमा नगरपालिकालाई सघाइरहेका छन् । जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साहले अधिकृत कर्णले थोरै अवधिमा कामको शुरुवात गरेकोले आफुहरु उत्साहित भएको बताउनुहुदै यस्तो कामको निरन्तरता दिएमा नगरपालिकाले आफ्नो छवि सुधार्दै जाने बताउनुभयो । पहिला पहिला आउने अधिकृतहरुले काम कारवाहीको क्रममा पारदर्शीता नअपनाएका कारणले समस्या आउने गरेको बताउनुहुदै जलेश्वर उवासंघका अध्यक्ष साहले अधिकृत कर्णले पारदर्शिताका साथ काम गर्नुभएका कारणले जलेश्वर नगरपालिकाले आफ्नो स्वरुप फेर्दै गएको बताउनुभयो । अधिकृत कर्णले जलेश्वरलाई थप व्यवस्थित बनाउन आफुले गुरुयोजना तयार गरिरहेको जानकारी दिनुहुदैं आफ्नो गाउँ ठाउँ भएकोले थप जिम्मेवारी आफुमाथि रहेको र अरुको विश्वास पनि रहेकोले केही गरेर जान्छु भन्ने अठोटका साथ काम गरिरहेको बताउनुभयो ।