उपभोक्ता ठगिर्दै गएको गुनासो पछि बर्दिबास बाजारमा अनुगमन
महोत्तरी समाचारदाता
जलेश्वर, मंसिर १ गते । बजारमा उपभोक्ताहरु ढक, तराजु लगायतबाट ठगिदैं गएको गुनासो बढन थालेपछि महोत्तरी जिल्लाको बर्दिबासमा संयुक्त टोली बनाएर अनुगमन शुरु गरिएको छ ।
बर्दिबासमा राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीले सर्वपक्षिय सम्मिलित टोली बनाई अनुगमन शुरु गरेका हुन् । अनुगमन समितिका संयोजक दिपेन्द्र पराजुलीका साथसाथै इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ बर्दिबास, नापतौल विभाग जनकपुर सहितका संयुक्त टोलीले अनुगमनलाई निरन्तरता दिदैं अवैध ढक, तराजुहरुलाई नियन्त्रणमा लिएका हुन् ।
पराजुलीको नेतृत्व टोलीले बर्दिवासमा शनिबार र बुधबार सातामा दुई पटक लाग्ने बजारबाट १०२ थान अवैध ढक र ३ थान काठे डन्डीवला तराजु नियन्त्रणमा लिएको जनाएका छन् ।
खाद्य वस्तु तौलिदै गर्दा कम तौल भएको ढक र पासन ( घटी बढि भएको ) डन्डीको तराजु नियन्त्रणमा लिएको टोलीले जनाएको छ । नाप तौल अनुगमनको क्रममा पहिलो दिन १ किलोको १९ थान, ५०० ग्रामको १७ थान, २०० सय ग्रामको १५ थान, १०० ग्रामको ६ थान , ५० ग्रामको ७ थान ढक र २ थान काठे डन्डी गरी ६४ थान ढक र २ थान तराजु नियन्त्रणमा लिएको थियो ।
त्यस्तै अर्को बाजारको दिन पनि १ किलोको ५ थान, ५०० ग्रामको ६ थान, २०० ग्रामको १४ थान, १०० ग्रामको ७ थान, ५० ग्रामको १० थान गरी ४२ थान ढक र एक थान काठे डण्डीबाला तराजु नियन्त्रणमा लिएको जनाएका छन् ।
टोलीले बर्दिबास बाजारमा छडके अनुगमन गरेर यसरी ढक र तराजु लिन थालेपछि व्यापारीहरु ठगिन विस्तारै बन्द गर्न थालेको स्थानीय युवा विक्रम रौनियारले जानकारी दिनुभयो । युवा रौनियारले, उपभोक्ताहरुको गुनासोको आधारमा संयुक्त टोलीले अनुगमन थालेपछि बाजारमा उपभोक्ताहरु ठगिन अहिले बन्द हुँदै गएको जानकारी दिनुभयो ।
मापदण्ड विपरितका ढक र तराजुलाई निस्तेज गरी सर्वसाधारण उपभोक्ता र व्यापारीबीच मैत्रीपूर्ण वातावरण बनाउन टोली लागिपरेको टोली संयोजक पराजुलीले बताउनुभयो । उहाँले यस्ता अनुगमन जिल्लाको हरेक बाजारमा हुनुपर्ने बताउनुहुदैं उपभोक्ता र व्यापारीमैत्री बाजारलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।