भिडन्तको नाउँमा भएको घटनाको छानवीन गर्न परमादेश जारी

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक २० गते । दोहोरो भिडन्तको नाउँमा हुने हत्याको विषयमा पहिलो पटक अदालतले जाहेर दरखास्त दर्ता गरी अनुसन्धान तथा छानविन गर्न गराउनु भनि परमादेश जारी गरेको छ । पुनरावेदन अदालत जनकपुरले पहिलोपटक कात्तिक १८ गते मंगलबार सेराजुल नुरीको हत्याको मुद्दामा विपक्षीको नाउँमा यस्तो परमादेश जारी गरेको हो । पुनरावेदन अदालत जनकपुरका माननीय मुख्य न्यायधिशद्वय पुरुषोत्तम भण्डारी र मेघनाथ भट्टराईको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । महोत्तरी जिल्लाको बदियाबन्चौरी २ बस्ने मृतक सेराजुल नुरीका भाई मोहम्मद इसराफिल मंसुरीले २०७० चैत्र १० गते जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान छानविन गर्न तथा दोषी उपर ज्यान सम्बन्धी महल बमोजिम कार्यवाही गरी पाउन विपक्षीहरुको नाउँमा परमादेश जारी गरी पाउँ भनी अदालतमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय महोत्तरी, तत्कालिन प्रहरी उपरिक्षक रामप्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय र तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराइएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरले जाहेरी दरखास्त दर्ता नगरे पछि २०७० माघ २७ गते मो. इसराफिल मंसुरीले कर्तव्य ज्यान अन्र्तगत हुलाकबाट जाहेरी पठाएका थिए । उक्त जाहेरी पनि जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको थिएन । माघ २२ गते राति सोनमा ५ स्थित उखुबारी र तोरीबारीकोबीचमा उनको शव फेला परेको थियो । सोको भोलीपल्ट जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक रामप्रसाद श्रेष्ठले बिहान २ बजे गस्तीमा गएको प्रहरी टोलीमाथि ९÷१० जनाको समुहमा रहेको अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा उनको मृत्यु भएको जानकारी दिनुभएको थियो । तर, सो दिन उहाँले मृतकको सनाखत हुन नसकेको जानकारी दिनुभएको थियो । प्रहरी उपरिक्षक श्रेष्ठले घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल , केही गोली, एकथान मोबाईल,३ वटा भारतीय सीम र एकथान नेपाली सीम बरामद भएको जानकारी दिनुभएको थियो । यता मृतक सेराजुलका परिवारजनले जाहेरी दिदैं प्रहरी कार्यालयका प्रहरी उपरिक्षकको निर्देशनमा प्रहरी र अन्य सुराकीले कलुसित मनसाय पुर्वक गोली हानी हत्या गरेको भनि मुद्दा दर्ता गराएका थिए । प्रहरीले उक्त घटनालाई प्रहरीसंगको दोहोरो भिडन्तमा मृत्यु भएको भन्दै भवितव्य ज्यान अन्र्तगत अनुसंधान गरेको थियो । यसैबीच तराई जस्टिस सेन्टर काठमाण्डौंका मानवअधिकार अधिकृत रक्षाराम हरिजनले एक विज्ञप्ति जारी गर्नुहुदैं जिल्ला प्रहरी कार्यालय महोत्तरी लगायतका सम्बन्धीत निकायले अदालतको आदेश बमोजिम जाहेरी दरखास्त दर्ता गरी फौजदारी न्याय प्रणाली अन्र्तगत निष्पक्ष र विश्वसनिय तरिकाले अनुसंधान तथा छानबिन गरी अभियोगपत्र दर्ता गर्न अपिल गर्नुभएको छ ।