नगरपालिकास्तरीय शान्ति समितिद्वारा कार्यक्रम सम्पन्न

महोत्तरी, २१ असार ।
जलेश्वर नगरपालिका क्षेत्रमा सक्रिय नगरपालिकास्तरीय शान्ति स्थापनामा संचारकर्मीको भूमिका तथा समितिका सदस्यहरुको नेतृत्व क्षमता बिकास तालिम सम्पन्न गरेको छ ।
     जलेश्वरमा सम्पन्न शान्ति स्थापनामा संचारकर्मीको भूमिका बिषयक अन्तरक्रिया छलफल कार्यक्रममा जिल्लाका सक्रिय संचारकर्मीहरुको सहभागिता रह्यो । कार्यक्रममा पत्रकार नागेन्द्रकुमार कर्ण, बैधनाथ चौधरी, महेश दास, रंजन भण्डारी ,रेडियोकर्मी घनश्याम भगत, दिपिका साहसहितका पत्रकारहरुले शान्ति स्थापना, द्वन्द्व न्यूािकरणमा लेखनीको मार्फत भूमिका खेलिरहेको प्रतिक्रिया दिए । राकेश प्रसाद चौधरीले संचारकर्मीकै हैसियतमा आफू समितिका संयोजकको जिम्मेवारी पाएकोले थप जिम्मेवार भई पत्रकारिता गर्नुपरेको धारणा राखेका थिए ।
    यस्तै शान्ति समितिका सदस्य तथा सरोकारवालाहरुको नेतृत्व क्षमता बिकास भए मात्रै संस्था जीवन्त रह्नुका साथै सदस्यहरुमा नेतृत्व विकास हुने सहजकर्ता सुदिपकुमार झाले तर्क अगाडि राखेका थिए । तालिम समापन सत्रमा जलेश्वर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत एवं समितिका सदस्य सचिव माघबेन्द्र चौधरीले शान्ति स्थापनार्थ सक्रिय यस समितिको काम कारवाहीलाई जनस्तरसम्म पुर्याइने प्रतिबद्धता ब्यक्त गरे ।
शान्ति समितिका संयोजक राकेश प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलेश्वर नगरपालिका कार्यालयका लेखा अधिकृत राजेन्द्रप्रसाद चौधरी, सामाजिक शाखा प्रमुख बसन्त ठाकुर, उद्योग वाणिज्यका प्रतिनिधि शिवचन्द्र चौधरी, राजनीतिकर्मीहरु रमण चौधरी, अनिल पाठक, सरोज साह, गजेन्द्र गुप्ता, प्रगाश साह, कुलानन्द झासहितको सहभागिता थियो ।