प्रहरी र विद्यार्थीबीच अन्तरक्रिया

Nagendra kumar karna
महोत्तरी समाचारदाता
जलेश्वर, असार २७ गते । महेन्द्र आदर्श महिला उच्च माध्यमिक विद्यालय जलेश्वरका कक्षा १० मा अध्ययनरत छात्रा प्रिया शर्माले जब जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईलाई शान्तिपूर्ण आन्दोलनमा प्रहरीले किन लाठीचार्ज र कुटपिट गर्छ भनी सोध्दा उहाँ एकछिन मुसुक्क हाँस्नुभयो । उहाँले अरुको अधिकारमा हनन नपुगेसम्म आफुहरु कुनै हस्तक्षेप गर्ने नगरेको वताउनुहुदै शान्तिपूर्ण आन्दोलनको विपक्षमा प्रहरी कहिल्ये नभएको र नहुने जानकारी गराउनुभयो ।

‘प्रहरी मेरो साथी’ कार्यक्रमको उदघाटन पश्चात विभिन्न विद्यालयका भाईवहिनीहरुसंगको अन्तरक्रिया कार्यक्रममा विद्यार्थी शर्माले नै प्रहरी हाम्रो साथी भएपनि समाजमा प्रहरीलाई किन असहयोग भइरहेको र उनीहरुको नकारात्मक छबी रहेको सोध्दा प्रहरी उपरिक्षक भट्टराईले पनि त्यसलाई सहजै स्विकार गर्नुभयो । उहाँले अपराध अनुसन्धान गर्ने क्रममा कसैलाई थुन्नेलगायतका काम गर्ने गरेका कारणले पनि यस्तो धारणा रहेको बताउनुहुदै प्रहरी मेरो साथी हो भन्ने भावनाको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी अर्का विद्यार्थी चन्दन मण्डलले राख्नुभएको प्रहरीसहित अन्य कार्यालयहरुमा खुलेआम घुसखोरी भइरहेको र बिना पैसा एउटा पनि काम नहुने गरेको जिज्ञासाप्रति प्रहरी उपरिक्षक भट्टराईले पैसा लिएर सेवा दिने प्रहरीको नीति नरहेको स्पष्ट गर्नुहुदै त्यस्तो भएको खण्डमा सुचना दिन सबैसंग अनुरोध गर्नुभयो । उहाँले एकजना प्रहरीको गलत क्रियाक्लापको कारणले संगठन नै वदनाम हुने गरेको तथ्य इंकित गर्नुहुदै प्रहरी अब सबैको साथी हुन चाहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले लागुऔषध, वालविवाहका समस्यासहित प्रहरीले गर्ने काम, कारवाहीप्रति जिज्ञासा राखेका थिए । अन्तरक्रिया पश्चात करिब ५० जना भन्दा बढी विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरीले गरिरहेको कामबारे अवलोकन गराईएको थियो ।
नेपाल सरकारको आ.व.२०७२÷०७३ को नीति तथा कार्यक्रममा समावेश भए वमोजिम प्रहरी–नागरीकबीचको सम्बन्धमा एक आयाम स्वरुप ‘प्रहरी मेरो साथी’ कार्यक्रम आएको हो ।
सो कार्यक्रमको उदघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले प्रहरी तपाईहरुको साथी बन्न तयार रहेको बताउनुहुदै तपाईहरुले पनि अप्ठयारापक्षहरु सेयर गरेर प्रहरीलाई साथी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले बन्दुक बोकेकोसंग साथी कसरी बन्न सकिन्छ ? भन्ने जिज्ञासामा प्रहरी रक्षक भएको र रक्षाको निम्त्ति बन्दुक बोक्नु परेको बताउनुहुदै पहिलाजस्तो अहिले प्रहरी संगठनको नीति, कार्यक्रमहरुमा हेरफेर भइरहेको जानकारी दिनुभयो ।
उदघाटनसत्रमा स्थानीय विकास अधिकारी कृष्ण चाँपागाई, प्रहरी उपरिक्षक जनक भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष ईश्वरी पौडेल, उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साह, शिक्षक रामसागर साह, प्रहरी निरिक्षक सुर्यबहादुर बोगटीलगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।