lekh nagendra संविधानको धज्जिया उडाइदै 12-16-2067



नागेन्द्रकुमार कर्ण÷ महोत्तरी

निर्लज्ज नेतृत्वको निरस रसनाको रण्डीको नाच हेर
जनअधिकारको डँडाल्नोको भाँच हेर ।

स्वच्छन्दतावादी तथा प्रगतीवादी काब्यधाराका महाकवि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो पागल कविता मार्फत समाजको मुहार फेर्न र सही नेतृत्वको दावी गर्ने नेताहरुमा भनाई र गराईमा मेल नरहेको तथ्य प्रति इंकित गर्दे झटारो हान्दै माथिको उद्धरण लेख्नुभएको हो । देवकोटाले नेताहरु निर्लज्ज भएर अनेकौं विकृति सिर्जना गरिरहेको उल्लेख गर्दे राजनीतिमा विकृति जन्माउने भनेकै नेताहरु हुन भन्ने तथ्य समेत अगाडी सार्नुभएको छ । उहाँले कवितामा नेताहरुको चालचलन र रण्डीको नाच एउटै भएको देखाउन चाहनुभएको छ ।
महाकवि देवकोटाको तत्कालिन परिवेश र अहिलेको परिवेशमा अवश्यै नै कतिपय कुराहरु फरक छन् । तर पनि नेताहरुको बोलाई, गराई, भनाईमा अहिले सम्म कुनै भिन्नता देखिएको छैन । राणा शासन अन्त भयो, प्रजातन्त्र पूर्नस्थापना गरियोे, राजा शासन सकियो, लोकतन्त्रको सिमाना सम्म हामी आइसक्यौ, पुरानो संविधान जलाइयो, नयाँ संविधान आउने संघारमा छ, कति नेताहरु विते, कति नयाँ आए तर पनि नेताहरुमा कुनै वदलाव आइ सकेको देखिदैंन् । अहिले पनि उनीहरु महाकविकै शव्दमा रण्डीको नाचमा लिप्त छन् । २०६३ को जनआन्दोलन पछि नेताहरु सुध्रिएलान र देशले विकासको गतिमा विश्वसंग हातेमालो गर्ला भन्ने सोचका साथ जनताहरुले जनआन्दोलनलाई उत्कर्षमा पु¥याउदै अन्ततः विजयी पताका लहराउन पुगे, जनताहरुले नयाँ संविधानको लागि जनयुद्ध लडेका पार्टीलाई पुनः जंगल नफर्किऊन र देशमा शान्तिले वास गरुन भन्ने अभिप्रायका साथ ठुलो पार्टी बनाए, नयाँ संविधान बनोस र हरेक पक्षको हक, अधिकार समावेश होस भनी संविधानसभाको चुनाव सम्पन्न गरियो तर जनताहरुलाई अहिले सम्म हात लाग्यो शुन्य भए झै भएको छ । अहिले सम्म आफुलाई राजनेता भनाउने, ठुलो पार्टीका सर्वेसर्वा नेता हुँ भन्नेहरु जनतालाई विकास, शान्ति, संविधान लगायतका कुराहरुमा चित्त वुझाउन असफल भएका छन् । संविधान निर्माणको समय दुई महिना भन्दा पनि कम रहेको अवस्थामा पनि दलहरुबिच सहमति हुन सक्ने अवस्था वाँ छाँटकाँट केही पनि देखिन्न् । एउटा नेता पूर्वपट्टी फर्केर कुरा गरेको छ भने अर्को पश्चिमपट्टी फर्केर, यस्तोमा के सहमति हुन्छ त ? यस्तोमा संविधान निर्माणको लागि तथा महत्वपूर्ण मानिएको विषयहरुको टुङो लाग्ला त ? के सहमती नगरेर संविधान बनाउला वा बनला त ? भन्ने प्रश्नहरु अहिले आमजनसमुदायमा उठन थालेको छ । यदि यि प्रश्नहरुको समयमैं नेताहरुले उचित उत्तर र छिनोफानो नगर्ने हो भने चैतसंगै जंगलमा देखिने डढेलो झै पुनः आन्दोलनको डढेलो नलाग्ला भन्ने ग्यारेन्टी पनि छैन् र अबको आन्दोलनको रापले अवश्ये नै राजनीतिकदलहरुलाई न डढाँउलान भन्ने अवस्था पनि छैन् । तसर्थ समयमै नेताहरुले सचेत हुने अवस्था आइसकेको छ । दुई दिन अगाडी मात्रै राष्ट्रपति डा.रामवरण यादवले सहमति नै नगरी दुई तिहाई पु¥याएर जारी गरेको संविधान कुनै दलले च्यातिदिए के हुने ? तथा जेठ १४ पछिको अवस्था के हुने हो ? भनेर चित्त बुझाउन नेताहरुलाई गर्नुभएको आव्हानले पनि नेताहरु आफ्नै तालमा नाचिरहेको छनक दिएको छ । अहिले पनि दलहरु सरकार बनाउने र सहमति नै नाउँमा उल्झिरहेको देखिएको छ । यसले गर्दा देशमा अशान्ति, हिंसा, विकास निर्माणमा ह्रास, अराजकता, दण्डहिनता लगायतका समस्याहरु बढेको बढ्यै छ । समयमै दलहरुले वुद्धि नपु¥याउने हो भने जनताहरुले पुनः जनआन्दोलन गरी उनीहरुलाई डाँडा न कटाउलान् भन्ने विश्वास गर्न कठिन भएको छ ।
अहिले देशभरि फलामे ढोकाको रुपमा रहेको एसएलसीको परिक्षामा सबै व्यस्त छ । कतिपय संविधानसभाका सदस्यहरु समेत यस परिक्षामा सम्मिलित रहेको देखिएको छ । कतिपय संविधानसभाका सदस्यहरु आफ्नो पदीय मर्यादालाई विर्सदै, आफ्नो गरिमालाई कुल्चँदै संविधानको धज्जिया उडाउन समेत पछि परेनन् । सर्लाही जिल्लाबाट एमालेका समानुपातिक तर्फका सभासद किरण यादवको नाउँमा उनकै छोरीले परिक्षा दिइरहेको भेटिएको थियो । उनलाई कानुनतः सजाय भेट्नुपर्नेमा उनलाई त्यसै छाडियो । उनकै पार्टी सरकारमा रहेको कारण उनलाई कारवाही नै नगरी त्यसै छाड्नु भनेको कानुनको थप धज्जिया उडाइए पनि सरकार र उनको पार्टीको अहिले सम्म कुनै प्रतिक्रिया नआउनु थप रहस्य बन्दै गएको छ । संविधान निर्माण गर्न गएका उनीहरु नै संविधानको धज्जिया उडाउन व्यस्त रहेको बेलामा उनीहरुले निर्माण गरेका संविधान चोखो हुने विश्वास के आधारमा गर्न सकिन्छ ? भन्ने जवाफ पनि दिनुपर्ने जिम्मा संविधानसभाका सदस्यहरुको काँधमा आएको छ ।