महोत्तरीमा भिषण आगलागि , ५० घर जलेर नष्ट ,एक करोडको क्षति

महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ३० गते । महोत्तरीको हतिसर्वा स्थित दलित वस्तीमा सोमबार भिषण आगलागी भएको छ । आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् भने एकदर्जन चौपाया्को मृत्यु भएको छ । त्यस्तै आगलागीमा परि एक बालिका घाइते हुन पुगेका छन् । हतिसर्वा गाउँ विकास समिति वडानं. ९ को दलित बस्तीमा सो आगलागी भएको हो । आगलागीका कारण अहिले पुरै दलित वस्ती वेघर बनेका छन् । उनीहरुलाई अहिले स्थानीय विद्यालयमा राखिएको छ ।
हतिसर्वा ९ बस्ने मदिकरण महराको घरबाट सल्केको आगोले पुरै दलित वस्ती आगोको चपेटमा परेका थिए । मदिकरणको घरमा खाना बनाइरहेको बेला चुलोबाट आगो सल्केको थियो । आगलागीमा परि स्थानीय विजु महराको ३ वर्षिय छोरी पुजा महरा सख्त घाइते भएकी हुन् । हात खुटा जलेकी महराको उपचार स्थानीय स्वास्थ चौकीमा भइरहेको छ ।
आगलागीबाट ३ लाख रुपैया नगद, एक दर्जन चौपाया, फर्निचर, अन्नपात, लुगाफाटा गरी करिब एक करोड मुल्य बराबरको क्षति भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल जलेश्वरका सशस्त्र प्रहरी उपरिक्षक जनक बहादुर बोहराले वताउनुभयो । उहाँले आगलागीलाई ५ घण्टा पछि नियन्त्रणमा लिइएको जानकारी समेत दिनुभयो ।
आगलागीबाट हथिर्सवा ९ वस्ने महीकरण महरा, छठु महरा, रामप्रकाश महरा, रामअयोध्या महरा, श्रीप्रसाद महरा, रामअवतार महरा, असु महरा, महेन्द्र महरा ठुलो, दुखरा महरा, उपेन्द्र महरा, राहदेव महरा, सुकदेव महरा, विश्वम्भर महरा, राजन महरा, रामदेव महरा, सरोज महरा, विजु महरा, जय कुमार महरा, घवीद महरा, राज विशेर महरा, ताराचन महरा, हरीनारायण महरा, मालती देवी महरा, अशोक महरा, वासुदेव महरा, शिव महरा, महेन्द्रमहरा सानो, घुरन महरा, रामविलास महरा, अनुरोध महराको गरी ५० वटा घर जलेको छ ।
सदरमुकाम जलेश्वरबाट ४० किलोमिटर टाढारहेको सो गाउँमा ३ सय भन्दा बढी आगलागीबाट प्रभावित भएका हुन् । आगलागीबाट सबभन्दा बढी बालबालिका, बुढापाकाहरु बढी प्रभावित भएको स्थानीयबासीहरुले वताएका छन् ।
सदरमुकामबाट टाढा भएको र जलेश्वरस्थित एक मात्र वारुणयन्त्र मर्मत सम्भारको विना थन्केका कारण समयमै आगलागी माथि नियन्त्रण गर्न ग्राहो भएको वताइएको छ ।
१२ बजेबाट शुरु भएको आगलागी साँझ ५ बजे नियन्त्रणमा आएको थियो । जनकपुर नगरपालिकाबाट गएको बारुणयन्त्र, सिमा सशस्त्र प्रहरीबल जलेश्वर, जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको सुरक्षाकर्मीहरुको टोली र स्थानीयबासिन्दाहरुले आगलागी नियन्त्रणमा लिएका थिए ।
अग्नि पिडितहरुलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मीले उद्धार गरी स्थानीय विद्यालयमा राखेका छन् ।
नेपाल रेडक्रस सोसाइटी महोत्तरीले अग्नि पिडितहरुको सहयाताका लागि तत्काल एक एकवटा त्रिपाल, भाँडाकुडा, बाल्टिन वितरण गर्ने भएको रेडक्रसका सभापति दिपक मिश्रले वताउनुभयो ।