महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २७ गते । महोत्तरीको पडौल गाविसमा रहेको प्रसिद्ध कारिकस्थान मन्दिरको संचालक समितिको हेलचेक्राइर्् र गाउँ विकास समितिको उदासिनताको कारण मन्दिर दिनप्रतिदिन फोहरमा परिणत हुँदै गएको छ ।
चिताएको कामना पुरा हुने देवीको रुपमा प्रसिद्ध रहेको कारिक स्थान मन्दिरमा मन्दिर संचालक समितिले सरसफाई नगरे पछि मन्दिरमा फोहर बढदै गएको छ । सो मन्दिरमा हप्ताको सोमबार र शुक्रबार सयौंको संख्यामा बली प्रदान हुँदै आएको छ । चिताएको मनोकामना पुरा भएपछि नेपाल लगायत भारतका दर्शनार्थीहरुको हप्ताको दुई दिन घुँइचो मन्दिरमा देखिने गरेको छ । मन्दिर संचालक समितिले एउटा बलीको २० रुपैंया लिने गरेको छ भने मन्दिरमा भेटी पनि चढने गरेको छ । तर त्यस अनुपातमा मन्दिरको प्राङ्गणमा सरसफाई नगरिएको वताइन्छ । जलेश्वर नगरपालिका–१० सारी बस्ने विभा ठाकुरले एक सहकर्मीको पुजामा प्रसाद खान पडौल पुगेका बेला त्यहाँको दुदर्शा देखेर भक्कानिनु भएको थियो । उहाँले पहिला जस्तो अहिले सरसफाई नभएको वताउनुहुँदै महोत्तरी मात्र नभई नेपालकै गरिमा बोकेको यो मन्दिरलाई सरसफाई प्रति चासो दिए यसको प्रचारप्रसार बढने वताउनुभयो ।
जति फोहर लागे पनि यहाँ झिंगा नदेखिनु आश्चर्यको रुपमा लिइएको छ । यहाँ एउटा पनि झिंगा नदेखिनुले यो ठाउँ शक्तिप्रधान भएको ठम्याई भक्तजनहरुको रहेको छ । त्यहाँ चढाइएको बलि मन्दिरकै तोकिएको किल्ला भित्र खानुपर्ने प्रावधान रहेको छ । त्यहाँ साताको सोमबार र शुक्रबार बलि प्रदान गरिदै आएको छ । सो दिन त्यहाँ ठुलो भिड हुने गरेको छ । मन्दिरको अगाडी पट्टी रहेको पोखरीमा पुजाको लागि स्नान गरिदै आए पनि अहिले वलिको लागि चढाइएको खसी (बोका) को रौं लगायत अन्य सामग्रीहरु तथा भाँडावर्तनहरु समेत त्यसै पोखरीमा धुने गरिएको छ । त्यत्ति मात्रै नभई खाएको पातहरु तथा अन्य जुठो सामग्रीहरु त्यसै पोखरीमा फालिए पनि त्यो पोखरीलाई सफाई नगर्दा त्यहाँ अहिले फोहरहरु बढदै गएको हो ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल जलेश्वरका प्रहरी उपरिक्षक जनक बहादुर बोहराले यति फोहर भए पनि झिंगा नलाग्नु आफैंमा आश्चर्यको कुरा भएको वताउनुहुदै यो ठाउँ शक्ति प्रधान भएको स्विकार्नुभयो । उहाँले आफै गएर त्यस्तो प्रत्यक्ष देखेको वताउनु हुँदै भन्नुभयोर्, गाउँले तथा मन्दिर व्यवस्थापनले यसलाई सफा तथा प्रचारप्रसार गरे अझ यसको महत्व बढने छ ।
सदरमुकाम जलेश्वरबाट करिब १० किमी उत्तरमा पर्ने सो मन्दिरमा भेटि र वलीको शुल्क वाप्तको कति रकम आउँछ सार्वजनिक गरिने नगरिएको स्थानीयबासीहरुले जानकारी दिए । वार्षिक सरदर चौध हजार भन्दा बढी बोकाको बलि चढने सो मन्दिरबाट बोका बलीबाट ६ लाख संकलन हुने गरेको छ भने वार्षिक पचास क्विन्टल भन्दा बढी चामल समेत भेटीबाट संकलन हुने गरेको छ । स्थानीय एक व्यक्तिले धेरै वर्ष देखि यस्तो भेटीको हिसाव भने नदिइएको वताएको छ । पटक पटक स्थानीयबासीले प्रशासनलाई सो हिसाव किताव सार्वजनिक गराई दिन माँग गरेपनि अहिले सम्म त्यसको सुनवाई भने नभएको वताइन्छ ।
नेपाल र भारतका हजारौं भक्तजनहरु पुजाको लागि आउने गरेपनि सरसफाई नहुने गरेका कारण यसतर्फ सम्बिन्धीत निकायले ध्यान पुरयाए पर्यटक वर्षलाई समेत टेवा पुग्ने वताइन्छ ।