महोत्तरी समाचारदाता
जलेश्वर, चैत ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष कमल थापाले तोकिएकै समयमै संविधान बन्न नसक्ने दावी गर्नुहुदै दलहरु असंवैधानिक तवरले संविधानसभाको म्याद बढाउन लागिपरेको वताउनुभएको छ ।
महोत्तरीको जलेश्वरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै अध्यक्ष थापाले कुनै पनि हालतमा संविधानसभाको म्याद थप्नु दिनुहुदैन् वताउनुभयो । उहाँले संविधानसभाको म्याद थपिने कार्य नेपाली जनताको लागि स्विकार्य नहुने वताउनुहुदै यसले यथास्थितिवाद निम्त्याउने खतरा रहेको वताउनुभयो ।
संविधानसभा सदस्यहरु प्रति इंकित गर्नुहुदै थापाले विश्वास गर्नेहरुबाट नै इमान्दारीपूर्वक काम नभएको कारण नेपाली जनताहरु अहिले पनि हिंसाको मारमा फस्नुपरेको वताउनुहुदै अब नेपाली जनतालाई जगाउन राप्रपा नेपाल देश दौडाहामा निस्केको वताउनुभयो । उहाँले ताजा जनादेशको लागि नयाँ चुनावमा जानुको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो ।
राष्ट्रिय अखण्डता र नेपाली पहिचान गम्भिर संकटमा फसेको कारण देशलाई बचाउन र नेपाली जनतालाई जोगाउन राप्रपा चैत १५ गतेदेखि महिना भरि देशव्यापीरुपमा प्रचारप्रसार, आमसभा, जनजागरण अभियान तथा घरदैलो कार्यक्रम गरिरहेको वताउनुभयो । उहाँले जेठ १ गतेदेखि राजधानी केन्द्रित संघर्षका कार्यक्रम समेत गर्ने जानकारी गराउदै सबैलाई सो कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्नुभयो ।
उहाँले ‘दिगो शान्ति, प्रजातन्त्रको सुदृढिकरण, नयाँ संविधान निर्माण र दिगो आर्थिक विकास’ को लागि राप्रपा देशव्यापी अभियानमा निस्केको वताउनुहुदै देश अहिले मोर्चा र धु्रविकरणमा फसेकै कारण यस्तो अवस्था आएको जिकिर गर्नुभयो । उहाँले मोर्चा र ध्रुविकरण शान्ति, संविधान र विकासको लागि नभई पार्टीको स्वार्थ, सत्ताको लागि भएको वताउनुहुदै यसप्रति सचेत रहन सबैसंग आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा राप्रपाका केन्द्रीय सहमहामन्त्री सुशिल श्रेष्ठले संविधान निर्माण र शान्ति स्थापना अहिले मुख्य मुद्दा भएपनि प्रमुख तिनदल सतामा लागेको कारण संविधान निर्माण नभएको वताउनुभएको थियो ।
राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रमोदकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा शेषनारायण झा, दुर्गा प्रसाद उपाध्याय, पुर्वमेयर रामशंकर साह लगायतका वक्ताहरुले आ—आफ्नो मन्तव्य राख्नुभएको थियो ।