आन्दोलन अबको आवश्यकता
नागेन्द्रकुमार कर्ण÷महोत्तरी
माघ २४ गते २०६९ मा नागरिकको पूर्वेलीमा निस्केको
‘किस्तीको डुबोया साहिल ने, तुफानो से शिकवा कौन करें,
यह हालात हैं महराजाओंका नादानों से शिकवा कौन करें ।’
देशको वर्तमान अवस्था अहिले यस्तै अवस्थाबाट गइरहेको देखिएको छ । ‘जसको लठ्ठी उसको भैसी’ भन्ने कहावत अहिलेको परिवेशमा चरितार्थ भएको छ । शासन सत्ता आफ्नो हातमा भएपछि जे पनि गर्न सकिने अधिनायकवाद हावी हुदै गएको छ । अरुलाई अधिनायकवादको पगरी गुथाउन अभ्यस्त भइसकेका एकिकृत नेकपा माओवादी र उसको नेतृत्वको सरकार आफै अहिले अधिनायकवादमा फसेको देखिएको छ । नगर्नुपर्ने काम भइरहेको छ । पढक्करका पदवी पाउनुभएका वर्तमान प्रधानमन्त्री पनि अहिले ‘पढन त सबैले जानिसके तर के पढनुपर्छ थोरैलाई थाहा छ’ भन्ने भनाई आफ्नैमा लागु गरिरहेका छन् । अहिले वर्तमान सरकारका प्रधानमन्त्रीको रवैया देखेर प्रधानमन्त्री कुनै पार्टीको हुन्छ कि देशको भन्ने प्रश्न ? टडकारो रुपमा सर्वसाधारणबाट सुनिन थालिएको छ । होइन भने प्रधानमन्त्रीको कार्यक्रम वहिष्कार गछौं ? प्रधानमन्त्रीलाई जिल्लामा पस्न दिदैंनौ भन्ने अभिव्यक्ति दैलेखबासीले गरिरहँदा किन प्रधानमन्त्रीले शक्ति प्रर्दशन गरि दैलेख गए ? गएपछि पनि शान्ति सुरक्षा गर्न नसकेको आरोपमा त्यहाँका सुरक्षाप्रमुखलाई किन सरुवा गरे ? आदिइत्यादि प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएर सर्वसाधारणको जिज्ञासा मेटाउनै पर्छ । हो, लोकतन्त्रमा कसैलाई जिल्ला प्रवेश गर्न नदिनु, कार्यक्रम गर्न अवरोध सिर्जना गर्नु, बाटोमा रुखहरु ढालेर अवरुद्ध गर्नु नितान्त गलत हो । शान्तिपूर्ण तरिकाबाट सबैले लोकतन्त्रमा आफ्नो गुनासो, विरोध गर्न पाउछ र पाउनुपनि पर्छ यो सबैको अधिकार पनि हो तर आफ्नो अधिकार माँग्दा अरुको अधिकारको पनि उत्तिकै ख्याल राख्नु लोकतन्त्रको मेरुदण्ड हो । त्यसमा पनि विपक्षीहरुले ध्यान नपुरयाएको यर्थात रहेपनि त्यसमा थप जिद्दी गरेर जान्छु नै भन्ने प्रधानमन्त्रीको हठ पनि नितान्त समायानुकुल कुरा होइन । दैलेखमा प्रधानमन्त्रीको विरोध हुनु, जिल्ला प्रवेशमा रोक लगाउनु प्रधानमन्त्री स्वंयले गरेको कामबाट भएकोले यस्तो स्थितीमा के प्रधानमन्त्री नगएको भए एमाओवादीको कार्यक्रम फिक्का हुन्थ्यो ? के प्रधानमन्त्रीले पार्टीको उपाध्यक्षको हैसियतमा गएको हो वा उहाँ गएकोमा त्यो कार्यक्रम सफल भयो ? यी प्रश्नहरुको वहस आफ्नो ठाउँमा छ तर डा.बाबुराम भट्टराई कुनै पार्टीको उपाध्यक्ष मात्रै होइन देशको एउटा सम्मानीय प्रधानमन्त्री पनि हो भन्ने ख्याल भने नगरेको स्थिती देखिएकै हो । त्यसै कारणले पनि सर्वसाधारण जनताहरु, वुद्धिजीवी, पत्रकार र विपक्षीहरु खनिएको देखिएको छ । प्रधानमन्त्री डा.भट्टराइले दैलेखमा मारिएका पत्रकार डेकेन्द्र राज थापाका हत्यारालाई कारवाही नगर्न निर्देशन दिनुको कारण नै प्रधानमन्त्रीलाई अहिले हरतरहबाट दुर दुर र छी छी भइरहेको छ । सोही कारणले पनि उनले बचेखुचेको छवी गुमाउनु परेको छ । डा.भट्टराइ प्रधानमन्त्री भएपछि देशको अवस्था सुध्रेलान् भनेर आर्शिवचन दिने जनताहरु नै अहिले प्रधानमन्त्रीलाई कुर्सी छोडन् दवाव दिइरहेका छन् । नेपाली जनताको ठुलो आड, भरोसा पाएका भट्टराइले प्रधानमन्त्री बने लगत्तै मुस्ताङ्ग गाडी चढेर जनताको थप विश्वास जित्न सफल भए । तर त्यसपछि एक पछि अर्को गर्दे नराम्रो कामको सुचि बनाउन थालेका भट्टराइले पुनः शान्ति प्रक्रिया जस्तो जटिल कामलाई हल गरेर आफ्नो खस्कन लागेको छवि बचाए । जनताले राजनेताको छवि देखेको भट्टराइले आफ्नै कारणले त्यो छवि गुमाउनु परेको हो । कानुन अनुसार गएको भए नेपालमा उनको स्थान इतिहासमा नै राम्रोको रुपमा गनिने थियो । जसरी अर्थमन्त्री भएका बेला उनले गरेका थुप्रै कामहरुको प्रशंसा भएको थियो । तर आफ्नो र पार्टीको मात्रै इशारामा चलेका कारणले उनले सबै प्रशंसालाई एकछिनको विश्वास जित्न गरेको नौटंकी मात्र भएको बुझिएको छ । उनको कुर्सी मोहले पनि त्यसै बयान गरेको हो । यदि त्यसो होइन भने भट्टराइले कुर्सी छाडेर माँर्ग प्रशस्त गर्नुपर्दछ ।
जनयुद्धकालमा मिडिया र मिडियाकर्मीहरुकै कारण ज्यान जोगाउन सफल रहेका डा. भट्टराइले यो कुरा कसरी विर्सेर पत्रकार हत्यारालाई कारवाही नगर्न निर्देशन दिए त्यो बुझन सकिएन । उपकार गर्नेलाई उपकार गरेरै भएपनि ऋण तिर्न सकिने हिन्दु मान्यतालाई पनि आत्मसात नगरी कारवाही नगर्न दिएको निर्देशनले नै उनको जगहँसाइ भएको हो । डा.भट्टराइको सोही जगँहसाइले अहिले देश आन्दोलनमय बनेको छ । प्रतिपक्षी होऊन अथवा पत्रकारीता क्षेत्र सबै अहिले आन्दोलनमा उत्रेका छन् भने सत्तापक्ष पनि आफ्नै तालमा पार्टीको महाधिवेशन भन्दै आन्दोलनमा उत्रेको गप्प हाँकिरहेका छन् । तर, जेसुकै भएपनि अहिलेको अवस्थामा आन्दोलनको विकल्प नभएको सत्य जगजाहेर नै छ । तर विडम्बना अहिलेको यो आन्दोलनलाई कसैले पनि शुरुवात गरेको देखिदैन् । प्रतिपक्षीको आन्दोलन त सत्तामुखी मात्र छ । अहिलेको आन्दोलन त संविधान निर्माणको लागि हुनुपर्नेमा सत्ता सुखभोगको लागि भएको कारणले पनि जनता अहिलेसम्म सडकमा आएको देखिदैंन् । तसर्थ अहिलेको माँग नै आन्दोलन भएकोले आन्दोलनलाई अगाडी बढाउन जरुरी छ भने समय छँदै डा. भट्टराइले आफ्नोलागि भएपनि सोच्नैपर्ने आवश्यकता रहेको छ ।