शहर यस्तो होस् जहाँ रातभरि घुम्न सकियोस् PARTIK DAILY

शहर यस्तो होस् जहाँ रातभरि घुम्न सकियोस्

- चन्द्रकिशोर  
 हामी वीरगंजमा कति ढिलोसम्म घुम्न सक्छौं ? त्यो घुम्ने ठाउँ कुन कुन हुनसक्छ ? घुम्दाखेरि घुम्ने वातावरण छ कि छैन ? परिवारहरूका साथ घुम्न सकिन्छ कि सकिंदैन ? यी सबै प्रश्नहरूको जवाफ नकारात्मक आउँछ । यसरी जवाफ आउनुले कसैलाई आश्चर्यमा पार्दैन । वीरगंज सम्साँझै कोठाभित्र थुनिन पुग्छ । पारि रक्सौलबाट आउनेहरूका लागि राति दश बजेपछि भन्सारनिरको ढोका बन्द गरिन्छ, गाडीहरू आउन पाउँदैनन् । बजार पनि प्राय: नौ बजेपछि सुनसान देखिन थाल्छ । रिक्सा पाइँदैन । एक अर्थमा भन्ने हो भने वीरगंजको तन्नेरी र प्रौढता दुइटै केवल साँझ हो । यहाँ रात्रिजीवन छैन ।
    बेलुका पनि मनोरञ्जनका थोरै अवसरहरू छन् । अचेल आर्दशनगर बैंक रोडमा बेलुका सडकपेटिमा तात्तातो पाउभाजी, मम, चाउमिन, पकौडा वा क्रिम बेच्ने ठेलागाडी पसलहरूका वरिपरि मानिसहरू झुम्मिएका हुन्छन् । परिवारसहित पनि पुगेका हुन्छन् । शौकियाहरू त गाडी रोकेर पनि सडक खानाको मज्जा लिइराखेका हुन्छन् । अर्को ठाउँ हो, घडिअर्वा पोखरी परिसर, त्यहाँ पनि एउटा वर्गलाई लोभ्याएको हुन्छ । तेस्रो ठाउँ हो, स्थानीय होटल र रेस्टुराहरू, जहाँ मानिस परिवारसहित भोजनका लागि पुग्ने गर्छन् । माईस्थान, गीता मन्दिर वा अन्य धार्मिकस्थलहरू पनि केही प्रौढहरूका लागि केहीबेर अल्झिने ठाउँ हो । नत्रभने प्राय: सबैका लागि बेलुकाको अवसर भनेको तरकारी किन्न जानु हो । तरकारी किन्ने ठाउँ किनमेलका अलावा भेटघाटको पनि स·म हो ।
    यीबाहेक वीरगंजमा ठाउँहरू छैनन् । दिनभरि थाकेकाहरू यसो बेलुका अलिकति खुलापनको आनन्द बटुलौं भन्ने सोच राख्ने हो भने वीरगंजमा त्यस्ताका लागि स्वागत छैन । वीरगंज एक शताब्दी पुरानो शहर भइसक्यो । यसको आर्थिक गतिविधि पनि बर्सेनि बढ्दैछ । यहाँको जनसङ्ख्या पनि बाक्लिदै गएको छ । यहाँ दिनभरि व्यस्त रहनेहरूको ठूलो जमात छ । तर उनीहरू आफू वा परिवारसँग रमाउने खुला ठाउँहरू यहाँ छैन । वीरगंजमा मनोरञ्जनका विकल्पहरू सीमित छन् । सिनेमा हेर्ने, होटलमा खाने, किनमेल गर्ने, एक/दुई ठाउँको चक्कर लगाउने, बस सकियो । आठ बजेपछि नै मानिसहरू प्राय: घरतिर मोडिन थाल्छन् । रिक्साहरू सहजरूपमा पाइँदैन, पाए पनि महँगो भाडा लिन्छन् । यो कुरा त्यस्तो वर्गको लागि गरिंदैछ, जो उपमहानगरपालिकामा बस्छन् तर  आफ्नो सवारीसाधन छैन ।
    यहाँका होटलहरू पनि पारम्परिक छन् । थोरै होटलहरूले आफूलाई परिमार्जन गर्दै आएका छन् । भोजनका पारखीहरूका लागि वर्षौंसम्म यहाँ स्वादको नयाँपनको प्रतिक्षा भइरहन्छ । प्राय: होटलहरूमा वर्षौंदेखि उही “मेनु” छ । स्वादमा कुनै नवीनता छैन । रेस्टुराको बनोट पनि उही छ । वीरगंजमा भन्ने हो भने यहाँको बेलुकीको खवाइ भनेको “डिंक्स र स्नेक्स” नै बुझ्ने चलन छ । ग्राहकहरू परिवारसहित आउन सक्छन्, फरक–फरक खानाका स्वाद लिन खोज्छन् भन्नेतिर सोच प्राय: छैन । होटल व्यवसायीहरूको बुझाइमा यहाँ त्यस्ता ग्राहक नै छैनन् । तर, पछिल्ला वर्षहरूमा परिवारसहित होटलमा गएर खाना खाने चलन बढेको छ । मानिसहरू होटलमा गएर खाना खान रमाउँछन् । केही होटलहरूले यस्ता ग्राहकहरूका लागि फेमिली केबिन पनि बनाएका छन् । त्यस्ताहरूले प्रशस्त मौकाहरू पनि पाइराखेका छन् । तपाईं अर्डर गर्नुस् प्राय: होटलमा उही नान, राइस, पनिरका परिकारहरू र मिक्स तरकारी पाइन्छ । ननभेजका उस्तै उस्तै प्रकारका परिकारहरू धेरै होटलहरूमा भेटिन्छन् । मौसमी तरकारीहरू जोड दिएर खोजेपछि यदाकदा मात्र पाइन्छ । अर्थात् वीरगंजका होटलहरूमा स्वादका सीमित परिकारहरू छन् ।
    केही होटलहरूले बेलाबेलामा प्रयोग नगरेका होइनन्, तर तिनका प्रयोगले प्रचार पाउन सकेन वा ग्राहकलाई बाँध्न सकेन । यहाँका बहुसङ्ख्यक ग्राहकहरू खानाका पारखी छैनन् । उही मम, समोसा, चाट, सेकुवा वा नेपाली खाना खोज्छन् । ग्राहकहरूका मागले पनि होटलहरूलाई विकल्पहरूको व्यवस्था गर्न प्रेरित गर्छ  । वीरगंजमा मसाला डोसा वा इडली खानुपर्‍यो भने वा बिरयानी खानुपर्‍यो भने मज्जाको जायकेदार बनाउने होटलको नाम फुर्न एकछिन सोच्नै पर्छ ।
    वीरगंज बहुपहिचानको शहर हो । यहाँको औद्योगिक–व्यावसायिक अवसरले अनेकौंलाई अवसर दिएको छ । स्वभावत: फरक–फरक स्वादको खोजी हुनुपर्ने हो । तर यहाँ बजारमा उपलब्ध परिकारले सबैलाई “मेल्ट” गर्दै गएको छ । उही उही परिकार, उस्तै उस्तै स्वाद प्राय: भेटिन्छन् । मिठाइ कै कुरा लिऊन, वीरगंजको मिठाइको विशेषता के ? बगेडी एकताका खुब चर्चामा थियो, अहिले ख्वै ? वीरगंजले खाना अर्थात् स्वाद परिष्कृत गर्न र त्यसको बजार खोजीमा किन ध्यान पुर्‍याउन सकेन ? स्वादले बहुआयामिक बजारको स्वरूप लिएर आउँछ । आफ्ना ग्राहकहरूमा नयाँ नयाँ स्वादको भोक जगाउँदै त्यसलाई स्थायीरूपमा अनुवाद गर्न सकिन्छ । स्वादले शहरको पहिचान पनि दिन्छ । स्वाद भनेको परिकारहरू हुन् । भैरहवाको पेडा नामी छ, नेपालगंजको राबडी नामी छ । सप्तरीको राजमार्गछेउको बस्ती बरमझियाले पेडामा मुलुकभरि नै नाम कमाएको छ । पेडाबाटै सैंकडौं मान्छेको त्यहाँ रोजीरोटी चलिराखेको छ । जनकपुरको लस्सीको चर्चा काठमाडौंसम्म छ । वीरगंजमा यस्ता के परिकार छन्, जसले यो शहरको विशेष मौलिक पहिचान दिन सकोस् ?
    यहाँनिर दुइटा कुरा छ, पहिलो त बढ्दो जनसङ्ख्या र क्रयशक्तिसँगै स्वादमा विविधता हुनुपर्‍यो, जसले विस्तारै बजारको रूप लिन सकोस् । दोस्रो, कुनै विशेष परिकारका लागि वीरगंजको पहिचान बन्न सकोस् । बाहिरका मानिसहरू वीरगंज आउँदाखेरी खास परिकारका लागि लोभिंदै आऊन् । यहाँका बासिन्दाहरूले पनि आफ्ना पाहुनाहरूलाई “ल यो खान जाऔं” भनेर लोभ्याउन सकून् । यस्ता विषयहरूका बारेमा यहाँ विमर्श हुन जरुरी छ । वीरगंज, नेपालमा भोजपुरीको राजधानी हो । भोजपुरीका विशेष परिकारहरू यहाँ सहजरूपमा उपलब्ध हुन सक्नुपर्छ । दुधपुवा, आनन्दीको भुजा, लिट्टी, विशेष प्रकारको सत्तूलाई पारखीहरू खोजी खोजी आउँछन् । ६ नं. वडाको गेटनजिक रहेको चुगीलालको सत्तूपसलले यस्तै नाम कमाएको छ । काठमाडौंबाट आएका नाट्य कलाकारहरूले सत्तूको स्वाद चाख्ने मौका पाउँदा वीरगंज बसुन्जेल पटक–पटक पिउन मनपराएका थिए र त्यो कुरा वीरगंजका पत्रकारहरूमाझ खुबै चर्चाको विषय पनि भएको थियो ।
    सवाल केवल स्वादको होइन । रातमा घुमफिर गर्न सक्ने, किनमेल गर्न सक्ने र मनोरञ्जनका स्वस्थ विकल्पहरू रोज्न सक्ने अवसरहरूको हो । वीरगंजमा रात्रिजीवन साँघुरिंदै गएको छ । शहर समृद्ध हुँदै गएपछि रात्रिजीवन थपिंदै जान्छ । राति पनि शहरका कुनै क्षेत्र विशेष जागेका हुन्छन् । त्यस्तो यहाँ छैन । अस्पताल र सञ्चारगृहको छेउछाउ थोरबहुत चहलपहल हुन्छ, बाँकी शहर मस्त सुतेको हुन्छ । कुनै जमाना थियो, वीरगंज चिनी कारखानामा उखु क्रसिङ सिजनको बेला वीरगंजको एउटा इलाका रातभरि जागेको हुन्थ्यो । काममा जाने कर्मचारीहरू, उखु बोकेका वाहनहरूको लस्करले वीरगंजलाई जगाइराखेको हुन्थ्यो । अब त्यो पनि रहेन ।
    शहरलाई स्वस्थ रहन खुलापन चाहिन्छ । मनोरञ्जनका विकल्पहरू चाहिन्छ । कोठामा थुनिएर वा टेलिभिजनसँग टाँसिएर मात्र प्रियकर हुँदैन । मानिसहरू अलि फरकपन खोज्छन् । कतै सा·ीतिक वातावरण होस्, कतै सडक परिकार होस् । मानिसहरू रमाउन सकूँ, चहार्न सकूँ भन्ने चाहन्छन् । वीरगंजमा सा·ीतिक आनन्दका लागि नियमित स·ठित संयन्त्रले काम गर्न सक्छन्, उसले अवसरहरू पाउन सक्छन् । जहाँ मानिसहरूको ठूलो हिस्सा बस्छ, त्यहाँको रुचिलाई विस्तारै परिष्कृत गर्दै लगियो भने एउटा वातावरण बन्छ, एउटा बजार बन्छ । समयले वीरगंजले विस्तारै यस्तै अवसरहरूका ढोका खोलून् भन्ने चिताएको छ । शहर यस्तो होस्, जहाँ रातभरि मानिसहरू स्वतन्त्रतापूर्वक घुम्न सकून्, स्वच्छ हावा खाना सकून् र तन्दरुस्त बन्न सकून् ।