Monday, August 11, 2025

छुट्टाछुट्टै घटनामा दुईको ज्यान गयो

निकिता कर्ण 
महोत्तरी, साउन २६ गते । महोत्तरी जिल्लामा सोमबार छुट्टाछुट्टै घटनामा परि दुई जनाको ज्यान गएको छ । एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एकजनाको बाढीले बगाएर मृत्यु भएको हो । जिल्लाको सोनमा गाउँपालिकाको खेश्राहामा सोमबार करेन्ट लागेर सोनमा गाउँपालिका वडानं. ४ खेश्राहा बस्ने वर्ष ६५ को मोकदम रायको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानले सोमबार खेतमा पानी हाल्न विद्युतीय तार मोटरमा लगाइरहेको बेला एक्कासी करेन्ट प्रवाह भएर रायको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । खेतमा पानी हाल्न मोटर जोडिरहेको बेला एक्कासी विद्युतीय तारमा करेन्ट प्रवाह भएको र सो को कारण उनको घटनास्थलमै मृत्युभएको स्थानीयबासीहरुलाई उदृत गर्दै उहाँले जानकारी दिनुभयो । शवलाई आवश्यक अनुसन्धान तथा पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको जानकारी दिनुभयो । असार र साउन महिनामा मात्रै महोत्तरीमा करेन्ट लागेर दुईको मृत्यु भइसकेको छ । असार २२ गते औरही नगरपालिका वडानं. ७ भोइल टिमकीयामा गाउँको कृषि सडकमा कल्भर्ट निर्माण गर्दै गर्दा मजदुर रामगोपालपुर नगरपालिका वडानं. ५ बस्ने ३२ वर्षिय छटु मुखियाको मृत्यु भएको थियो । काम गरिरहेको ठाउँमा एक्कासी विजुलीको तार चुडिएँर खस्दा मजदुर मुखियालाई करेन्ट लागेको थियो । त्यसैगरी गत हप्ता मात्रै सम्सी गाउँपालिका ५ पोखरभिण्डा बस्ने वर्ष १६ का अमित यादवलाई समेत करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै खेतमा रहेको विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । यसैबीच, महोत्तरी जिल्लाको बलवा नगरपालिका वडानं. ३ वदियास्थित रातु नदिमा आईतबार आएको बाढीमा परि एक जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा महोत्तरी गाउँपालिका वडानं. ३ डाम्ही निवासी ३५ वर्षिय चन्दन ठाकुर रहेको स्थानीयबासीहरुले जानकारी दिएको छ । बाढी आएको बेला झोलुँगे पुल तर्ने क्रममा एक्कासी उनी नदिमा खस्न पुगेका थिए । साइकल चढी टे«क्टरको डिजल ल्याउन पडौल गएको र डिजल लिएर डाम्ही स्थित घर फर्किदै गरेको बेला उनलाई रातु नदिले बगाएको स्थानीय युवा राजकुमार साहले जानकारी दिनुभयो । उत्तरवर्ती क्षेत्रमा परेको पानीको कारणले रातु नदिमा बाढी आएको हो । स्थानीयबासीहरुले पानीको वहाव धेरै रहेकोले अहिले पुल पारि नजान भनेपनि उनी पिठ्युमा साइकल बोकेर पुल पार गर्न खोजेपछि एक्कासी लडेर बाढीमा बगेको जानकारी दिनुहुदै स्थानीय युवा साहले भन्नुभयो,‘पुलबाट साइकलसहित खसेका युवा ठाकुरलाई उद्दार गर्ने प्रयास तत्कालै गरिएपनि पानीको तेज वहावको कारणले उनलाई वचाउन सकिएन ।’ साइकलसहित नदिमा लडेका उनलाई तत्कालै स्थानीयबासीहरुले उद्धारको प्रयास गरेपनि उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिनुहुदै शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र सोमबार पोष्टमार्टम गरि शव परिवारजनलाई जिम्मा लगाइ सकिएको वताउनुभयो । रातु नदिमा आएको बाढीको कारण जिल्लाको बलवा, महोत्तरी गाउँ पालिकाको कृषियोग्य खेतहरु डुवानमा परेका छन् । खेतहरु डुवानमा पर्न थालेपछि महोत्तरी गाउँपालिका स्थित सिडियो बाँध खुल्ला गरिएको थियो । 
https://gorkhapatraonline.com/news/167384

No comments:

Post a Comment