Tuesday, August 26, 2025

चौरचन र तीज पर्वको अवसरमा पालिकाहरुले दिए विदा

निकिता कर्ण महोत्तरी, भदौ ९ गते । मिथिलाञ्चलको प्रसिद्ध पर्व चौरचन पर्व तथा हरितालिका तिजको अवसरमा महोत्तरीका विभिन्न स्थानीय तहहरुले मङ्गलवार स्थानीय विदा दिएका छन् । भदौ १० गते मङ्गलवार मिथिलाञ्चलमा धुमधामका साथ चौरचन तथा हरितालिका तिज मनाइने भएकोले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये धेरैले स्थानीय विदा दिएको हो ।

जिल्लाको मटिहानी, जलेश्वर, रामगोपालपुर नगरपालिकासहित महोत्तरी, पिपरा लगायतका गाउँपालिकाहरुले चौरचन र तिज मनाउन एक दिनको लागि सार्वजनिक विदा दिएको हो । पालिकाहरुले जारी गरेको सूचनामा यस दिन घर–घरमा पूजा–अर्चना गरी पर्व मनाइने भएकाले पालिकामा अत्यावश्यक बाहेक एक दिनको लागि सम्पूर्ण कार्यालयहरू बन्द रहने उल्लेख छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले चौरचन र हरितालिका तिजको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना दिनुहुदै चौरचन पर्व हाम्रो मौलिक परम्परासँग जोडिएको आस्था, परिवार र सामाजिक एकताको प्रतीक रहेको वताउनुभयो । मिथिलाञ्चलमा चौरचन पर्वको पूजामा सहभागी परिवारका एक सदस्य (खासगरी महिला) दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई विधिवत् पुजा गरि चौरचन पर्व मनाउने गर्दछन् । भदौ शुक्ल चौथीका दिन मनाइने यो पर्वमा गाईको गोबरले लिपेर बनाइएको अरिपनमा फलफुल, मिठाई, खिर, पुरी, मिष्टान्नहरु राखेर साँझ चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने परम्परा रहेको छ । पुजा समापनपश्चात सोही अरिपनमा घरका पुरुष सदस्यहरु एकसाथ बसेर प्रसाद खानुपर्ने चलन रहेको छ । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पुजा गर्न थालिएको धार्मिक जनविश्वास रहेको छ । यो पर्वमा ब्रतालु महिला दिनभरी निराहार रहेर पुरी, खीर, तथा विभिन्न प्रकारका पकवानहरु बनाउने गर्छन् । यस पर्वमा कुम्हारले बनाएको माटोको भाडामा राखिएको दहीको विशेष अनिवार्यता रहेको छ । यो पर्वमा खाली हात चन्द्रमालाई हेर्न निषेध रहेकोले फलफुल हातमा राखेर चन्द्रमालाई हेर्नु शुभ मानिन्छ । चौरचनमा चढाईने प्रसादलाई पशुपक्षीले छोएमा वा जुठो गरिदिएमा अशुभ मानिन्छ । पूजा सामग्री बच्चा वा पशुपञ्छीले जुठो गरिदिएमा चर्मरोग हुने विश्वासले यो पर्वमा सामग्रीको रेखदेखमा विशेष सावधानी अपनाइने गरिन्छ । स्थानीय जनविश्वास अनुसार यस दिन चन्द्रमालाई दुध, दही, फलफुल चढाई व्रत बस्दा परिवारमा सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त हुन्छ ।

No comments:

Post a Comment